थुप्रै सुपरहिट र यादगार नेपाली फिल्म दिएका निर्देशक तुलसी घिमिरे यतिबेला नयाँ फिल्मको तयारीमा छन्।
'दर्पण छायाँ २' पछि अन्य फिल्म निर्देशन नगरेका उनले सात वर्षपछि कमब्याक गर्न लागेका हुन्।
उनले बनाउन लागेको फिल्म 'पहाड' को यतिबेला गीतको काम भइरहेको छ।
'रञ्जित गजमेरको संगीतमा गीतको काम भइरहेको छ। आज विपिन कार्कीले पनि गाउँदै हुनुहुन्छ,' घिमिरेले भने, 'तिहारलगत्तै छायांकन सुरू गर्ने योजना छ।'
यो फिल्मको शीर्ष भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भइसकेका छन्। विपिनसहित वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, सुनील थापा लगायत कलाकारहरूको शीर्ष अभिनय रहनेछ। अन्य कलाकार छनौटको चरणमा रहेको घिमिरेले बताए।
अहिलेको समसामयिक विषयमा रहेर आफूले फिल्म बनाउन लागेको उनको भनाइ छ।
'कतिपय गाउँमा त अहिले महिलाहरूले लास उठाइरहनुपरेको अवस्था छ। बढ्दो बसाइँसराइले दिनदिनै रित्तिँदै गएको पहाडी भूगोलको कथामा फिल्म बनाउन लागेको हुँ,' घिमिरेले भने।
'पहाड' उनको २३ औं फिल्म हुनेछ। 'कुसुमे रुमाल, लाहुरे, चिनो, दक्षिणा, देवता, बलिदान, दर्पण छायाँ' जस्ता सफल फिल्म दिएका घिमिरे निर्देशित पछिल्लो फिल्म 'दर्पण छाया २' २०७३ सालमा रिलिज भएको थियो।