सानैदेखि सुजन चापागाईं खुला आँखाले हजारौं स्रोतासामु भव्य हलमा गीत गाइरहेको सपना देख्थे। धेरै भिडको कन्सर्टमा गाउने अनुभव सँगाल्न बाँकी भए पनि उनलाई मन पराउने स्रोता संख्या दिनहुँ बढिरहेको छ।
उनका 'तीनपाते' र 'गाला पुक्क' यो वर्षकै असाध्यै रूचाइएका गीत हुन्। दुवै गीतका गायक तथा संगीतकार सुजन आफैं हुन्, तर दुवैको संगीत र गाउने शैली फरक छ। लोक आधुनिक शैलीको 'तीनपाते' र पप शैलीको 'गाला पुक्क'का स्रोता पनि सम्भवतः फरक छन्।
हालै सुजनले तेस्रो गीत सार्वजनिक गरेका छन्, 'लजाएर'। दुई साताअघि सार्वजनिक लजाएरले युट्युबमा छ लाख भ्युज कटाइसकेको छ।
लजाएर सुजनको पुरानै कम्पोजिसन हो। यही गीत पहिले अंकित अमरू श्रेष्ठको आवाजमा रेकर्ड भइसकेको थियो, भिडिओ थिएन। हाल सुजनले आफ्नै आवाजमा भिडिओसहित गीत सार्वजनिक गरेका हुन्।
लगातार हिट गीत दिएका सुजनसँग हाम्रो भेट आर्टमान्डु, कालिकास्थानमा भयो। त्यहीँ उनले आफ्नो सफलताको खुसी साटे, 'संगीतमा आफूलाई स्थापित गर्ने सपना थियो। थोरै गीतबाटै धेरै माया पाएँ, उत्साह बढेको छ।'
सुजनले घर र स्कुलको वातावरणमा आफ्नो संगीत यात्राको जग हालेका हुन्। चितवन, भरतपुरमा हुर्केका उनले आफ्नी आमाको संगतमा लोकदोहोरी तथा प्रगतिशील गीतहरू सिक्ने मौका पाए। पाँच कक्षा पढ्दा पहिलो पटक स्कुलको स्टेज टेकेका सुजन त्यसपछि बाल्मिकी शिक्षा सदन स्कुलका प्रतिस्पर्धामा सहभागी हुन थाले।
सुजनले मीठो गाउँछ भन्ने चर्चा विद्यालयबाट टोलमा फैलियो। उनी सांस्कृतिक मेला-महोत्सवमा गाउन थाले। २०७२ सालमा चितवन आइडलमा दोस्रो भएपछि संगीतमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको उनी बताउँछन्।
सानैदेखि राग, आलापहरू मनपराउने उनमा शास्त्रीय संगीत सिके जस्तोसुकै गीत गाउन सकिने छाप परेको थियो। त्यसैले एसएलसीपछि नारायणघाट बजारमा बद्री शर्मासँग कक्षा लिए। तर उनको खास रहर काठमाडौं आएर संगीत सिक्नु थियो।
विज्ञानका विद्यार्थी उनी। प्लस-टुमा ब्याक लागेपछि चार महिना काठमाडौंमा बिताउन पर्ने भयो। काठमाडौंमा संयोगवश उनका भान्दाइको घरको अर्को फ्ल्याटमा शास्त्रीय संगीत गुरु चण्डीप्रसाद काफ्ले बस्थे। उनले फुर्सदका चार महिना गुरु काफ्लेसँग कक्षा लिएर सदुपयोग गरे।
ग्वालियर घरानाका गुरु काफ्ले बिहानैदेखि कक्षा लिन्थे। पहिलो वर्षका विद्यार्थीबाट सुरू गरेर दोस्रो र तेस्रो वर्षका विद्यार्थीलाई सिकाउँथे। सुजन पहिलो वर्षका विद्यार्थी भए पनि उनी दोस्रो वर्षको कक्षामा पनि बस्न थाले।
'मैले सक्ने रहेछु भन्ने भएपछि गुरुले दुवै कक्षामा बसे हुन्छ भन्नुभयो,' उनले भने, 'एक तह माथि गर्दैगर्दै सबै कक्षा लिने अनुमति पाएँ।'
गुरुको विश्वास जितेपछि सुजन १२ देखि ५ बजेभित्र ३ वटा कक्षा लिन थाले। दैनिक कम्तीमा चार घन्टा संगीत सिक्न पाउँदा सुजनको मनमा काठमाडौं बस्न पाए हुन्थ्यो भन्ने थियो, 'तर चार महिना चार दिन जसरी बित्यो। दुःखी मन लिएर चितवन फर्कनुपर्यो।'
धेरै मानिस पढाइको चाहना र बहानामा काठमाडौं आउँछन्। तर सुजनका लागि यो बहाना बन्न सकिरहेको थिएन। उनले भने, 'घर सल्लाहअनुसार प्लस-टु सकेर उनी कृषि पढ्ने तयारी भइरहेको थियो। यो विषय पढाइका लागि चितवन नै राम्रो मानिन्छ।'
तर उनले साथीहरू बाहेक गुरु काफ्लेबाट समेत प्रशंसा पाएका थिए। उनमा संगीत कक्षाको रस पसिसकेको थियो। त्यो सम्झनाले उनलाई चितवन छोड्न उक्साइरह्यो।
