आगामी शुक्रबारदेखि सिनेमा हलमा लाग्ने फिल्म 'परस्त्री' की अभिनेत्री शिल्पा मास्केको चर्चा अहिले चुलिएको छ।
यो फिल्मको प्रस्ताव आउँदा भने उनी डराएकी थिइन्। करिब एक हप्ता सोचेर मात्र खेल्न राजी भएकी हुन्। यसमा उनले गर्दै आएभन्दा फरक पात्र निर्वाह गरेकी छन्। उनको चरित्र सकारात्मक र नकारात्मक दुवै छ।
'फिल्ममा बोल्ड सिन छ। यसको चर्चा हुन्छ भनेर मलाई पहिल्यै थाहा थियो। तर म आफ्नो काम र अभिनयमा केन्द्रित भएँ,' शिल्पाले भनिन्, 'मलाई कलाकारकै रूपमा हेरिदिनुहुन्छ होला भनेर खेल्ने निर्णय गरेँ। यस्तो फिल्म नेपालमा कमै बन्छ। यस्तो पात्रको भूमिका निर्वाह गर्न पनि गाह्रो छ। मलाई यही गर्नुपर्छ भन्ने लाग्यो।'
निर्माण टिमसँग विभिन्न चरणको कुराकानी गरेपछि उनले यो पात्रको भूमिका निर्वाह गर्ने निधो गरेकी हुन्। त्यो बेला जति डर उनको मनमा थियो, अहिले नभएको उनले बताइन्।
'पोस्टर र ट्रेलर सार्वजनिक भएपछि मैले राम्रो प्रतिक्रिया पाएँ। केहीले नराम्रो पनि भन्नुभएको छ। यसलाई मैले सामान्य रूपमा लिएकी छु,' उनले भनिन्।
सुरज पाण्डेले निर्देशन गरेको फिल्म 'परस्त्री' असार १५ गतेदेखि प्रदर्शन हुँदैछ। 'आमा, चिसो मान्छे' जस्ता फिल्म निर्माण गरेका शर्मिला पाण्डे र दिपेन्द्र के खनालसँग काम गर्न पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्।
उनले भनिन्, 'यो पारिवारिक फिल्म होइन। नेपालमा चलिरहेभन्दा फरक छ, साइकोलोजिकल थ्रिलर फिल्म हो। सबैलाई मन नपर्न सक्छ तर धेरैलाई मनपर्छ भन्ने विश्वास छ। परस्त्री मेरो जीवनको टर्निङ प्वाइन्ट बन्छ भन्ने लागेको छ।'
शिल्पाले फिल्म क्षेत्रमा काम गरेको ६ वर्ष भयो। यो अवधिमा उनले सात वटा फिल्ममा अभिनय गरिसकेकी छन्।
विराटनगरमा जन्मेकी उनको बाल्यकाल विभिन्न ठाउँमा बित्यो। उनका बुवाआमा कामको सिलसिला जताजता पुग्थे, उनी उतै पुग्थिन्। दुई वर्ष उमेरकी हुँदा संखुवासभाको खाँदबारी पुगेकी उनले त्यहाँ सात वर्ष बिताइन्।
'खाँदबारीमा मैले पहिलो मिल्ने साथी बनाएँ। त्यहीँ म पहिलोपटक विद्यालय गएँ। त्यसैले खाँदबारी मेरो मनमा छ,' उनले भनिन्।
उनी सानैदेखि नाच्न रूचाउँथिन्। फिल्मप्रति पनि लगाव थियो। खाँदबारीमा एउटा मात्रै सिनेमा हल थियो। उनीहरू लुकीलुकी फिल्म हेर्न पुग्थे।
शिल्पा स्कुलमा हुने नृत्य प्रतियोगितामा पनि सहभागी हुन्थिन्। उनको रूचि देखेर आमाले पनि नाच सिक्न पठाउँथिन्।
केही समयपछि उनी पढ्न भनेर काठमाडौं आइन्। काठमाडौंमा उनी र उनकी दिदी होस्टलमा बसेर पढे।उनले गजित विष्टसँग भरत-नाट्यम पनि सिकिन्। एसएलसी सकेपछि उनी पढ्न बेलायत पुगिन्।
बेलायतमा व्यवस्थापन पढ्दै गर्दा पनि उनलाई आफ्नो भविष्यको अन्यौल थियो। आफूले गर्न चाहेको कुरा के हो भनेर पहिल्याउनै सकिरहेकी थिइनन्। यही बीच कलेज बिदा भएका बेला उनी नेपाल आइन्। त्यति बेला अमेरिका र भारतबाट छोटो फिल्म 'सुटिङ एन एलिफेन्ट' बनाउन आएको र उनीहरूले नृत्य गर्न जान्ने मान्छे खोजेको थाहा पाइन्।
उनी अडिसनमा गइन् र छनौट भइन्।
'त्यति बेला मैले नृत्य छोडेको चार वर्ष भइसकेको थियो। अभियन पनि गरेकी थिइनँ तर पनि छनोट भएँ,' उनले भनिन्। फिल्ममा उनले बर्मेली युवतीको भूमिका निर्वाह गरेकी छन्।
