गुड फ्राइडे सिनेमा
इरानी फिल्मको चर्चामा माजिद मजिदीको नाम अग्रपंक्तिमा आउँछ। समाजको औसत लाग्ने परिवेशमा टेकेर जीवनबोध गराउने सिनेमा बनाउने यी निर्देशकले विश्वभरका दर्शक लठ्याएका छन्।
आज हामी 'बरान' को चर्चा गर्दैछौं। फिल्मको संक्षिप्त कथा यस्तो छ-
१७ वर्षीया किशोर लतिफ निर्माण साइटमा काम गर्छन्। त्यहीँ काम गर्ने अफगानी शरणार्थी नजाफ घाइते भएपछि उनका किशोर छोरा रहमत बुवाको ठाउँमा काम गर्न आउँछन्। भारी बोक्ने कामका लागि निकै सानो भएकाले उनलाई चिया पुर्याउने काममा राखिन्छ।
आफूले काम गर्ने ठाउँका मानिससँग चिढिने र झगडा गर्ने स्वभावका लतिफको रहमतसँग पनि व्यवहार जम्दैन। लतिफ रहमतलाई बाधा पुर्याइराख्छन्। रहमतको भान्साकोठा बिगार्दिनेसम्मको हरकत गर्ने लतिफको व्यवहार एकाएक बदलिन्छ जब उनले रहमत केटा नभएर केटी हो भन्ने थाहा पाउँछन्।
झर्कोफर्को गर्ने लतिफको व्यवहारमा अब प्रेम झल्किन थाल्छ। बरानको केन्द्रमा यही प्रेमको कथा छ। प्रेमकथा भए पनि फिल्मको 'ब्याकड्रप' मा युद्ध र हिंसाबाट विस्थापित अफगानी शरणार्थीका दुर्दशाको व्यथा छ।
माजिदीका फिल्ममा दैनिक जीवनका सूक्ष्म क्षण कैद हुन्छन्। यसमा उनले अफगानी मजदुरहरूको जीवनको कठोरता र करुणा अटाएका छन्। रहमतलाई लतिफले सहयोग गर्न गरेको संघर्षको कथा बुनेर अफगानी नागरिकको दुर्दशा देखाइएको छ।
संसारभरका शरणार्थीजस्तै अफगानी शरणार्थी पनि कम ज्यालाका लागि जोखिमपूर्ण काम गर्न बाध्य छन्। पराई भूमिमा विभेदपूर्ण परिस्थिति सामना गरिरहेका छन्। उनीहरूको आफ्नै देश फिर्ता पठाइने खतरासँग जुधिरहेका छन्।
यो फिल्ममा शरणार्थी जीवनको प्रतिरोधले दर्शक मनलाई स्पर्श गर्छ। वास्तविक जीवन महशुस गराउन फिल्ममा गैरव्यावसायिक कलाकारलाई अभिनय गराइएको छ। लतिफको निर्दोष प्रेम र रहमतको माैनले मन जित्छ। एकातिर निर्वासित पात्रहरूको भय र अर्कातिर किशोयवय मनको चञ्चलता फिल्ममा सन्तुलित रूपमा आएको छ।
'बरान' मन परे माजिदीका 'चिल्ड्रेन्स अफ हेभन' र 'सङ्स अफ स्प्यारोज' पनि हेर्न नछुटाउनु होला।