दयाहाङ राई र मिरूना मगर यसै वर्ष रिलिज भएको 'कबड्डी ४' मा पहिलोपटक जोडीका रूपमा देखिएका थिए। यो फिल्ममा निकै रूचाइएको उनीहरूको जोडी वैशाख १ गते रिलिज हुन लागेको 'जारी' मा फेरि देखिँदैछ।
उनीहरू दीपेन्द्र लामा निर्देशित 'नांगो गाउँ' मा पनि एकसाथ अभिनय गर्दै छन्। हाल यो फिल्मको छायांकन भइरहेको छ।
प्रदर्शनका हिसाबले 'कबड्डी ४' दया-मिरूना जोडीको पहिलो फिल्म भए पनि छायांकनका हिसाबले 'जारी' पहिलो हो। 'जारी' को छायांकन करिब तीन वर्षअघि गरिएको थियो। मिरूनालाई यो फिल्ममा काम गर्ने प्रस्ताव दयाले नै राखेका थिए।
'म मिरूनाकी आमालाई राम्ररी चिन्छु। उहाँ थिएटर कलाकार हुनुहुन्छ। कलाकारकी छोरी भनेपछि मैले मिरूनालाई नियालिरहेको थिएँ,' उनले भने, 'उपेन्द्र दाइले जारीमा मिरूनालाई लिँदा कस्तो हुन्छ भनेर सल्लाह माग्नुभयो। मसँग मिरूनाको नम्बर थियो। मैले उहाँलाई फोन गरिहालेँ।'
त्यति बेला मिरूना लन्डनमा पढ्दै थिइन्। उनीसँग काम गर्ने समय होला कि नहोला भनेर दयाहाङ अन्यौलमा थिए। तर संयोग कस्तो पर्यो भने, दयाहाङले फोन गर्दा मिरूना नेपालमै रहिछन्।
'म लन्डनबाट आएर नेपालको परिवेशमा भिज्दै थिएँ,' मिरूनाले त्यो दिन सम्झँदै भनिन्, 'मलाई मान्छेसँग बोल्न पनि डर लाग्थ्यो। कसैले मेरो बोलीकै कारण मूल्यांकन गर्छ कि भन्ने लाग्थ्यो। दया दाइले फोन गर्दा पनि म खुसी हुनुभन्दा बढी डराएकी थिएँ।'
त्यस दिन टेलिफोन कुराकानी क्रममा दयाले जारी प्रथाको विषयमा फिल्म बन्न लागेको जानकारी दिए र रोलसमेत प्रस्ताव गरे।
फिल्मको कथा सुनेपछि मिरूना उत्साहित भइन्।
'जारीको विषयमा सुनिरहेकी थिएँ। मेरी बोजु (आमाको फूपू) ले पनि जारी तिरेर अर्कैसँग विवाह गर्नुभएको थियो। उहाँको दुवै परिवार खुसी छन्। उहाँहरूको भेटघाट पनि हुन्थ्यो,' उनले भनिन्।
मिरूनाले फिल्मको कथा आफ्नी बोजुलाई सुनाइन्। कथा सुनेर बोजुको आँखामा आँसु आयो। उनको केही समयअघि मात्र मृत्यु भयो। बोजुलाई फिल्म देखाउन नपाएकोमा खल्लो लागिरहेको मिरूना बताउँछिन्।
'फिल्म देखाउन नपाए पनि कथा सुनाएकी थिएँ, त्यसैमा सन्तुष्टि छ,' उनले भनिन्।
यो फिल्मको निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन्। फिल्मको छायांकन पनि उनैको घर पाँचथरस्थित आङसराङमा गरिएको हो।
'त्यहाँ होटलहरू छैन। कोही घरमा, कोही टेन्टमा गरेर ४० जनाको टोली बसेका थियौं,' दयाले भने।
मिरूना लन्डनमा बसेर आएको भए पनि गाउँको परिवेशमा भिज्न गाह्रो नभएको बताउँछिन्।