त्यसको छायांकन चितवनमा गरिएको थियो। ४५ डिग्री गर्मीको बेला, तै पनि उनलाई फिल्म निर्माण प्रक्रिया रमाइलो लाग्यो। यहीँबाट उनले सिने क्षेत्रमा आफ्नो भविष्य खोज्न पनि थालिन्।
'म अभिनय पनि गर्न सक्ने रहेछु, कलाकार भएर बाँच्न सक्ने रहेछु भन्ने महसुस भयो,' उनले भनिन्।
बेलायत फर्केपछि उनी 'बली फ्लेक्स' नामक नृत्य समूहमा जोडिइन्। उक्त समूहमा शिल्पा ब्याक–ग्राउन्ड डान्सर थिइन्। बेलायतमा कुनै कार्यक्रम हुँदा बलिउड/पाकिस्तानी कलाकारहरू उक्त समूहसँग डान्स गर्थे। उनले पाकिस्तानी गायक आतिफ असलमसँग प्रस्तुति दिएकी थिइन्।
त्यसपछि उनले स्कट डेरिकसनको हलिउड फिल्म 'डक्टर स्ट्रेन्ज' मा अभिनयको मौका पाइन्। उनी आफ्नो छायांकन नभएका बेला पनि सेटमा पुग्थिन्। हलिउड फिल्ममा कसरी काम हुँदो रहेछ भनेर जान्ने अवसर उनी गुमाउन चाहन्न थिइन्।
त्यसमा काम गरेपछि उनलाई लाग्यो– अभिनय धेरै सिक्नुपर्ने रहेछ!
उनी बेलायतको 'आइडेन्टिटी स्कुल अफ एक्टिङ' मा अभिनय सिक्न थालिन्।
'मलाई स्क्रिप्ट कसरी पढ्ने, डाइलग कसरी भन्ने र आफ्नो आवाज कसरी परिवर्तन गर्ने सिक्न मन थियो,' उनले भनिन्।
यही क्रममा उनलाई नेपाली फिल्म 'द ब्रेकअप' को प्रस्ताव आयो। नेपाली फिल्मको प्रस्ताव आउँदा उनी उत्साहित भइन्।
निर्देशक हेमराज विसीले मेसेन्जरमा भने, 'शिल्पाजी हामी द ब्रेकअप फिल्म बनाउँदैछौं। तपाईंलाई मुख्य कलाकारका रूपमा लिने कुरा छ। तपाईंको नेपाल आउने योजना के छ?'
उनले धेरै सोचविचार नगरी प्रस्ताव स्वीकार गरिन्।
'हामी विदेश बस्ने नेपालीहरूलाई नेपाली कला र नेपाली संगीतको मोह हुन्छ। त्यति बेला हामी एक घन्टा रेल चढेर नेपाली फिल्म हेर्न जान्थ्यौं। नेपाली फिल्म खेल्न एकदमै रहर थियो। अफर आएपछि जसरी पनि खेल्छु भन्ने भयो। म नेपाली फिल्ममा भविष्य बनाउन सक्छु भनेरै फर्किएकी हुँ,' उनले भनिन्।
उनको यो निर्णयलाई परिवारले समर्थन गरे। पहिलो फिल्म हिट हुने सपना बोक्दै उनी नेपाल फर्किन्। सोचेजस्तो त भएन। उनले कामबाट तारिफ भने बटुलिन्।
यसलगत्तै उनको पोल्टामा पर्यो 'कागजपत्र'। छायांकन हिसाबले भने उनको पहिलो फिल्म 'कागजपत्र' नै हो।
फरक विधाका दुई फिल्म एक महिनाभित्रै प्रदर्शन भए। 'द ब्रेकअप' मा उनको विदेशबाट फर्किएकी युवतीको भूमिका थियो भने 'कागजपत्र' मा विदेश जान चाहने नर्सको।
यसपछि उनले 'सानो मन, कठपुतली, लाइफ इन एलए, फूलबारी' मा अभिनय गरिन्। 'कठपुलती र फूलबारी' मा उनको भूमिका सानो छ।
'भूमिका छ भए पनि त्यसले कत्तिको प्रभाव पार्छ भन्ने कुरामा ध्यान दिन्छु,' उनले भनिन्, 'जुन पात्र निर्वाह गर्दा पनि यसले भविष्यमा कस्तो असर पार्छ भनेर ध्यान दिन्छु।'
हाल उनले फिल्म 'देवी' को छायांकन सकेकी छन्। योसँगै कुमार नगरकोटीको नाटक 'ट्रान्जिट' बाट रंगमञ्चमा डेब्यू गर्न लागेकी छन्। घिमिरे युवराजको परिकल्पना र निर्देशन रहने नाटक साउन १ देखि भदौ १ गतेसम्म मञ्चन हुनेछ।
अब शिल्पालाई बायोपिक फिल्म खेल्ने रहर छ। उनी आफ्नो लागि फिल्म बनाउनु पर्दा ऐतिहासिक वा बायोपिक नै पहिलो रोजाइ हुने बताउँछिन्।