गुड फ्राइडे सिनेमा
आज गुड फ्राइडे सिनेमामा हामीले प्रशान्त रसाइलीको निर्देशनमा बनेको फिल्म 'कथा' सिफारिस गरेका छौं।
यो एक जना बोल्न नसक्ने युवती कुमारी (उषा रजक) र अर्का भकभकाएर बोल्ने युवक कान्छा (सौगात मल्ल) को कथा हो।
कुमारी र कान्छा गहिरो प्रेममा परेका छन्।
यी दुई प्रेमी एक अर्काबाट छुट्टिन चाहँदैनन्। तर बिहे गर्ने पैसा जुटाउन कान्छा चौंरी लिएर हिमालतिर जानुपर्ने परिस्थिति आउँछ। कुमारीलाई फर्केर बिहे गर्ने बाचासहित कान्छा साथी सोनामसँगै हिमालतिर उक्लिन्छन्।
कान्छालाई कुरिरहेकी कुमारीको बिहे अगावै पेटमा बच्चा हुर्कन थाल्छ। यो घटनाले कुमारी उनकी आमा र समाजको नजरबाट तिरस्कृत हुन्छिन्। यो सबै कुराबाट बेखबर कान्छा धेरै टाढा हुन्छन्।
अब यी दुई प्रेमीको भेट कहिले र कस्तो अवस्थामा होला? या, यी दुईको भेटै नहुने अवस्था आउला? यसपछिका घटनाले दर्शकका यस्तै जिज्ञासा मेटाउने छन्।
फिल्ममा सौगात र उषासँगै सोनाम राईले कान्छाका साथीका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। मन छुने कथा, सुन्दर अभिनय र मनै हर्ने सिक्किमको हिमाली गाउँको दृश्यले 'कथा' फिल्म लोभलाग्दो बनेको छ। खास गरी यो फिल्मको कथा न्यारेट गर्ने शैली मीठो छ।
कान्छा र कुमारीको प्रेमजस्तै फिल्ममा कान्छा र सोनामको मित्रताले पनि मन जित्छ।
सन् २०११ मा रिलिज भएको 'कथा' लामो समयसम्म मनमा बास बस्ने खालको फिल्म हो।