पछिल्लो समय अभिनेत्री सुरक्षा पन्त निकै व्यस्त छिन्। यही चैत २४ गते उनी अभिनीत फिल्म 'बहाव' प्रदर्शन हुँदैछ भने वैशाख १ गते 'बुलाकी'।
उनी नेपालको पहिलो कविता रियालिटी शो 'द पोइट आइडल' की निर्णायक समेत हुन्। फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा उनी प्रचारप्रसारका लागि दौडधुप गरिरहेकी छन्।
फागुन २५ गते विवाह गरेकी अभिनेत्री सुरक्षाले आफ्नो परिवारलाई राम्रोसँग समय दिन सकेकी छैनन्। उनका श्रीमान मानव सुवेदी पनि कला क्षेत्रमै आबद्ध छन्।
सुरक्षाका श्रीमान मानवले फिल्म 'अन्तराल' र 'चिनी कम रङ कडा' फिल्ममा अभिनय गरेका छन्। उनी यति बेला छोटा फिल्म निर्देशनमा व्यस्त छन्। मानव फिचर फिल्म बनाउन चाहन्छन् भने सुरक्षा अभिनयमा रमाइरहेकी छन्। दुवै जना कला क्षेत्रकै हुँदा काम गर्न सजिलो भएको बताउँछिन् सुरक्षा।
'यदि राम्रो जीवनसाथी भयो भने हरेक काममा सहज हुन्छ। घरको आधाभन्दा धेरै काम अरूले सम्हालिँदा आफ्नो काममा केन्द्रित हुन पाइन्छ। मैले त्यस्तै जीवनसाथी पाएकी छु,' सुरक्षाले भनिन्, 'एक्लै हुँदा घर र पेसागत जीवन सबै आफैंले मिलाउनुपर्ने हुन्छ। सहयात्री भयो भने काम बाँड्न मिल्छ। हामी एकअर्कासँग रचनात्मक सल्लाह पनि मागिरहेका हुन्छौं। मेरो विवाहको राम्रो पक्ष भनेको रचनात्मक संयोजन हो।'
थुप्रै अभिनेत्रीहरू विवाहपछि अभिनयबाट पलायन भएका छन्। तर अभिनेत्री सुरक्षा पन्त यसमा फरक मत राख्छिन्। उनी विवाह गर्यो भन्दैमा आफ्नो काम छोड्न नहुने बताउँछिन्।
'बिहे गरेपछि कामबाट ब्रेक लिन आवश्यक छ। तर आफ्नो काममै असर पुग्ने गरी होइन। आफ्नो जीवनसाथी र नयाँ परिवारका लागि केही समय दिनु आवश्यक हुन्छ। म पनि परिवारलाई समय छुट्याउने प्रयास गरिरहेकी छु। तर काम गर्नै छोड्ने मान्यता राख्दिनँ,' उनले भनिन्।
एक साताको अन्तरालमा दुई फिल्म आउँदा बजारमा असर पर्न सक्छ। तर यसलाई लिएर सुरक्षा खासै चिन्तित छैनन्।
'कलाकारको हिसाबले केही फरक पर्दैन तर निर्मातालाई असर गर्न सक्छ। दर्शकहरूले कुन फिल्मले राम्रो गर्ला भनेर प्रतिस्पर्धाको रूपमा हेर्नुहोला। दुवै फिल्म फरक धारका फिल्म हुन्। एकमा मनोविज्ञानका कुरा समेटिएको छ भने अर्काेमा कर्णाली प्रदेशको जारी प्रथा। दुवै फिल्मलाई दर्शकले रूचाउनु हुन्छ होला,' उनले भनिन्।
प्रमोद कँडेल लिखित तथा निर्देशित फिल्मको विषयवस्तु जिज्ञासा, विचार र यथार्थमा आधारित छ।
