गुड फ्राइडे सिनेमा
सन् १९१९ देखि सिनेमा बन्न थालेको कोरियाली सिनेमाले एक शताब्दीको इतिहास बनाइसक्यो। सयवर्षे यात्रा पूरा गरेसँगै सन् २०२० मा बोङ जोन हु निर्देशित 'पारासाइट' ले कान र अस्करमा प्रमुख विधाका अवार्ड जितेर अर्को कोरियाली सिनेमामा अर्को इतिहास बनायो।
सबटाइटलमै अस्कर जित्ने कोरियाली सिनेमा पछिल्लो तीन दशकमा संसारभरका दर्शक माझ फैलिइसकेको छ।
थ्रिलर, प्रेम, राजनीतिदेखि जीवन दर्शनसम्मका विषयमा उत्कृष्ट फिल्म बनाउँदै आएको कोरियाका केही राम्रा फिल्म युट्युबमा अंग्रेजी सबटाइटलसहित हेर्न पाइन्छ।
तिनैमध्ये आज गुड फ्राइडे सिनेमामा हामीले फिल्म 'सोपिओन्जे' सिफारिस गरेका छौं। सन् १९९३ को सोपिओन्जे निर्देशक इम कोन तेकको सर्वाधिक प्रशंसित फिल्म हो। यसले दुई दर्जनभन्दा बढी अवार्ड जितेको छ।
यति मात्रै कहाँ हो र, यो फिल्मलाई कोरियाली इतिहासकै सांस्कृतिक पुनर्जागरणको उदाहरण मानियो।
त्यस्तो के छ त 'सोपिओन्जे'मा?
पान्सोरी नामले पनि चिनिने सोपिओन्जे परम्परागत लोक संगीत हो। निर्देशक इम कोन तेक हुर्केबढेको भेगको यो संगीत परम्परामा गायनलाई ड्रम बजाएर साथ दिइन्छ। हाम्रो देउडाजस्तै सुनिने यसमा ब्लुजझैं पीडा छ।
जापानी उपनिवेश र अमेरिकी प्रभुत्वका कारण कोरियाली मौलिक संगीतको संकट महसुस गरेका निर्देशकले त्यही परम्परा केन्द्रमा राखेर बनाएको फिल्म हो सोपिओन्जे।
फिल्म मुख्य तीन पात्रको वरिपरि घुमेको छ। यु बोंग राम्रो पान्सोरी गाउने मास्टर हो। उनका दुई जना धर्म-सन्तान साथमा छन्। यु बोंग छोरीलाई गायन र छोरालाई ड्रम सिकाउँछन्। यी तीन जना गाउँ-बजार डुल्दै परम्परा धान्ने र जीवन गुजारा चलाउने काम गरिरहेका छन्। समाजको नजरमा उनीहरू तल्लो समुदाय हुन् जसको काम सेवा दिनु मात्रै हो।
बस्ने-खाने दिगो आधार नभए पनि बुवा यु बोंगमा आफ्नो सन्तानलाई पान्सोरीविज्ञ बनाउने भूत सवार छ। यसका लागि उनी सन्तानलाई गाली गर्न वा पिट्न पनि पछि पर्दैनन्।
छोरी ज्ञानी भए पनि छोरा बुवासँग असन्तुष्ट छ। गाली खाई-खाई ड्रम बजाउन नसकेपछि ऊ एक दिन बुवा र दिदीबाट भागेर टाढा जान्छ।
भाइ भागेपछि दिदीले गाउन नसक्दा बुवामा चिन्ता थपिन्छ। सन्तानलाई जसरी पनि श्रेष्ठ संगीतज्ञ बनाउने जिद्दी बोकेका बुवाले अब के गर्लान्?
बुवासँग रिसाए पनि दिदीलाई औधी माया गर्ने भाइ फेरि फर्केर आउला या नआउला? यसपछिका घटनाक्रममा यसकै जवाफ भेटिन्छ।
संगीतले बचाउला? योभन्दा अघिको कथा जे छ, त्यो झनै मार्मिक छ, हेर्नुहोला।
जुंग इल सुंगको सिनेमाटोग्राफीले दर्शकलाई फिल्मका केही दृश्य स्टिल फोटोग्राफी हेरेको भान गराउँछ।
दिदीको भूमिकामा ओ जुङ हायको अभिनय र गायकीसँगै उनले निर्वाह गरेको चरित्रले पनि मन हर्छ। यो फिल्म पान्सोरीको कथा मात्रै थिएन, लामो समय बाहिरी शक्तिको नियन्त्रणमा थिचिएका कोरियाली जनताको सामूहिक पीडाको प्रतिविम्ब पनि थियो।
फिल्म हेर्न Watch on Youtube लेखिएको ठाउँमा क्लिक गर्नुहोला।