'काठमाडौं त आउनैपर्यो, तर कसरी आउने?,' उनले भने, 'घरमा जसोतसो स्कलरशीपमा नाम निकालेर बिबिए पढ्छु भनेर मनाएँ।'
संगीतसँग जोडिएका सपनाले उत्प्रेरणाको काम गर्यो। उनले छात्रवृत्तिमा नाम निकाले। काठमाडौंको एस कलेजमा पढ्दै उनले फेरि पुरानै संगीत कक्षा सुरू गरे।
शास्त्रीय ज्ञानले स्वर माझ्न केही वर्ष बिताएपछि सुजनलाई अब चाहिँ गीत रेकर्ड गर्नुपर्छ भन्ने भयो। हाल आफूले पाएको सफलतामा यो सिकाइको महत्व रहेको बताउँछन् उनी। तर संगीत सिकेर मात्र सबै राम्रो गायक बन्न सक्दैनन्। यसमा संगत, समय र संयोगको भूमिका उत्तिकै हुन्छ।
चितवन छँदा सुजनले जुनकिरी संगीत कन्सर्ट संयोजनको जिम्मा पाएका थिए। त्यहीबेला उनले गायिका विद्या तिवारीलाई भेटे। विद्यासँगको त्यो भेट सुजन र 'तीनपाते' भिडिओ निर्देशक नवीन चौहानलाई जोड्ने माध्यम बन्यो।
त्यहीबेला सुजनको लजाएर गीत सुनेर नवीन प्रभावित भएका रहेछन्, 'तीनपातेमा म, विद्या दिदी र नवीन दाइ जोडिने पृष्ठभूमि यही थियो।'
तीनपाते जति सुजन र विद्याको गीत हो, त्यति नै यसका निर्देशक नवीनको पनि हो। तीनपातेमा पूर्वेली परिवेशको कथा र भाका छ। सुजनले भने, 'पूर्वी नेपालको भाका र जीवनशैलीबारे मेरो ज्ञान थिएन। नवीन दाइले दिएका गीत सुनेर, भिडिओ हेरेर तीनपातेको संगीत बनाएको थिएँ।'
नवीनको कथात्मक भिडिओ तीनपातेले सुजनलाई संगीत क्षेत्रमा पहिलो गीतबाटै स्थापित गरिदियो। दोस्रो गीत सहरी परिवेशका युवा स्रोताले मन पराउने शैली रोजे। पुक्क गाला गीतमा धेरै अपेक्षा नराखी कम बजेटमा एनिमेटेड भिडिओ बनाएका थिए। यो फड्को जोखिमपूर्ण थियो, तर स्रोता-दर्शकले मन पराइदिए।
तेस्रो गीतमा सुजनले नवीनसँगै सहकार्य गरे। यसमा चलाखीपूर्वक उनीहरूको आगामी गीत 'बाफ'को विज्ञापन राखिएको छ।
सुजनका हालसम्मका गीतजस्तै 'बाफ'को जादू पनि स्रोता-दर्शकमा चल्यो भने सुजनका प्रशंसकको एउटा टिप्पणी गलत हुने छैन।
केही प्रशंसकले उनलाई बलिउड गायक अरिजित सिंहसँग तुलना गरेका छन्। शास्त्रीय संगीत सिकेर समकालीन गीत गाउने भर्साटाइल अरिजितजस्तै सुजनले पनि थोरै गीतबाट आफूलाई फरक खालका गीतमा जम्न सक्ने गायकका रूपमा प्रमाणित गरेका छन्।
चितवन आइडलमा दोस्रो हुन सफल सुजन नेपाल आइडल-३ बाट अन्तिम ३० सम्म पुगेर बाहिरिएका थिए। अहिले संगीत क्षेत्रमा आफ्नो बाटो भेटिसकेका सुजनको यात्रा कति लामो होला, त्यो हेर्न बाँकी नै छ।
आवाजमा नियन्त्रण र मिठास सुजनको विशेषता हो। आफ्नै अलग 'टेक्स्चर' भएका सुजनको गायकीमा जस्तै उनको संगीतमा पनि लोक, शास्त्रीय र पप शैलीको सम्मिश्रण पाइन्छ।
एउटा समय थियो, सुजन स्टेजमा गाएको कल्पना गर्दा अरूका गीत गुनगुनाउने गर्थे। अहिले त्यसरी कल्पिँदा उनीसँग आफ्नै गीत हुन्छ जसले उनलाई रोमाञ्चित बनाउँछ। खुला आँखाले देखेका सपना पूरा गर्न लालायित सुजन भन्छन्, 'केही सपना पूरा भए, केही बाँकी छन्।'
भव्य हलमा हजारौं दर्शकमाझ गाउने सुजनको धोको अपूरो छ। तर उनका गीतका भ्युजले भन्छ, उनले छोटो समयमै लाखौं स्रोता कमाइसकेका छन्। तीनपातेको युट्युब भ्युज १ करोड ३३ लाख र गाला पुक्कको १ करोड १५ लाख माथि छ। स्टेजमा नभए पनि सुजनलाई हरेक दिन युट्युबबाट रिपिट मोडमा सुनिरहने स्रोता लाखौं छन्।
तर सुजनको चाहना संख्यात्मक हिट गीत दिने मात्र होइन।
'मेरा गीत नेपाली संस्कृति र स्रोताको मनसँग जोडिने खालको हुनुपर्छ भन्ने लाग्छ। पछिसम्म मनमा बस्ने स्तरीय गीत-संगीत दिन चाहन्छु,' उनी भन्छन्।