सानो बेलादेखि नै कमेडी तथा क्यारिकेचर गर्न रूचाउँथे बेगम नेपाली। २०६४/६५ सालतिर प्युठानमा रेडियो सञ्चालनमा आएपछि उनले कमेडी कार्यक्रम चलाउने निर्णय गरे।
त्यो बेला उनी सात कक्षामा पढ्दै थिए। कार्यक्रम चलाउन स्कुलबाट भागेर जान्थे। स्कुल र घरमा आफूले कार्यक्रम चलाउने कुरा थाहा नदिन उनले रेडियोमा नाम फेर्ने सोचे।
त्यति बेला 'ए बाउ, किन्देऊ न भट्भटे' बोलको गीत चर्चित थियो। त्यसमाथि रेडियोमा प्राविधिक कमी कमजोरीले भट्भट् आवाज आउँथ्यो। उनले पनि रेडियोमा आफूलाई 'भट्भटे' माइला भनेर चिनाए।
घरमा कसैले थाहा नपाऊन् भनेर जुराएको नामले साथ दिएन। घर र स्कुलमा मात्र नभई प्युठानबासी सबैले नै उनलाई चिनिहाले। योसँगै उनले आफ्नो ठाउँमा चर्चा कमाए।
केही समयपछि बेगम आफ्नो रहर पूरा गर्न काठमाडौं आए। उनले हास्य टेलिशृंखला 'मेरी बास्सै' मा काम गर्ने अवसर पाए।
'काठमाडौं आएपछि धुर्मुस दाइ (सीताराम कट्टेल) ले अर्कै नाम दिनुभएको थियो। तर मैले उहाँलाई दाइ मलाई प्युठानमा भट्भटे माइलाको नामले चिन्छन् भनेँ। उहाँले भट्भटे नै राखौं भन्नुभयो र त्यही नाम रह्यो,' बेगमले भने।
मेरी बास्सैमा काम गर्दागर्दै बेगमले आफैं हास्य सिरियल बनाउने योजना बनाए। त्यति बेला रियाशा दाहाल पनि मेरी बास्सैमा काम गरिरहेकी थिइन्।
रियाशा र बेगमबीच राम्रो सम्बन्ध कायम भइसकेको थियो। तर मेरी बास्सैमा काम गरिरहेकी रियाशालाई नयाँ सिरियलमा सहकार्य गर्न प्रस्ताव राखौं कि नराखौं भनेर दुविधामा थिए बेगम। विस्तारै म्युजिक भिडिओमा व्यस्तता बढेपछि रियाशाले मेरी बास्सै छोडिन्।
यसबीच बेगमले नयाँ सिरियल 'गाह्रो छ हो' ल्याए। उनले रियाशालाई अतिथि भूमिकामा काम गर्न प्रस्ताव राखे। रियाशाले पनि उनको प्रस्ताव सहजै स्वीकार गरिन्।
एक भाग भनेर तीन भागसम्म रियाशालाई खेलाएको बेगम बताउँछन्।
'रियाशालाई एक भाग भनेर तीन भागसम्म खेलाएको थिएँ। यो कुरामा उनी रिसाइन् पनि। पछि मैले उनलाई सहकार्यमा काम गर्न प्रस्ताव राखेँ,' उनले भने।
म्युजिक भिडिओको व्यस्तताले सिरियलमा समय दिन नसक्ने भन्दै रियाशा टाढिएकी थिइन्। उनले आफूलाई प्रस्ताव गरेको भूमिकामा साथीलाई पठाउने निर्णय गरिन्।
छायांकनमा जाने अघिल्लो दिन साथीले नगर्ने भनेपछि सिरियलको जिम्मेवारी रियाशाकै काँधमा आयो।
'मलाई दाइसँग काम गर्न मन थियो। म्युजिक भिडिओमा काम पाइरहेको भएर समय दिन सक्दिनँ कि भन्ने थियो। त्यसैले मैले मेरो साथीलाई पठाइदिन्छु भनेकी थिएँ। तर साथीले धोका दिइन्। त्यसपछि मैले मै आउँछु भनेँ,' उनले भनिन्, 'मान्छेहरू रिसमा लिएको निर्णय गलत हुन्छ भन्छन्। तर मेरा लागि राम्रो भयो।'
कार्यक्रममा धनी बाबुकी छुच्ची छोरी रियाशा र गरिब सोझो श्रीमानको भूमिकामा बेगमलाई दर्शकले एकदमै रूचाइरहेका छन्। पर्दामा मात्र नभइ पर्दापछि पनि उनीहरूको सहकार्य बलियो हुँदै गएको छ।
पहिले रियाशा र बेगमले सिरियलका लागि स्क्रिप्ट तयार गर्थे। सय भाग नाघेपछि बेगमले मात्रै स्क्रिप्ट लेखिरहेका छन् भने रियाशाले मनराज श्रेष्ठलाई निर्देशनमा सघाइरहेकी छन्।
यिनै रियाशा र बेगमसँग हामीले 'गाह्रो छ हो' मा कसरी सहकार्य जुर्यो, सहकार्य कस्तो भइरहेको छ भन्ने विषयमा भिडिओ कुराकानी गरेका छौंः