दुःखबाट छुटकारा कसरी पाउने?
यसका दुइटा उपाय छन्।
एउटा, त्यसका बारेमा चिन्तै नगर्नु।
अर्को, त्यो दुःखका साथ बाँच्ने बानी गर्नु।
दीपकलाई यो कुराको आभाष धेरै पछि मात्र हुन्छ। पूर्वप्रहरी उनी अवकाश पाएर बसेका हुन्छन्। एउटा वैसाखीको सहारामा हिँड्छन्। त्यो वैसाखी उनलाई आफ्नो कामकै सिलसिलामा प्राप्त भएको हुन्छ।
प्रहरी छँदा भएको एउटा घटनाले उनको जीवनमा ठूलो उथलपुथल ल्याइदिन्छ। त्यसलाई उनले रत्तिभर भुलेका हुँदैनन्। भुल्नु त के, उनले हरपल त्यसको महसुससँगै जीवन बाँच्ने बानी पारेका छन्।
'हरेक दिन त्यो घटनाको सम्झना र झस्काइसँगै बाँच्नु मुखले भनेजस्तो सहज भने हुँदैन,' दीपक भन्छन्। उनको शरीरमा मात्र होइन, मनमा पनि गहिरो चोट हुन्छ।
उनका समकालीन प्रहरी साथीका छोरा उनलाई भेट्न आएका हुन्छन्। प्रहरी बन्ने सपना देखेका साथीका छोराले दीपकसँग पाँच वर्षअगाडिको त्यही घटनाबारे जिज्ञासा राख्छन्।
एक रात तीन केटाहरूको कारले एक व्यक्तिलाई ठक्कर दिन्छ। पक्राउ पर्ने डरले उनीहरूले शव गाडीको डिक्कीमा राख्छन्। अर्को दिन डिक्कीबाट शव कसैले निकालिदिन्छ। कसले, कसैलाई थाहा हुँदैन। शव गायबै हुन्छ।
भोलिपल्ट दीपकको कार्यालयमा पत्रिका पुर्याउने व्यक्ति सूचना लिएर आउँछन्- बाटामा एक मान्छे गोली लागेको अवस्थामा भेटिएको छ। मृतक व्यक्तिसँगै आफूले सेतो कार पनि देखेको उनले बताउँछन्।
सूचना टिपाएर निस्किने बेलामा उनले प्रहरी कार्यालयमै त्यो कार देखेको पनि बताउँछन्। तर प्रहरीहरूले यसलाई खास गम्भीरतापूर्वक लिँदैनन्।
दीपक त्यो घटनाको अनुसन्धानमा लाग्छन्। ती व्यक्तिलाई अरू कसैले गोली हानेको हो आत्महत्या हो भन्नेबारे थाहा हुँदैन। पानी परिरहेकाले बन्दुकबाट सबै निसान मेटिएको हुन्छ।
एकातिर यो घटना, अर्कातिर तीन केटाहरूको गाडीले ठक्कर दिएको मानिसको शव नै गायब भएको! यही बीच अर्को वीभत्स घटना पनि खुल्छ।
यसरी खप्टिएका घटनाको गुत्थी सुल्झाउन दीपकलाई हम्मे पर्छ। भर्खर भर्ना भएका प्रहरी गौतम उनीसँगै अनुसन्धानमा खटिन्छन्। तर घटना झन् उल्झिँदै जान्छ। अपराधी खुट्याउन नसकेको अलमलमा दीपक र गौतमले ठूलो मूल्य चुकाउनुपर्छ।
के उनीहरू हत्यारासम्म पुग्लान्? यी घटना एकआपसमा जोडिएका छन्?
फिल्मले यो कथा त भनिहाल्छ, यसबीच वर्तमानको कुरा पनि खुल्छ। दीपकलाई भेट्न आएका मानिस उनका साथीका छोरा हुँदैनन्। अरू नै कोही हुन्छन्, आखिर को? किन पहिचान फेरेर आएका हुन्छन्?
यो घटनामा दीपकको प्रहरी हुनुबाहेक अरू भूमिका पनि होला कि नहोला?
यसका लागि तमिल फिल्म 'धुरूभंगल पथिनारू (डि-१६)' हेर्नुहोला। अपराध कथामा बनेको यो थ्रिलर फिल्म बक्सअफिसमा ब्लकबस्टर सावित भएको थियो।
यो फिल्मको सुरूआत रहस्यबाट हुन्छ, अन्त त्यो रहस्यबाट पर्दा उघारिएर। पूरा फिल्ममा यो रहस्यलाई बडो चलाखीपूर्वक लुकाइएको छ। दर्शकको ध्यान अरू संकेततिर मोड्दै यसले नसोचेको कथा पस्किन सफल भएको छ।
आज गुड फ्राइडे सिनेमामा हेर्नुहोस् हिन्दी डबमा धुरूभंगल पथिनारू (डि-१६)-