केकी अधिकारीले रिलिज भएकै साता हल पुगेर फिल्म 'प्रसाद' हेरेकी थिइन्।
उनलाई लाग्यो- विपीन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठले राम्रो कथावस्तुको फिल्ममा काम गरेछन्। निःसन्तान दम्पतीको कथा भन्नुको साथै सामाजिक विभेदलाई राम्रोसँग उठान गरेको रहेछ।
'प्रसाद' हेरेर हल बाहिर निस्किँदा उनी प्रशंसक भएकी थिइन्।
यही फिल्मको सिक्वेलमा काम गर्न पाउँछु भन्ने उनलाई लागेको थिएन।
लागोस् पनि कसरी, प्रायः फिल्मको सिक्वेलमा पहिलो भागकै कलाकार दोहोरिन्छन्।
पहिले कथा जहाँ सकिएको थियो, 'प्रसाद २' त्यहीँबाट उठान गरिएको छ। त्यसैले यसमा प्रसादकै कलाकारलाई लिएर फिल्म बनाउने तयारी पनि थियो।
फिल्मका निर्देशक भने परिवर्तन भइसकेका थिए। पहिले दिनेश राउतले निर्देशन गरेका थिए भने 'प्रसाद २' सुदर्शन थापाले निर्देशन गरेका हुन्। यो फिल्म वैशाख १५ गतेदेखि प्रदर्शन हुँदैछ।
छायांकनमा जानुअघि निश्चल बस्नेत बाहिरिए। उनको ठाउँमा अर्पण थापालाई अनुबन्धित गराउँदै फिल्म छायांकनमा जाने तयारी भयो। छायांकन स्थल पुगेपछि निर्माण टिमबीच नै विवाद भयो। छायांकन भएन।
विवाद सुल्झिएपछि दोस्रो पटक फेरि छायांकनमा जाने तयारी भयो। तर त्यो बेला अभिनेत्री नम्रता श्रेष्ठले फिल्म छाडिन्।
नम्रताले छाडेपछि प्रसादकी मुख्य पात्र नारायणी बन्ने प्रस्ताव केकी अधिकारीलाई आयो।
'प्रसाद २ को स्टोरी लाइन सुनाउन चाहन्छौं। तपाईंलाई रूचि छ?' निर्देशक थापाले केकीलाई सोधेका थिए।
आफूलाई राम्रो लागेको फिल्मको सिक्वेलको अफर आउँदा उनी खुसी नहुने कुरै भएन। कथा सुनेपछि उनलाई यो भागमा थप द्वन्द्व समावेश गरिएको आभाष भयो।
'पहिला जुन पात्र थियो त्यही पात्रमा थप परिपक्वता आएको र नारायणी पात्रले विद्रोह गर्नुपर्छ भन्ने झक्झकाहट बोकेको पाएँ। यो फिल्म छोड्नु हुन्न जस्तो लाग्यो। यो फिल्म खेलिनँ भने पछि पछुतो लाग्छ जस्तो लाग्यो। त्यसैले एक हप्तामै फिल्म खेल्ने निर्णय लिएँ,' उनले भनिन्।
फिल्मबारे उनले थप भनिन्, 'यो विद्रोह मात्र नभई मायामा समर्पित फिल्म हो। फिल्मको ट्यागलाइन छ- मायाभन्दा ठूलो नै के छ र!'
उनका अनुसार प्रेमका लागि सारा सीमा नाघ्न सक्ने र प्रेमलाई नै सर्वस्व ठान्ने दुई पात्रको कथा हो प्रसाद। प्रसाद-२ मा यही कथामा तेस्रो पात्र थपिएको छ, उनीहरूको सन्तान।
आफ्नो प्रेमका लागि सबैसँग लडाइँ लडेर जित्न सक्ने जोडी नारायण र रामबाबुको थियो। यही जोडी आफ्नो सन्तानलाई राम्रो वातावरण र उसको सुखमय जीवनका लागि कुन हदसम्म जान सक्छ भन्ने कथा प्रसाद २ ले समातेको छ।
यसमा अन्तरजातीय विवाहको कथावस्तु पनि समेटिएको छ। जातीय छुवाछुत अझै अन्त्य नभएको केकीको बुझाइ छ।
'जातीय छुवाछुतको ज्वलन्त उदाहरण देखिरहेका छौं। काठमाडौंमा त्यति छैन भने पनि केही महिनाअघि मात्रै कोठा नदिएको घटना बाहिर आयो। दलित भएकै कारण आधारभूत कुराका लागि लडिरहनुपरेको छ। आज पनि हाम्रो चेतनास्तर र हाम्रो मनोविज्ञान त्योभन्दा पर हटेको रहेनछ भन्ने प्रमाणित नै छ। गाउँघरमा यस्ता कुरा अझ धेरै छन्। शिक्षित भए पनि आफ्नो परिवर्तन आउन सकेको छैन,' उनले भनिन्।
केकीले यो फिल्ममार्फत विपीन कार्कीसँग पहिलोपटक स्क्रिन सेयर गरेकी हुन्। विपीनसँग काम गर्दा आफूले धेरै सिक्न पाएको उनी बताउँछिन्।
'म विपीन कार्कीको कामको प्रशंसक हुँ। मलाई प्रत्यक्ष रूपमा उहाँले कसरी काम गर्नु हुन्छ भनेर हेर्न मन थियो। उहाँ पात्रमा कहिल्यै पनि विपीन कार्की देखिनु हुन्न। उहाँले गरेको हरेक फिल्ममा नयाँ व्यक्ति देख्छौं। त्यो शैली कसरी अपनाउनु हुन्छ भनेर हेर्न मन थियो,' उनले भनिन्, 'नचाहँदा नचाहँदै पनि मैले केकीको अंश हरेक पात्रमा छाडेकी छु। तर विपीन कार्की एकदमै सहज कलाकार हुनुहुन्छ।'
प्रसादमा बलात्कार जस्तो संवेदनशील कुरालाई गलत तरिकाले प्रस्तुत गरेको भन्दै विवाद भएको थियो।
यसबारे केकी भन्छिन्, 'एउटा फिल्मले पात्र र कथा उजागर गर्ने हो। फिल्मले नजानिँदो तरिकाले मनोरञ्जन दिँदै दर्शकलाई झकझकाउने प्रयास गर्छ। म समाजमा खराब या असल व्यक्तिमा गनिन्छु र आफूले गरेका क्रियाकलापले कसैलाई चोट पुगेको छ कि छैन भन्नेतर्फ फिल्मले एउटा प्रश्न गर्ने काम गर्छ। बलात्कार जस्तो संवेदनशील कथामा फिल्म बनाउँदा पीडितलाई थप चोट दिन्छ कि भन्ने कुरामा हामी एकदमै सचेत हुनुपर्छ। यस कुरामा हामीले ध्यान दिएका छौं।'
प्रसाद- २ बाहेक केकीको आफ्नै निर्माणमा बनेको फिल्म 'बोक्सीको घर' प्रदर्शनको तयारीमा छ। यो फिल्म दुई वर्षअघि नै छायांकन गरिएको हो। केकीका अनुसार बोक्सीको घरको पोस्ट-प्रोडक्सनको काम भइरहेको छ।
हेर्नुहोस् केकी अधिकारीसँगको कुराकानी भिडिओमाः