सन् असी र नब्बे दशकका नेपाली फिल्म दर्शकको निम्ति तृप्ति नाडकर नौलो नाम होइन।
सन् १९८३ मा शम्भु प्रधानको 'सम्झना' बाट नेपाली फिल्ममा प्रवेश गरेकी तृप्तिले आफ्नो करिअरमा 'कुसुमे रूमाल', 'साइनो', 'लाहुरे', 'कोसेली' जस्ता थुप्रै सुपर-हिट फिल्म दिएकी छन्। उनी अभिनीत तुलसी घिमिरेको 'कुसुमे रूमाल' ले पहिलोपटक लगातार ५१ दिन प्रदर्शन भएर रेकर्ड राखेको थियो।
तृप्तिले पहिलो फिल्म खेलेको ३९ वर्षपछि आज उनका छोरा धिरज नाडकर आमाको पदचिह्न पछ्याउँदै नेपाली फिल्ममा 'डेब्यू' गर्न आएका छन्।
उनी आमाले जस्तै नेपाली फिल्मबाटै करिअर सुरू गर्न चाहन्थे। यही सोचेर करिब दुई वर्षअघि भारतको मुम्बईबाट काठमाडौं आए। त्यति बेला उनको नाममा बाबुको थर 'टोटलानी' जोडिएको थियो। तर जसै उनले नेपाली फिल्ममा काम गर्न थाले, सबभन्दा पहिला आफ्नो नामबाट टोटलानी थर झिके र त्यसको सट्टा नाडकर प्रयोग गरे। उनी मुम्बईमा अहिले पनि धिरज टोटलानी भनेरै चिनिन्छन्।
फरक थर हुँदा दर्शकलाई दुबिधा होला नि भन्ने प्रश्नमा धिरज भन्छन्, 'धेरै कलाकारको वास्तविक नाम र फिल्मी नाम फरक हुन्छ। मेरो नाम त धिरज नै छ, थर मात्र फेर्दा केही फरक पर्लाजस्तो लाग्दैन।'
उनले अगाडि भने, 'नेपाल मेरी आमाको कर्मभूमि हो। मैले उहाँलाई नै समर्पित गर्दै धिरज नाडकर नाम राखेको हुँ। मेरो यो निर्णय सुनेर आमा धेरै खुसी हुनुभयो। मेरो लागि उहाँको खुसीभन्दा ठूलो अरू केही छैन।'
धिरजमा फिल्मप्रति रूचि बढेको आमा तृप्तिकै कारण हो। उनी सानैदेखि आमाको फिल्म हेर्दै हुर्किए। नेपाली भाषा त उनी बुझ्दैन थिए। तर टिभी स्क्रिनमा आमालाई देखेर यसै रमाउँथे।
उनले पहिलोपटक तृप्तिको फिल्म हेरेको 'कुसुमे रूमाल' हो। सबभन्दा मनपरेको चाहिँ 'साइनो'।
आमाको फिल्म हेर्दाहेर्दै अभिनयमा रूचि बढेको र सानैदेखि विज्ञापनहरूमा काम गर्न थालेको उनी बताउँछन्। उनले 'बोर्नभिटा' लगायत विज्ञापनमा खेलेका छन् भने बाल कलाकारका रूपमा 'करिश्माका करिश्मा', 'सोनपरी', 'चमत्कार', 'आविष्कार' जस्ता भारतीय टिभी सिरियलमा अभिनय गरेका छन्।
अभिनयमा धेरै व्यस्त भएर पढाइमा पछि परेको महसुस भएपछि एकदिन धिरजले अभिनय यात्रा स्थगन गर्ने निर्णय गरे र पढाइमा मात्र केन्द्रित भए।
पढाइलाई निरन्तरता दिँदै गर्दा उनलाई डाक्टर, इञ्जिनियर वा पाइटल बन्ने रहर जाग्यो। यसको निम्ति उनले विज्ञान पढे। स्नातक सकिनै लाग्दा फेरि कला क्षेत्रले तान्न थालेको उनी बताउँछन्।