फिल्ममा सुरक्षासँगै कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हिरालाल कँडेल, पवन श्रेष्ठ लगायत कलाकारको अभिनय छ।
यो फिल्मबारे सुरक्षा भन्छिन्, 'तपाईं हामी कसरी सोच्छौं, ठीक छ कि छैन भनेर त्यो सोचलाई फर्केर हेर्ने कि भनेर सोच्न बाध्य बनाउने फिल्म हो।'
यो फिल्मको नाम सुरूमा 'ग्रीन बर्ड' राखिएको थियो। फिल्ममा सुगाको मुख्य भूमिका भएकाले यस्तो नाम राखिएको हो।
'फिल्ममा सुगा परिवारकै सदस्यको रूपमा छ। उसको नाम बाबु हो। पिँजडामा राख्दा सुगाको मनोविज्ञान कस्तो हुन्छ, बाहिर निकाल्दा कस्तो हुन्छ, यी सबैलाई प्रतिबिम्ब मानेर सन्ध्या पात्र निर्माण गरिएको हो,' उनले भनिन्, 'फिल्म बनेपछि सोचको बहाव जस्तो देखियो, त्यसैले नाम परिवर्तन गरिएको हो।'
बहावमा सुरक्षाले सन्ध्या पात्रको भूमिका निर्वाह गरेकी छन्। उनी फिल्ममा विद्रोही पात्रको रूपमा प्रस्तुत छिन्।
यस्तै वैशाख १ गते प्रदर्शन हुने फिल्म 'बुलाकी' कर्णाली प्रदेशको जारी प्रथामा आधारित छ। फिल्ममा सुरक्षा केन्द्रीय भूमिकामा छिन्।
लक्ष्मण सुनारले निर्देशन गरेको फिल्म 'बुलाकी' मा सुरक्षासँगै नरेन खड्का, विराज विष्ट, रमेश बुढाथोकी, प्रकाश कँडेल, कुलदीप अधिकारी, सुशील पोखरेल, लक्ष्मी गिरी, सोनु सेढाई, सरस्वती खत्रीलगायत कलाकारको अभिनय छ। कर्णाली प्रदेशमा अझै जारी प्रथा रहेको बताउँछिन् सुरक्षा।
'त्यहाँ फिल्मको छायांकन गर्दा अझै पनि जारी प्रथा कायमै रहेको थाहा पायौं। यो फिल्मले जारी प्रथालाई जरैदेखि हटाउन केही सहयोग गर्छ भन्ने आशा छ,' उनले भनिन्।
पछिल्लो समय फिल्ममा सुदूरपश्चिमको कहानी देखाउँदा महिला पात्रलाई केन्द्रमा राखिन्छ। यस्तो कुरा आफूलाई पनि चित्त नबुझ्ने बताउँछिन् सुरक्षा।
'मैले फिल्मको पात्र छान्न पाउने भए अहिले गरिरहेभन्दा फरक छान्थेँ। महिला केन्द्रित फिल्म बनाउँदा जहिल्यै दुखी पात्रका रूपमा चित्रण गरिन्छ जुन मलाई मनपर्दैन,' उनले भनिन्, 'म महिला केन्द्रित फिल्ममै आकर्षित हुन्छ। हाँसिरहने, खेलाडी, जहाज उडाउन सक्ने, राष्ट्रपति हुनसक्ने महिला वा केही पनि नभएको महिला पनि त हुन सक्छ।'
यी दुवै फिल्म सुरक्षाले लकडाउनको समयमा छायांकन गरेकी हुन्।
'लकडाउनमा मैले कति फिल्ममा अभिनय गरेकी रहेछु भन्ने बल्ल थाहा पाउँदैछु,' उनले भनिन्।
सुरक्षाले फिल्म 'अझै पनि' बाट अभिनयमा डेब्यू गरेकी हुन्। उनले 'गोपी, घर, आमा, के घर के डेरा, धनपति' लगायत फिल्ममा अभिनय गरेकी छन्।
हेर्नुहोस् उनीसँगको कुराकानी भिडिओमाः