यो एउटा विशेष र अनौठो परिवारको कथा हो।
परिवारको मूल सदस्य हुन् हजुरआमा। उनका छोरा, बुहारी, नाति छन्। बुहारीकी बहिनी पनि उनीहरूसँगै बस्छिन्।
टोकियोमा रहेको यो झुप्रो घर हजुरआमाको हो। गरिबीले उनीहरूलाई गाँजेको हुन्छ। हजुरआमा हात्सुई आफ्ना मृत्यु भइसकेका श्रीमानको पेन्सनले घरको भर गरिरहेकी हुन्छिन्। उनका छोरा ओसामु निर्माण क्षेत्रमा मजदुरी गर्छन् भने बुहारी नोबुयो लुगा धुने कारखानामा काम गर्छिन्। उनकी बहिनी अकी यौन पेसा गर्छिन्।
घर कान्छा सदस्य शोता हुन्। उनी चोरी गर्छन्।
शोतालाई ओसामुले नै पसलहरूमा चोरी गर्न सिकाएका हुन्छन्। सबैको कमाइले पनि घर नधानेपछि उनीहरू आफ्ना आवश्यकता पूरा गर्न चोरी गर्छन्।
यो चोरीको आफ्नै नियम हुन्छ- पसलमा बेच्न राखिएको सामान कसैको होइन। त्यसैले यसले हानि गर्दैन। अरूको निजी सामान भने चोर्न हुँदैन।
यही सिद्धान्त राखेर ओसामु र शोताले चोरीलाई आफ्नो नियमित काम बनाएका हुन्छन्।
एक दिन चोरी गरेर फर्किने क्रममा उनीहरूले छिमेकमा सानी बच्चीलाई देख्छन्। ती बच्चीलाई उनीहरूले अरू बेला पनि देखिरहेका हुन्छन्। बरन्डामा थुनिएकी बच्ची निरश र भोकाएकी हुन्छिन्।
ओसामुले ती बच्चीको बिजोग देखेर उनलाई घर ल्याउँछन्। उनको नाम युरी हुन्छ। उनलाई खाना खुवाएर ओसामु र नोबुयो उनलाई पुर्याउन जान्छन्।
युरीलाई छाडेर जानै लाग्दा उनीहरूले युरीका बुबाआमाले कुरा गरिरहेको सुन्छन्। त्यसपछि नोबुयोको भावुक हुन्छिन् र युरीलाई आफूसँगै लिएर जान्छिन्।
युरी नयाँ परिवारमा घुलमिल हुन्छन्। नोबुयो र ओसामुले उनलाई छोरी मान्छन्। हजुरआमाको माया पाएर युरी दंग हुन्छिन्। शोतालाई दाजु भन्छिन् र उनकै पछि लागिरहन्छिन्। शोताले उनलाई पनि चोरी गर्न सिकाउँछन्।
यो परिवार अब ६ जनाको हुन्छ।
तर एक दिन अचानक टिभीमा एउटा समाचार आउँछ, युरी हराएको सूचना।
यो देखेर सबै जना युरीलाई गुमाउनुपर्ला भनेर आत्तिन्छन्। त्यसैले उनीहरूले युरीको कपाल काटिदिएर हुलिया बदलिदिन्छन्। नाम फेरेर लिन राखिदिन्छन्।
अब लिनलाई कसैले नचिन्नेमा उनीहरू ढुक्क हुन्छन्। उनीहरू खुसी साथ घुमघाम गर्न निस्किन्छन्। एकअर्काको भरमा जीवनको सार भेट्टाउँछन्।
तर फेरि पनि यो परिवार पूर्ण हुँदैन। किनकि परिवार सामान्य नै लागे पनि यसभित्र असामान्य पत्रहरू हुन्छन्।
चोरीको भरमा बाँच्ने यो परिवारको रहस्य बिस्तारै खुल्दै जान्छ। र यो रहस्य परिवारका सदस्यहरू एकअर्कालाई नै थाहा हुँदैन।
यहाँ तीन मुख्य रहस्य छन्, हजुरआमाको, नोबुयो-ओसामुको र अकीको।
आखिर उनीहरू के लुकाइरहेका छन् र किन?
एक दिन युरीका कारण शोता यस्तो हर्कत गर्न बाध्य हुन्छन् जसले परिवारका यी सबैको रहस्य खुलाइदिन्छ।
त्यसपछि जुन कुराबाट पर्दा उघारिन्छ, त्यसले फिल्मका पात्र मात्र होइन, दर्शकलाई समेत चकित बनाउँछ। यसपछि लाग्छ, आखिर यो अनौठो परिवार कसरी बन्यो?
परिवारको परिभाषा नै बदलिदिने यो फिल्मका सबै पात्रहरूको कथा रोचक छ।
कथामा माया र धोका छ। विश्वास र विश्वासघात छ। एकअर्काको भर छ, अपराध पनि छ।
सबैको रहस्य खुलेपछि यो परिवारका सदस्यहरूको के होला?
यसका लागि जापानी फिल्म 'सप-लिफ्टर्स' हेर्नुहोला।
समीक्षकको नजर र बक्सअफिस दुवैमा सफल यो फिल्मले अरू देशमा पनि राम्रो कमाइ गरेको थियो।
सप-लिफ्टर्स सबभन्दा पहिले सन् २०१८ को कान्स फिल्म फेस्टिभलमा देखाइएको थियो। यसले त्यसमा पाम डिओर पुरस्कार पायो। त्यस्तै तीन वटा मैनिची फिल्म अवार्ड जितेको छ भने एसिया प्यासिफिक स्क्रीन अवार्डमा उत्कृष्ट फिचर फिल्म बनेको थियो।
सप-लिफ्टर्स अस्कर र गोल्डेन ग्लोब्समा पनि उत्कृष्ट विदेशी भाषाको फिल्मको मनोनयनमा परेको थियो।
आज गुड फ्राइडे सिनेमामा हामीले यही फिल्म सिफारिस गरेका छौं। जापानी भाषाको यो फिल्म युट्युबमा अंग्रेजी सबटाइटलमा हेर्न सकिन्छ।
फिल्म हेर्न Watch on Youtube लेखिएको ठाउँमा क्लिक गर्नुहोला।