शुक्रबारदेखि सिनेमा हलमा नेपाली फिल्म 'सानो संसार' पनि थपिएको छ।
मध्यमवर्गीय परिवारको कथामा बनेको फिल्म आजदेखि पुनः प्रदर्शनमा आएको हो।
यो फिल्म यसअघि गत असोज ११ गते रिलिज भएको थियो। त्यसबेला लगातारको झरीले प्रदर्शन प्रभावित बनेपछि निर्माताले ३ दिनमै हलबाट उतारेका थिए।
अर्जुन कुमार निर्माता रहेको फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्।
फिल्ममा सीतादेवी तिमल्सिना, अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा, जीवन गौतम, सरिता भण्डारी, शिशिर शिवाकोटी लगायत कलाकारहरूको अभिनय छ। माधव वाग्ले फिल्मका कार्यकारी निर्माता हुन्।
यसअघि फिल्म हेरेका दर्शकले यसको कथा, प्रस्तुति, कलाकारहरूको अभिनयको प्रशंसा गरेका थिए। बुधबार गरिएको प्रिमियरमा पनि फिल्मले सबैबाट राम्रो प्रतिक्रिया पाएको थियो।
यो फिल्मको रनटाइम २ घण्टा २३ मिनेट छ।
फूलपातीमा रिलिज तीन फिल्म 'छक्का पञ्जा ५', '१२ गाउँ' र 'ज्वाइँ साब' भने हिजोदेखि तेस्रो सातामा प्रदर्शनरत छन्।