सिनेमा हलमा ८ वर्षपछि अभिनेता राजेश हमालको फिल्म प्रदर्शनमा आएको छ।
उनको कमब्याक फिल्म 'नरसिंहा अवतार' शुक्रबारदेखि देशभरका हलमा प्रदर्शनमा आएको हो। सन २०१६ मा रिलिज 'सकुन्तला' यता कुनै फिल्ममा काम नगरेका राजेश वर्षौपछि सिनेमाको पर्दामा फर्किएका हुन्।
प्रेम, परिवार र बदलाको कथामा बनेको फिल्ममा राजेश एक्सन अवतारमा छन्।
दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेशसहित नीति शाह, राज कटुवाल, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकारलगायत कलाकारहरूको अभिनय छ।
चन्द्र पन्तको कथा रहेको फिल्मको निर्माता नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपाने हुन्।
गीत र ट्रेलरबाट राम्रो हाइप बनाएको यो फिल्मले हलमा दर्शकको साथ पाउने विश्वास निर्माणपक्षको छ।
राजेशको कमब्याक फिल्म भएकाले पनि 'नरसिंहा अवतार' लाई थप चासोका साथ हेरिएको छ।