हरेक सिनेमाका आफ्नै दर्शक हुन्छन्। कुन सिनेमा कस्ता दर्शकलाई मनपर्छ भन्ने थाहा हुँदैन। तर थ्रिलर विधाका फिल्म यस्ता हुन्छन्, जुन हरेक दर्शकको रोजाइ नभए पनि उनीहरूलाई बाँधेर राख्ने क्षमता हुन्छ।
राम्रो थ्रिलर फिल्मले त सुरूआती पाँच मिनेटमै दर्शकलाई यसरी अठ्याउँछ, अन्तसम्म नपुगी फुत्किन दिँदैन।
आज गुड फ्राइडे सिनेमामा हामीले यस्तै फिल्म सिफारिस गरेका छौं- रोश्याक।
मलयालम भाषाको यो साइकोलोजिकल थ्रिलर फिल्म चर्चित दक्षिण भारतीय अभिनेता मामुट्टीले बनाएका हुन्। फिल्ममा उनी ल्युक एन्टोनीको भूमिकामा छन्।
एन्टोनी बिदामा दुबईबाट आफ्नी गर्भवती श्रीमती सोफियासँग भारतको केरला घुम्न आएका हुन्छन्। यात्रा क्रममा जंगलमा उनीहरू दुर्घटनामा पर्छन्। होस आएपछि सोफियालाई उनले देख्दैनन्। उनी स्थानीय प्रहरीकहाँ गएर घटना सुनाउँछन्।
प्रहरीले स्थानीयसँग मिलेर तीन-चार दिनसम्म जंगलमा सोफियालाई खोज्छन्। तर उनको चप्पल मात्र फेला पर्छ। बाघको दबदबा भएकाले सोफिया मरिसकेको अनुमान गरिन्छ।
एन्टोनी भने यो कुरा मान्न तयार हुँदैनन्।
केही दिनपछि प्रहरी र स्थानीय सबैले सोफियालाई खोज्न छाड्छन्। एन्टोनी भने जंगलमा दुर्घटना परेको आफ्नो कारमै अड्डा जमाएर बस्छन्। कयौं दिनसम्म उनी सोफियाको खोजीमै रहन्छन्।
आफ्नी श्रीमती खोजेको भन्दै जंगलमा बसिरहेका एन्टोनीलाई देखेर प्रहरी आजित भइसकेको हुन्छ। उनले गर्दा प्रहरीको बदनामी भएको भन्दै कतिपटक उनलाई फर्किन पनि भन्छ। तर एन्टोनी मानेका हुँदैनन्।
यही क्रममा बालन नामका एक स्थानीय व्यक्ति उनीसँग निकट हुन्छन्। उनलाई सहयोग गर्छन् र यसरी कारमा बसेर सोफियालाई खोज्नुभन्दा जंगलमै रहेको आफ्नो घर किनेर बस्न सुझाउँछन्। त्यो घर बालनका जेठा छोरा दिलीपको हुन्छ। दुर्घटनामा उनको मृत्यु भएकाले त्यो घर बनिसकेकै हुँदैन।
एन्टोनीलाई उनको कुरा ठिकै लाग्छ। उनी दिलीपको घर किन्छन् र बस्छन्। त्यही दिनदेखि एन्टोनीको जीवनमा अजिबअजिब घटनाहरू हुन थाल्छन्।
उता बालन एन्टोनीले दिएको पैसा लिएर आफ्नो परिवारबाट भाग्न चाहेका हुन्छन्। तर केही समयपछि उनको शव फेला पर्छ। पैसा गायब!
यसपछि बालनकी श्रीमती सीता, कान्छा छोरा अनिल, ज्वाइँ शशांकन र दिलीपकी श्रीमती सुजाता समेत एन्टोनीको जीवनमा ठोक्किन आइपुग्छन्।
यहाँबाट एन्टोनी एउटा चक्रब्युहमा फसेझैं लाग्छ।
आखिर उनले दिलीपको अधुरो घर थुप्रै पैसा दिएर किन किने? उनको उद्देश्य के हुन्छ? के उनले श्रीमती सोफियालाई भेट्लान्? वा कुनै दलदलमा फस्लान्?
कुन कडीले आखिर एन्टोनीलाई दिलीपको पूरै परिवारसँग जोड्छ?
यसका लागि फिल्म रोश्याक हेर्नुहोला।
रोचक कथा भएको फिल्म रोश्याकको प्रस्तुति एकदमै राम्रो छ। फिल्मले ससाना विवरणलाई यसरी प्रस्तुत गरेको छ, हरेक दृश्यले दर्शकलाई सिरिंग बनाउँछ। सुरूदेखि अन्तसम्मै रहस्य र मोडहरूले धुकचुक बनाउने त भइहाल्यो।
साधारण सेटिङ र कम बजेटमा बने पनि रोश्याक थ्रिलर विधाको एक उत्कृष्ट फिल्म हो भन्दा फरक पर्दैन। विगत र वर्तमानका घटनाक्रमलाई समानान्तर रूपले अगाडि बढाउँदै कथा भन्ने शैलीको दर्शक र समीक्षकले समेत प्रशंसा गरेका छन्।
हेर्नुहोस् हिन्दीमा डब भएको मलयालम फिल्म रोश्याक-