वरिष्ठ अभिनेता हरिवंश आचार्यको शीर्ष अभिनय रहेको प्रतिक्षितमध्येको फिल्म 'हरिबहादुरको जुत्ता' को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको यो फिल्मले समसामयिक राजनीतिक विषयवस्तुलाई पनि समेटेको छ। फिल्म आगामी दसैंको फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ।
ट्रेलरमा हरिवंश आचार्य 'हरिबहादुर' को भूमिकामा देखिएका छन्। नेपाली टेलिभिजनमा सर्वाधिक सफल मानिएको यो पात्रको जीवनमा आउने उतारचढावका साथै युवापुस्ताले खोजेको राजनीतिक परिवर्तन र त्यसबाट उत्पन्न हुने परिस्थितिलाई पनि ट्रेलरमा प्रस्तुत गरिएको छ।
फिल्ममा प्रकाश सपुत, स्वस्तिमा खड्का र प्रियंका कार्कीलगायतका कलाकारको पनि शीर्ष भूमिका रहेको छ । स्वस्तिमा खड्काले नेतृको भूमिका निर्वाह गर्दा प्रियंका कार्की प्रहरीको भूमिकामा देखिएकी छन्।
दीपेन्द्र के. खनाल निर्देशित यस फिल्ममा हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने र कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय रहेको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्म सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्।
फिल्ममा कृष्णबहादुर थापाको छायांकन र नहकुल खड्काको सम्पादन छ। त्यस्तै, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको यस फिल्मका गीतहरूमा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समीर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।
फिल्म असोज १३ गतेदेखि प्रदर्शन तयारीमा छ।