ग्ल्यामर दुनियाँले धेरै व्यक्तिलाई आकर्षित गर्छ। मोरङका नुतन श्रेष्ठ पनि सानैदेखि यो दुनियाँमा आकर्षित थिए।
उनी टेलिभिजनमा मोडलिङबारे कार्यक्रम र सामग्रीहरू हेर्न निकै उत्साहित हुन्थे। मध्यम वर्गीय परिवारमा हुर्किएका हुन् उनी। सुरूसुरूमा परिवारका लागि उनको रूचि नौलो थियो। त्यसैले आफ्नो इच्छा खुलेर भन्न सकेनन्।
सन् २०१६ मा उनले मोडलिङ क्षेत्रमा प्रवेश गर्ने योजना बनाए। मिस्टर नेपालमै जाने सोच थिएन, यस्तै प्रकृतिको कुनै प्रतियोगितामा जाने मनस्थिति बनाए।
'तर त्यो बेला म शारीरिक र मानसिक दुवै रूपमा तयार थिइनँ,' सेतोपाटीसँग कुरा गर्दै नुतनले भने, 'त्यसैले मनको रहर मन मै रह्यो।'
उनी घरका जेठा छोरा। घरमा आर्थिक समस्या हुन थालेपछि पढाइ र जिम्मेवारीले थिच्दै गयो।
'जेठो भएपछि घरका समस्या आफ्नै काँधमा आउने रहेछ। नजरअन्दाज गर्न नसकिने। स्नातक पढ्दापढ्दै काम सुरू गरेँ,' उनले भने।
उनले स्थानीय लिटल-फ्लावर स्कुलमा पढाउन थाले। सुकुना एजुकेसन फाउन्डेसनमा ट्युसन पनि पढाए। यति गर्दा पनि उनको आर्थिक स्थितिमा खास सुधार भएन। त्यसपछि उनी राति होटलमा काम गर्न थाले। स्कुल र होटल गर्दागर्दै पनि उनले आफ्नो मोडलिङको रहर भुलेका थिएनन्।
उनलाई लाग्थ्यो, 'उमेरसँगै मान्छेको इच्छा परिवर्तन हुँदै जान्छ। मेरो पनि इच्छाहरू परिवर्तन होलान्।'
त्यसपछि उनले बैंकिङ क्षेत्रमा भविष्य बनाउने सोचे। विभिन्न बैंकहरूमा आवेदन दिए। छानिएनन्। पछि स्नातकोत्तर पढ्दै गर्दा उनले 'मिस्टर नेपाल' को आवेदन खुलेको थाहा पाए। आवेदन दिए।
मोडलिङमा जाने सोच बनाएपछि शारीरिक बनावटका लागि जिम जान थाले। मानसिक रूपमा तयार हुन मोडलिङ क्षेत्रमा के कस्ता चिज हुँदो रहेछ भनेर युट्युब र गुगलमा खोतल्न थाले। तयारी लगभग भयो। मिस्टर नेपालका लागि काठमाडौं आउने समय पनि आइपुग्नै लागेको थियो। त्यही बेला उनलाई एउटा बैंकले जागिरका लागि बोलायो।
'मैले बैंकको जागिर स्वीकार गर्न सकिनँ। मिस्टर नेपालमा जाने नै मन बनाइसकेको थिएँ,' उनले भने, 'अनि यही क्षेत्र रोजेँ।'
काठमाडौं आएर उनी एक होस्टलमा बस्न थाले। मिस्टर नेपालमा सहभागी भए, विजेता पनि।
'जितेपछि त मलाई विश्वास गर्नै मुश्किल भयो। मिस्टर नेपाल वर्ल्डको उपाधि जित्दा मेरो सपना पूरा भयो। दुःख गरेअनुसार फल पाएँ भन्ने लाग्यो,' उनी भन्छन्, 'मलाई त्यति बेला परिवारको एकदमै याद आइरहेको थियो।'
मिस्टर नेपालको फाइनलमा उनको परिवारबाट दाइ र बहिनी मात्र उपस्थित थिए। उनले स्टेजबाट बहिनीलाई घरमा फोन गर्न इसारा गरे। घरमा आमाबुबा कार्यक्रम टिभीमा लाइभ हेरिरहेका थिए। त्यसैले जानकारी पाइसकेका थिए। छोराले मिस्टर नेपालको उपाधि जित्दा आमाबुबाको खुसी स्वरमै झल्किरहेको थियो।
यो क्षेत्रमा अगाडि बढ्न यो जित मात्रै काफी नभएको उनी बताउँछन्। उनी यो क्षेत्रमा काम गर्न चाहन्छन्। सौन्दर्य प्रतियोगिता मर्यादित बनाउन राम्रा कुरालाई प्रोत्साहन र नराम्रालाई सुधार्न चाहन्छन्। आफूलाई पनि निर्खार्दै लैजान चाहन्छन्।
उनले भने, 'म आफूलाई पनि विकास गर्दै लैजाँदै छु। अभिनय सिकिरहेको छु। तर मैले फिल्म खेल्नै भनेर अभिनय सिकेको होइन। यही क्षेत्रमा निरन्तरता दिँदा रूचि बढ्दै गयो भने फिल्ममा पनि देखिन्छु होला!'
अब उनको लक्ष्य भनेको मिस्टर वर्ल्डको उपाधि जित्नु हो।
'मिस्टर वर्ल्डका लागि के सामान लैजाने भन्ने तयारी भइसक्यो। तर आफूभित्र के लैजाने भनेर आफूमा निखारता ल्याइरहेको छु। मैले राम्रो गर्न सक्छु भन्ने विश्वास छ,' उनले भने।
मिस्टर नेपालभन्दा मिस नेपालको क्रेज धरै छ। मिस नेपालको जस्तो क्रेज बनाउन नसक्नुमा केटाहरूको मेहनत नपुगेको बताउँछन् नुतन।
'कति जनालाई त मिस्टर नेपाल भन्ने नै थाहा छैन। केटा मान्छेहरूको मेहनत नपुगेर मिस्टर नेपालको पहिचान बन्न नसकेको होला। केटीहरूले एसइई दिएदेखि मिस नेपालको तयारी गरिरहेका हुन्छन्। यो क्षेत्रमा खासै पैसा नहुने भएकाले केटाहरू त्यति आर्कषित हुँदैनन्। केटाहरू पढाइ सक्ने र काम गर्ने तिर लाग्छन्,' उनले भने।
ग्ल्यामर क्षेत्रमा भविष्य खोज्ने केटाहरू एकदमै कम छन्। त्यस्तै केटाहरूले कुनै सौन्दर्य प्रतियोगिता जिते पनि अवसर कम पाउने डर रहन्छ। तर नुतन मिस्टर वर्ल्डमा जान पाउनु नै आफ्नो ठूलो अवसरका रूपमा लिन्छन्।
'नेपाललाई प्रतिनिधित्व गरेर मिस्टर वर्ल्डमा जान पाउनु नै ठूलो अवसर हो। यसमा चुनौती छ। तर नेपाललाई प्रतिनिधित्व गर्न पाउँदा गर्व महसुस गरेको छु,' उनले भने।
उनी शारीरिक सुन्दरतालाई भन्दा पनि मानसिक र व्यक्तिगत सुन्दरतालाई प्राथमिकता दिने बताउँछन्।