सानै उमेरदेखि गीत गाउन रूचाउँथे सुजन चापागाईं।
साथीभाइले राम्रो गाउँछ भनेपछि उनी झन् फुरूंग हुन्थे।
चितवनस्थित बाल्मिकी शिक्षा सदन स्कुलमा कक्षा ५ मा पढ्दा उनलाई 'गुरूबा' ले सबैको सामू गाउन आग्रह गरे।
'सुरूमा कक्षामा गाउँदा वरिपरिका साथीलाई थाहा भयो मैले गाउन सक्छु भनेर,' सुजनले भने, 'बिस्तारै स्कुलको कार्यक्रममा हुँदै प्रतियोगिताहरूमा भाग लिन थालेँ र गाउने क्रम जारी भयो।'
उनको परिवारले पनि उनको सांगीतिक भविष्यलाई समर्थन गरे। एसएलसीपछि उनले केही समय भरतपुरमा संगीत सिके। १२ को परीक्षा दिएपछि उनी काठमाडौं आए।
काठमाडौंमा संयोगवश उनका भानिज दाइको घरको अर्को फ्ल्याटमा शास्त्रीय संगीत प्रशिक्षक चण्डीप्रसाद काफ्ले बस्थे। खाली समयमा उनै काफ्लेसँग चार महिनाम्म संगीत सिके।
त्यसपछि उनका बुबाले 'जे गर्नु छ चितवनमै गर' भने। बुबाको कुरा उनले नकार्न सकेनन्।
उनका बुबा व्यवसायी हुन्। बुबाकै व्यवसायमा उनलाई रूचि बढ्न थाल्यो। प्लस-टुमा विज्ञान पढेका सुजनले बिबिए पढ्ने सोच बनाए।
'बिबिए पढेँ भने सांगीतिक क्षेत्रमा पनि समय दिन पाउँछु भन्ने आश थियो,' उनले भने।
घरपरिवारको अनुमति लिएर उनी पुनः काठमाडौं आए। काठमाडौं आएपछि उनले सांगीतिक कक्षा पनि सुरू गरिहाले। गीतसंगीतमा उनको लगाव देखेर घरपरिवार र साथीभाइले 'नेपाल आइडल' राम्रो प्लेटफर्म हुन सक्ने सुनाए। उनले डिजिटल अडिसन दिए। यहीँबाट सुरू भएको थियो सुजनको नेपाल आइडलको यात्रा।
'जाने इच्छा नभए पनि साथीहरूले हौस्याएपछि सहभागी भएको थिएँ। जित्छु भन्ने थिएन तर नयाँ अनुभव र सिक्ने आशा बोकेर पुगेको थिएँ। धेरै सिक्न पनि पाएँ,' उनले भने।
चितवन आइडलमा दोस्रो हुन सफल सुजन नेपाल आइडल-३ बाट अन्तिम ३० सम्म पुगेर बाहिरिएका थिए। यहाँबाट बाहिरिएपछि उनको औपचारिक सांगीतिक यात्रा सुरू भयो।
उनले आर्टमाण्डुसँगको सहकार्यमा आफ्नो पहिलो गीत 'तीनपाते' रिलिज गरे। अहिले यो गीतको युट्युब भ्युज २ करोडभन्दा धेरै छ।
'विद्या तिवारी दिदीले मलाई आर्टमाण्डू टिमसँग भेट गराइदिनुभयो,' सुजनले भने, 'केही मौलिक गीतमा काम गर्ने सोच थियो। नवीन चौहान दाइले तीनपातेको भिडिओ कन्सेप्ट सुनाएपछि गीतको कम्पोजिसनमा लागेँ।'
उनको पहिलो गीत नै सुपरहिट भयो। यसपछि पनि यो सुपरहिट यात्रा रोकिएन।
सुजनले गाएका गीतको संख्या औंलामै गन्न सकिन्छ। 'तीनपाते', 'गाला पुक्क', 'लजाएर', 'घुमी घुमी' उनका सर्वाधिक चर्चित गीत हुन्।
हालै उनको 'फूलथुंगे रानी' बोलको गीत सार्वजनिक भएको छ। दर्शक-स्रोताले यो गीत पनि रूचाइरहेका छन्।
आफूलाई भने हिट गीतको लोभ नभएको बताउँछन् उनी।
'आफ्नो गीत दर्शकलाई मन परोस् भन्ने आश त भइहाल्छ। तर गीत हिट गराउँछु भन्ने सोचले बनाउँदिनँ। अहिले दर्शकले मलाई कस्तो खालको गीत ल्याउँदै हुनुहुन्छ भन्ने जिज्ञासा राख्दा मैले केही गर्नुपर्छ भन्ने लाग्छ,' उनले भने।
उनी सांगीतिक क्षेत्रलाई कर्मथलो मात्र नभई आफ्नो धर्म पनि मान्छन्।
'संगीत मेरा लागि धर्म हो। म गीत बनाउँदा नयाँपन दिने प्रयास गर्छु। आफ्नै कानलाई के सुन्न मनपर्छ भन्ने कुरामा ध्यान दिन्छु। शास्त्रीय संगीत सिक्ने अवसर पाएकाले म आफ्नो गीतमा लोक र शास्त्रीय संगीत मिसाउँछु,' उनले भने।
गीत गाउन रूचि भएकाहरूलाई अहिले सहज वातावरण भएको उनको ठम्याइ छ।
'पहिलेभन्दा अहिले संगीतका लागि राम्रो बजार बनिरहेको छ। अहिले युट्युबदेखि टिकटकमा समेत आफ्ना गीत हाल्छौं। धेरथोर जे भए पनि टिकटकबाट कमाइ हुन्छ। अहिले अडिओ वितरण कम्पनी पनि खुलेको छ। त्यसले गर्दा डिजिटल माध्यमबाट पनि कमाइ हुन्छ,' उनले भने।
मुख्य गरी कलाकारले कमाउने भनेको कन्सर्टबाट हो। यही क्षेत्रमा राम्रोसँग लाग्ने हो भने व्यावसायिक रूपमा फाइदा हुने उनी बताउँछन्।
'तर नेपालको सन्दर्भमा कलाकारले विलासी जीवन अपनाउन चाहिँ सक्दैनौं,' सुजनले भने।
सुजनले लाइभ कन्सर्टका लागि टिम बनाएका छन्। उक्त टिमसँग मिलेर उनलाई विश्वभर छरिएर बसेका नेपालीलाई आफ्ना गीत सुनाउन मन छ।