अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ लामो समयदेखि प्रेम सम्बन्धमा छन्। आफूहरू प्रेम सम्बन्धमा रहेको जानकारी उनीहरूले सार्वजनिक रूपमै दिएका छन्।
सौगात र सृष्टि अभिनित फिल्महरू पनि चाँडै रिलिज हुँदैछन्। 'माइकल अधिकारी' भदौ ३ गतेदेखि प्रदर्शन हुँदैछ भने भदौ १० गते 'राधा' प्रदर्शन हुँदैछ।
एकैसाथ दुई फिल्म आउँदा यसको बजारमा असर पर्न सक्छ। तर यसलाई लिएर उनीहरू खासै चिन्तित छैनन्।
सौगात भन्छन्, 'कोरोना महामारीको कारण धेरै फिल्म प्रदर्शन हुन बाँकी छ। त्यसैले हाम्रा दुइटा फिल्म एक साताको अन्तरालमा प्रदर्शन हुने भयो। तर दुवै फिल्मले राम्रो प्रस्तुति गर्छ भन्ने विश्वास छ।'
सृष्टि भने केही समयको अन्तरालमा फिल्म प्रदर्शन भएको भए राम्रो हुने बताउँछिन्। तर विकल्प नभएकाले चित्त बुझाएकी छन्।
'कम्तीमा दुई-तीन हप्ताको अन्तरालमा प्रदर्शन भएको भए राम्रो हुन्थ्यो। तर निर्माण टिमले धेरै प्रयास गर्दा पनि सम्भव भएन,' उनले भनिन्।
माइकल अधिकारी पैसाको प्रलोभनमा परी 'सेरोगेसी' अर्थात् कोख भाडामा दिएर बच्चा जन्माउने दम्पतीको कथा हो।
यो फिल्मबारे सृष्टि भन्छिन्, 'यो फिल्म हेर्दा दिमाग लगाउनु पर्दैन। दर्शकले फिल्म हेरून्जेल रमाइलो महसुस गर्नु हुनेछ।'
सरोगेसीकै विषयमा बलिउड फिल्म 'मिमी' प्रदर्शन भइसकेको छ। धेरैले 'मिमी' बाट प्रभावित हो कि भनेर पनि सोधेका छन्। सौगात भने 'मिमी' भन्दा अगाडि नै आफूहरूले फिल्म बनाइसकेको बताउँछन्।
'माइकल अधिकारीको डबिङ गरिसकेपछि हामीले मिमीको ट्रेलर हेर्न पाएका थियौं,' उनले भने, 'ट्रेलर हेरिसकेपछि ए हाम्रोजस्तै फिल्म आउन लागेछ भन्ने लाग्यो।'
कोरोना महामारीका कारण 'माइकल अधिकारी' रोकियो तर बलिउड फिल्म 'मिमी' ओटिटीमा रिलिज भयो। यो फिल्मबाट बलिउड अभिनेत्री कृति सेननले राष्ट्रिय अवार्ड समेत जितिसकेकी छन्।
सर्वाधिक चर्चा पाएको फिल्मसँग विषयवस्तु मिल्ने भए पनि 'माइकल अधिकारी' मा नेपाली स्वाद पाउने सौगात र सृष्टि बताउँछन्। रन्जित रौनियारले निर्देशन गरेको फिल्म 'माइकल अधिकारी' मा सृष्टि र सौगातसँगै अशान्त शर्मा, लुनिभा तुलाधर, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, जेमिमा टम्स, दिलिप बोहोरा, केन्द्र भट्टराई, आर्या पौडेल, केभिन परियार लगायत कलाकारको अभिनय छ।
त्यस्तै, फिल्म 'राधा' बाट अभिनेता सौगात मल्लले निर्माणमा हात हालेका छन्। सुरूमा उनी अभिनेताका रूपमा मात्रै अनुबन्धित भएका थिए। निर्माताले फिल्मबाट हात झिकेपछि उनी अचानक निर्माता बन्न पुगेका हुन्।
निर्माता भएपछि थप जिम्मेवारी आएको सौगात बताउँछन्।
'निर्माता हुँदा धेरै नयाँ कुरा थाहा हुँदो रहेछ। पहिला टाढाबाट कुराकानी भइरहेका साथीभाइसँग भेटघाट बढ्ने रहेछ। आफूले नगरेको काम भएर गाह्रो पनि भयो। तर राधाबाट धेरै कुरा सिक्ने अवसर पाएँ,' उनले भने।
'राधा' मा सृष्टिले बेपत्ता श्रीमानको खोजीमा रहेकी पात्रको भूमिका निर्वाह गरेकी छन्। सुवर्ण थापाले निर्देशन गरेको 'राधा' मा सृष्टि र सौगातसँगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, बुद्धि तामाङ, पशुपति राई, पुष्कर गुरुङ लगायत कलाकारको अभिनय छ।
सृष्टि र सौगातका यिनै दुई फिल्म र उनीहरूको प्रेम सम्बन्धबारे हामीले भिडिओ कुराकानी गरेका छौं।
हेर्नुहोस् भिडिओः