कर्णाली भेगको जारी प्रथाको कथावस्तुमा बनेको फिल्म 'बुलाकी' लाई पुनः प्रदर्शनमा ल्याइने भएको छ।
निर्माण टिमले सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मलाई साउन ३२ गते रि–रिलिज गर्न लागिएको जानकारी दिएको हो।
लक्ष्मण सुनारको निर्देशन रहेको फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्टको मुख्य भूमिका छ।
यो फिल्म यसअघि गत वर्षको वैशाखमा अन्य दुई फिल्म 'जारी' र 'बिहे पास' सँग एकसाथ प्रदर्शनमा आएको थियो। त्यसबेला प्रर्याप्त शो नपाएको भन्दै रिलिजको दोस्रो दिनमै फिल्मको प्रदर्शन स्थगित गरिएको थियो।
यो बिचमा देश–विदेशका विभिन्न फिल्म महोत्सवमा सहभागी फिल्मलाई लिएर दर्शकले देखाएको चासोलाई मध्येनजर गर्दै पुनः प्रदर्शनमा ल्याउन लागिएको अभिनेता एवं निर्माता समेत रहेका विराज विष्टले बताए। 'अघिल्लो पटकभन्दा परिस्कृत गर्दै, त्यसबेला देखिएका कमी–कमजोरीलाई थप सुधार गरेर फिल्मलाई प्रदर्शनमा ल्याउन लागेका हौं,' विष्टले भने।
राजबहादुर सानेको कथा एवं पटकथा रहेको यो फिल्मको निर्माता टोपेन्द्र विष्ट हुन्।
फिल्ममा सुरक्षा, नरेन र विराजका साथमा सरस्वती खत्री, प्रकाश कंडेल, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदिप अधिकारी, झलनाथ खत्री, उपसना नेम्वाङ, सोनु सेढाई लगायत कलाकारको अभिनय छ।
छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले छायांकन, अर्जुन जिसी र लक्ष्मण सुनारले सम्पादन गरेका हुन्।
फिल्मलाई काठमाडौंमा रिच इन्टरटेन्मेन्ट प्राली र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ।
![bulaki-poster-1719829827.jpg](https://www.setopati.com/uploads/posts/bulaki-poster-1719829827.jpg)