सुजित बिडारीले लेखन तथा निर्देशन गरेको फिल्म 'ऐना झ्यालको पुतलीको गीत सार्वजनिक भएको छ।
फिल्मको 'मेरो गाउँ ज्यामिरे' बोलको बाल गीत सार्वजनिक गरिएको हो।
रामबाबु सुवेदीको शब्द रचना रहेको गीतमा रामेश श्रेष्ठको संगीत रहेको छ। गीतमा टेम्दो छिरिङ, अङ्गमु लामा र स्वर्णिम स्कुलका विद्यार्थीहरूले स्वर दिएका छन्।
रामबाबु सुवेदीले यो गीत २०४० सालमा रचना गरेका थिए। २०४२ सालमा रामेश श्रेष्ठले यसको संगीत भरेका थिए। रेडियो नेपाल तथा एफएममा बज्दै आएको बाल गीतलाई निर्माण टिमले फिल्मको ओरिजिनल साउन्ड ट्रयाक (ओएसटी)को रूपमा सार्वजनिक गरेको हो।
रचनाकार रामबाबु सुवेदीले आफूले गीतमा कल्पना गरेजस्तै फिल्मको कथा पनि दुरुस्त रहेकाले गीत प्रयोगका लागि अनुमति दिएको बताए।
'मैले फिल्म पनि हेरेँ। गाउँले परिवेश र शिक्षाको महत्वको विषयमा असाध्यै राम्रो फिल्म बनेको रहेछ। मैले त ज्यादाभन्दा ज्यादा केटाकेटीले गीत सुनुन् भनेर बनाएको हो। अब फिल्ममा आएपछि त्यो झन् धेरै साना नानीबीच पुग्छ,' उनले भने, 'यो गीतले पनि शिक्षाको कुरा गर्छ र फिल्मले पनि। हाम्रो उद्देश्य पनि मिल्यो।'
निर्देशक बिडारीले गीत आफूले कलेज पढ्दाको समयमा सुनेको भए पनि गीतले नोस्टाल्जिक बनाएकाले फिल्ममा पनि यही कारणले प्रयोग गर्ने निर्णय गरेको बताए।
'यो गीत मैले सानोमा सुनेको पनि थिएँ होला तर कलेज पढ्दा ख्याल गरेको थिएँ। यतिबेला सुन्दा पनि म नोस्टाल्जिक बनेको थिएँ। अहिले यो फिल्ममा गीत राख्ने कारण हाम्रो यही नोस्टाल्जिया फर्काउने हो। किनकि यो फिल्म नै एक प्रकारको हाम्रो नोस्टाल्जिया हो,' उनले भने।
बुसान, ढाका, फ्रीबर्गलगायत थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको तथा पुरस्कृत भएको फिल्मले सुदूर पहाडको ज्यामिरे गाउँको एक परिवारको कथालाई देखाइएकाे छ।
आकाश पौडेल, रामकृष्ण पोखरेल, प्रविन स्याङ्बो र निर्देशक बिडारीको लगानी रहेको फिल्ममा कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायत कलाकारको अभिनय छ। यो फिल्म भदौ २४ गतेदेखि प्रदर्शन हुँदैछ।