भारत, उटीमा बस्ने गौतम सुवर्ण चर्चित उपन्यासकार हुन्। तर उनलाई उनका पाठकले चिन्दैनन्। किनकि उनी 'अनाश्कु' (अनजान) नामबाट उपन्यास लेख्छन्।
आफूलाई पत्रकार भनेर चिनाउने सन्ध्यालाई भने किन हो, ती व्यक्तिलाई चिनेजस्तो लाग्छ। अझ गौतमको पछिल्लो उपन्यासको नाम 'रंगीतरंग' सुनेपछि उनी झनै व्याकुल हुन्छिन्। उनी आफ्ना साथी पाण्डुको सहयोगमा गौतमलाई खोज्न हिँड्छिन्।
सुरूमा उनी गौतमका प्रकाशककहाँ पुग्छिन्। प्रकाशकले गौतमसँग पोस्टबक्समार्फत् मात्र कुराकानी हुने भएकाले आफूले पनि नचिनेको बताउँछन्। सन्ध्या निराश हुन्छिन्। तर उनी झुट बोलेरै भए पनि गौतमको पोस्टबक्स नम्बर फुत्काउन सफल हुन्छिन्।
उता गौतम आफ्नी इन्दुका साथमा सामान्य जीवन बिताइरहेका हुन्छन्। इन्दु गर्भवती हुन्छिन् र प्रायः बिरामी परिरहन्छिन्। गौतमका चिनेजानेकाले इन्दुलाई भेट्न खोजे पनि सकिरहेका हुँदैनन्।
इन्दु र गौतमको जीवन प्रेमिल हुन्छ। गौतमको उपन्यासका लागि इन्दु आवरण चित्र बनाउँछिन्। गौतमलाई इन्दुको साथ र सहयोग प्यारो हुन्छ।
एकदिन इन्दु अचानक भयंकर सपना देखेर तर्सिन्छिन्। सपनामा उनले बारम्बार दुर्घटना भएको देखिरहन्छिन्। उनले यो सपनाबाट मुक्ति पाउन गौतमलाई आफ्नो पुर्ख्यौली घर कामरोत्तु जाऊँ भन्छिन्।
दुवै जना कामारोत्तु पुग्छन्। त्यहाँ पुगेदेखि नै उनीहरूको जीवनमा अचम्मलाग्दा घटना हुन थाल्छन्।
गाउँको घर नपुग्दै जंगलमा गौतम र इन्दु झन्डै ठूलो दुर्घटमा पर्छन्। जंगलमा गोली चल्छ। पानी तान्ने बेला इन्दु इनारमा हुत्तिन्छिन्। उनीहरू बल्लबल्ल आफूलाई जोगाउँछन्।
गौतमको चिनजान एक गाडी चालक र उनको घर सफाइ गर्ने महिलासँग हुन्छ। यी दुवैको व्यवहार असामान्य हुन्छ।
उनले गाउँकै कालिंगा नामक व्यक्तिसँग दोस्ती बढाउँछन्। कालिंगा गाउँमा हुलाक चलाउँछन्। त्यस्तै गाउँकै स्कुलका हेडमास्टर शंकरसँग गौतमको चिनजान हुन्छ। यी दुई जनासँग गौतमले गाउँमा भएका अजिब घटनाबारे सोधपुछ गर्छन्। उनीहरूले गाउँमा चर्चित एउटा कहानी सुनाउँछन्।
गौतमले छानबिन गर्ने क्रममा उनीमाथि एक जनाले गोली चलाउँछन्। उनलाई केही हुँदैन तर आफूलाई नचिन्ने यो गाउँमा कसले आक्रमण गर्यो भनेर उनी झनै अचम्म मान्छन्।
त्यही बेला सन्ध्या गौतमलाई खोज्दै कामारोत्तुसम्म आइपुगेकी हुन्छिन्। उनी कालिंगासँग गौतमबारे सोधपुछ गर्छिन्। तर कालिंगाले जानकारी दिँदैनन्। उनले गौतमलाई उनका बारेमा जानकारी दिने बाचा भने गर्छन्।
गाउँमा पनि इन्दुलाई भयानक सपनाहरूले छाड्दैन। उनी त विपनामै अनेक कुरा देख्न थाल्छिन्। यी अनुभवले उनको जीवन जोखिममा पार्छ। यही क्रममा एकदिन उनी बेपत्ता हुन्छिन्।
गौतम आफ्नी श्रीमती हराएको भन्दै प्रहरीकहाँ पुग्छन्। प्रहरीले खोजबिन गरेर उनलाई जे भन्छन्, त्यो सुनेर गौतम चकित खान्छन्। उनलाई पत्याउनै मुश्किल पर्छ।
यही बेला उनको भेट सन्ध्यासँग हुन्छ। उनीहरूको भेटपछि गौतम र इन्दुको जीवनका यस्ता पाना खुल्छन् जसबारे गौतम आफैं अनभिज्ञ हुन्छन्।
लामो समयदेखि गौतमलाई खोजिरहेकी सन्ध्या आखिर को हुन्?
इन्दु कहाँ गइन्? प्रहरीले गौतमलाई उनका बारेमा के भन्छ? के उनको भेट होला?
गौतममाथि गोली चलाउने को हो? के कालिंगा र शंकरले सुनाएको कथासँग गौतमको जीवनमा भइरहेको घटना जोडिन्छ?
दर्शकको मनमा आउने यी सबै प्रश्नको जवाफ दिन्छ कन्नड फिल्म 'रंगीतरंग' ले।
नामजस्तै यो फिल्ममा अनेक तरंग आउँछन्। यो रहस्यमयी र थ्रिलर फिल्म हो। यसको कथाले दर्शकलाई बाँधेर राख्छ र हरेक मोडमा धुकचुक बनाइराख्छ। फिल्म जति अन्तिमतिर पुग्छ, रहस्यका पाना उति खुल्दै जान्छन्। फिल्मको अन्त्यससम्मै यो क्रम चलिरहन्छ। यसले सुन्दर र प्रभावकारी तरिकाले नाटकीय र अपत्यारिलो कथा भनेको छ।
रंगीतरंग समीक्षकहरूबाट राम्रो प्रतिक्रिया पाउन सफल फिल्म हो। यो कम बजेटको उत्कृष्ट फिल्मका रूपमा दर्ज भएको छ।
अनुप भण्डारीको निर्देशनमा बनेको यो पहिलो फिल्मले डेढ दर्जन अवार्ड जितेको छ। सन् २०१५ मा रिलिज भएको यो फिल्मलाई अस्करमा समेत पठाइएको थियो। छनौट भने भएन।
आज गुड फ्राइडे सिनेमामा हामीले तपाईंहरूलाई यही फिल्म सिफारिस गरेका छौं।