'क्यामरा अगाडि उभिँदा मैले जति सन्तुष्टि पाएको थिएँँ, त्यो अन्त पाइनँ,' उनले भने।
पढाइ सकेर फेरि अभिनयमै फर्किएका धिरज केही छोटा फिल्म, टिभी सिरियल, वेबसिरिज र विज्ञापनमा काम गरिरहेका छन्। उनले 'पिनट बटर', 'ह्याप्पी एनिभर्सरी', 'डेट गन रङ', 'भर्जिन ह्युमन डायरिज', 'क्रिमिनल जस्टिस', 'तेरा छलावा' लगायतमा अभिनय गरेका छन्। केही बलिउड फिल्मका लागि अडिसन पनि दिइरहेका छन्।
अभिनय यात्राको आफ्नो दोस्रो इनिङमा करिअरलाई गम्भीर रूपमा लिएका धिरजको पहिलो फिचर फिल्म 'बाबरी' हो।
सुरूमा यो फिल्म तृप्तिलाई अफर गरिएको थियो। तृप्तिले आफू फिल्ममा काम नगर्ने भन्दै छोरालाई रूचि भएको जवाफ दिइन्। धिरजलाई नेपाली फिल्ममा काम गर्ने मन त थियो तर भाषा नआउने भएकाले उनी डराइरहेका थिए। आमा सजिलै नेपाली बोल्ने भए पनि घरमा हिन्दी बोल्दै हुर्केकाले धिरजलाई नेपाली बोल्न समस्या छ।
तृप्तिले भनिन्, 'चिन्ता नगर, म छु। तिमीले आफूलाई स्वाभाविक रूपमा प्रस्तुत गर्नू।'
आमाको हौसलाले धिरजको आत्मविश्वास बढ्यो।
सुरेन्द्र पौडेलले निर्देशन गरेको 'बाबरी' मा उनले भारतीय पात्र रोनिशको भूमिका गरेकाले यसपालि भाषामा धेरै मेहनत गर्नुपरेन। सिक्ने अवसर भने खुब पाएको उनी बताउँछन्।
'राम्ररी नजानेको भाषामा फिल्म खेल्न चुनौती त हुन्छ तर यसले अभिनयमा सुधार ल्याउँछ,' उनले भने, 'यसलाई मैले चुनौतीभन्दा अवसरकै रूपमा लिएँ। मलाई यहाँको भाषा निकै मिठो लाग्यो। फिल्मको छायांकन चिसो ठाउँमा भएकाले त्यो चाहिँ अलि असहज भयो।'
कुनै समय पाइलट बन्ने सपना देखेका धिरजलाई आखिरमा यो अवसर पनि फिल्मले दिएको छ। बाबरीमा उनले पाइलटको भूमिका गरेका छन्। उनी अब जहाजमा होइन, कला क्षेत्रमा अभिनयको उडान भर्न चाहन्छन्। यसका लागि पछिल्लो समय थुप्रै नेपाली फिल्म हेरिरहेका छन्।
'मलाई एउटा फिल्ममा मात्र सीमित हुनु छैन,' उनले भने, 'नेपाली फिल्ममा काम गर्न मैले धेरै मेहनत गर्नुपर्छ भन्ने थाहा छ तर म त्यसका लागि तयार छु।'
उनले अगाडि भने, 'यो फिल्मपछि मलाई फरक-फरक भूमिकामा अभिनय गर्न मन छ।'
अभिनेत्री तृप्ति नाडकरले नेपाली फिल्ममा आफ्नो छुट्टै परिचय बनाएकी छन्। उनको छोरा भएको नाताले आफूले पनि नेपालमा राम्रो स्वागत पाएको उनी बताउँछन्।
धिरजको पहिलो फिल्म 'बाबरी' हालै रिलिज भयो।
आमा फिल्म हेर्न आतुर भएको बताउँदै उनले भने, 'उहाँ ट्रेलर हेरेर छक्क पर्नु भएको थियो।'