'म हङकङमा जन्मिएँ। केही समयपछि हामी धरान आयौं। धरानमा बस्दा बुवाहरूले गाउँमा जसरी संघर्ष गर्नुभएको थियो, त्यसरी नै बस्नुपर्छ भनेर आमा भन्नुहुन्थ्यो। त्यति बेला धरानमा विकास भइसकेको थियो। तर हामी गाडीमा यात्रा नगरी लामो बाटो पनि हिँडेरै जान्थ्यौं। हामी लन्डन गएपछि आमाले घरमा अंग्रेजी बोल्नसमेत दिनुहुन्न थियो। गाउँको परिवेशमा बाँचेको भएर पनि यो फिल्मको छायांकन कठिन भएन,' उनले भनिन्।
दयाहाङसँग काम गर्दा आफूले धेरै कुरा सिक्ने अवसर पाएको उनी बताउँछिन्।
'म उहाँलाई राम्रो कलाकारका रूपमा चिन्थेँ। एकसाथ काम गर्दै जाँदा उहाँ राम्रो मान्छे पनि हुनुहुँदो रहेछ भनेर चिन्ने अवसर पाएँ,' उनले भनिन्, 'म जहिल्यै दाइहरूसँग काम गर्ने तरिका सोधिरहन्थेँ। काम गर्दा सबै राम्रो मान्छे भेटिँदैन रहेछ। जारी र कबड्डी टिमसँग काम गर्दाको सिकाइ र त्यसबाट पाएको आत्मबलमा फरक पाएँ। हुन त त्यसअघि पनि मैले राम्रै मान्छेसँग काम गरेकी थिएँ तर इनर्जी लेभल नमिलेर होला त्यति सहज महशुस गरिन्।'
हामीले जारी फिल्मको विषयवस्तुबारे पनि दया र मिरूनालाई सोधेका थियौं।
दयाले भने, 'मैले राई समुदायमा जारीको विषयमा सुनेको थिएँ। जारी राई र लिम्बू समुदायमा उस्तै हुँदो रहेछ। राईहरूमा एउटा कठुवा राखेपछि त्यहाँ छोयो भने जारी स्वीकृत हुन्छ, छोएन भने अस्वीकृत हुन्छ। यो कुनै महिलालाई मन परेको मान्छेसँग दोस्रो विवाह गर्न पाउने अधिकार दिइएको हो। हाम्रो समुदायमा यसलाई सहजै लिइन्छ। पहिले महिलाको निर्णयमा भर पर्थ्यो भने पछि भाले जुधाइको खेल भयो। भाले जुधाइको खेल भएपछि जारी प्रथाले विकृतिको रूप लियो। महिला अधिकारका रूपमा हेर्ने हो भने अहिले पनि जारी सान्दर्भिक नै लाग्छ।'
यसै विषयमा थप्दै मिरूना भन्छिन्, 'पहिले सामाजिक हिसाबले जारी तिर्ने चलन थियो, अहिले अदालत गएर डिभोर्स लिइन्छ। पहिला होस् या अहिले, महिलाहरू आफ्नै हिसाबले बाँच्न चाहनुहुन्छ जस्तो लाग्छ।'
फिल्ममा २०५० सालतिरको जारी प्रथा देखाइएको छ। कतिले यो फिल्म नवीन सुब्बाको 'नुमाफुङ' जस्तो भएको बताइरहेका छन्। दया पनि यसलाई नकार्न सक्दैनन्।
'एउटै समुदायबाट फिल्मको कथा उठान गरिएको भएर होला नुमाफुङजस्तो लागेको,' उनले भने।
रामबाबु गुरूङले निर्माण गरेको फिल्म 'जारी' मा दयाहाङ र मिरूनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरूङ लगायतको अभिनय छ।
वैशाख १ गते दयाहाङ राईको अर्को फिल्म 'बिहे पास' पनि प्रदर्शन हुँदैछ। प्रवेश पौडेलले निर्देशन गरेको 'बिहे पास' मा दयाहाङसँगै प्रकृति श्रेष्ठ, रविन्द्र झा, बुद्धि तामाङ, शिशिर वाङ्देल, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाल गौतम लगायतको अभिनय छ।