गुड फ्राइडे सिनेमा
यो कथाका मुख्य पात्र हुन् विक्रम। उनी चेन्नईको एक आर्किटेक्चर फर्ममा प्रोजेक्ट म्यानेजर छन्।
विक्रम समग्रमा राम्रै मान्छे हुन्। तर पैसाले उनको इमान किनिदिन्छ। कामका सिलसिलामा आर्थिक लाभ हुन्छ भने उनी कुनै अवैध कदम चाल्नु गलत होइन भन्ने मान्यता राख्छन्। उनी पैसा कमाउनेभन्दा आउने बाटो खोज्ने ध्याउन्नमा हुन्छन्।
यही क्रममा उनी एउटा परियोजनाको डिजाइनमा महिनौंदेखि काम गरिरहेका हुन्छन्।
विक्रमको यो थिमपार्कको महत्वाकांक्षी परियोजना उनको फर्मका सबभन्दा ठूला ग्राहक चन्द्रशेखरको कम्पनीले बनाउन लागेको हुन्छ। चन्द्रशेखरलाई यो परियोजनाको आइडिया बुझाएर विक्रमले मनाउन सके उनको जीवनमा बहार आउनेछ।
यो काम सफल भए विक्रमको कमाइ दोब्बर हुनेवाला छ। उनको जीवनशैली फेरिनेवाला छ। डेराबाट आफ्नै घरमा पुग्नेवाला छन्। यही लोभले उनलाई यो परियोजनामा दिनरात खटाएको हुन्छ।
आठ महिनाको मेहनतपछि आखिरमा त्यो दिन आउँछ। उनी डिजाइन लिएर चन्द्रशेखरकहाँ पुग्छन्। तर चन्द्रशेखरको मुड पहिल्यै बिग्रिसकेको हुन्छ। उनकी एक छोरी हुन्छिन् जो लागुऔषध सेवन गर्छिन्। अफिसमै आएर पैसा माग्छिन्। छोरीको व्यवहारले दिक्क भएका चन्द्रशेखरलाई विक्रमको डिजाइन मनपर्दैन।
उनी झोंक्किन्छन् र आगामी एक वर्षसम्म कुनै परियोजना नलिने भन्छन्।
अनेक सपना देखेर, यतिका मेहनत गरेको काम अरू कसैले नकार्दा विक्रमलाई सही नसक्नु हुन्छ। उनी मदिरा पिएर साथीसँग चन्द्रशेखरको घरमा ढुंगा हान्न पुग्छन्।
तर त्यही बेला चन्द्रशेखरकी छोरी पर्खालबाट हामफाल्छिन्। विक्रम उनलाई पछ्याउँदै जान्छन्। होटलमा पुगेर विक्रमले उनका बुवाका बारेमा बताउँछन्। चन्द्रशेखरकी छोरी श्रुतिले पनि आफूलाई बाबु साह्रै मननपर्ने बताउँछिन्।
यसपछि श्रुतिले विक्रमलाई एउटा प्रस्ताव राख्छिन्। त्यो आपराधिक योजना सुनेर विक्रमले अस्वीकार गर्छन्। तर भोलिपल्टै उनको सोच बदलिन्छ।
यसको कारण फेरि पनि चन्द्रशेखर नै हुन्छन्। उनले यस्तो निर्णय सुनाउँछन् कि त्यो सुनेर विक्रमको पारो तात्छ। यसपछि उनी श्रुतिको योजनामा सामेल हुन्छन्।
श्रुतिले बाबुका यस्ता रहस्य उजागर गर्छिन्, जसले विक्रमलाई यो योजनामा सामेल हुन झनै उत्साहित गर्छ।
तर दुई जना मिलेर काम गर्दैगर्दा बीचमै यस्तो मोड आउँछ जुन विक्रमले सोचेका पनि हुँदैनन्।
के उनीहरूको योजना सफल होला? वा उनीहरू भयानक खाडलमा फस्लान्?
यसका लागि रहस्यमयी र थ्रीलर फिल्म 'शाराभम' हेर्नुहोला। तमिल भाषामा बनेको यो फिल्मले समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ।
यो विधाका फिल्म हेर्नेलाई यसले निराश पार्दैन। सुरूदेखि अन्त्यसम्म मन धुकचुक बनाउँदै बाँधिराख्छ।
आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई हिन्दीमा डब गरिएको यही फिल्म सिफारिस गरेका छौं।