फिल्म 'अभिमन्युः च्याप्टर १' को प्रदर्शन पुनः सरेको छ।
असोज १३ गते अर्थात् दसैंको फूलपातीमा रिलिज हुने भनिएको फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो।
उक्त दिन फिल्म नेपाली र हिन्दी दुवै भाषामा देशभर तथा विश्वव्यापी प्रदर्शनमा ल्याइने विज्ञप्तिमा जनाइएको छ।
'अभिमन्युः च्याप्टर १' यसअघि भदौ २७ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो। जेनजी आन्दोलनका कारण उक्त प्रदर्शन मिति स्थगित गरेर असोज १३ लाई नयाँ मिति तोकिएको थियो। 'असोज १३ गतेकै दिन अन्य धेरै फिल्महरू प्रदर्शनमा आउने भएकाले पर्याप्त शो उपलब्ध गराउन सिनेमाघरहरूलाई कठिन हुने साथै यसले अन्य नेपाली फिल्महरूलाई समेत असर पार्ने अवस्था देखियो', फिल्म पछाडि सार्नुको कारणबारे विज्ञप्तिमा भनिएको छ, 'यी सबै पक्षलाई विचार गरी हामीले शुभ साइत असोज २४ गतेलाई फिल्मको अन्तिम प्रदर्शन मिति तय गरेका छौं।'
सेभेन सिज सिनेमाको प्रस्तुति रहेको 'अभिमन्युः च्याप्टर १' मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरूङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। सुशान्त गौतमको निर्देशन रहेको फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
