गुड फ्राइडे सिनेमा
भारतको 'सिप अफ थिसस' वा चीनको 'टच अफ सिन' एउटै सिनेमा भित्र अलग-अलग कथा भन्ने अब्बल फिल्म हुन्। फरक कथाका बाबजुद ती कथालाई एकअर्कासँग गाँसिराख्न सक्नु यी फिल्मको विशेषता हो।
त्यस्तै विशेषताले भरिएको फिल्मको सूचीमा भारतीय निर्देशक ओनिरको 'आइ एम' पनि पर्छ।
आइ एममा चार फरक कथा छन्। 'आफिया', 'मेघा', 'अभिमन्यू' र 'ओमार' चार फिल्मको समग्र नाम 'आइ एम' हो। विभिन्न सामाजिक महत्वका मुद्दा छुने यी चार कथा एकअर्कासँग अलग हुँदाहुँदै पनि अन्तर्सम्बन्धित छन्। भय यी सबै फिल्मको थिम हो।
वास्तविक भोगाइमा आधारित यी फिल्ममध्ये आफिया, मेघा, अभिमन्यू र ओमारले क्रमशः वीर्य दान, विस्थापन, बाल यौन दुर्व्यवहार र समलिंगीको विषयसँग सम्बन्धित छन्।
'आफिया' वीर्य दानबाट एकल आमा बन्ने निर्णय लिन लागेकी विवाहित महिला आफियाको कथा हो। फिल्ममा आफियाको भूमिका नन्दिता दासले निर्वाह गरेकी छन्।
आफ्ना श्रीमानले बच्चा जन्माउन इन्कार गरेपछि आफिया अपरिचित व्यक्तिबाट वीर्य ग्रहण गरेर आमा बन्न चाहन्छिन्। फिल्मभित्र यो निर्णय लिन आफियाले झेल्ने मानसिक द्वन्द्वको अवस्था चित्रण गरिएको छ।
काश्मिर दक्षिण एसियाकै सबैभन्दा द्वन्द्वग्रस्त क्षेत्र हो। युद्ध र राजनीतिक अस्थिरताले लाखौं मानिस विस्थापित भएका छन्। यही फिल्मको तथ्यांक अनुसार सन् १९९० को दशकमा ३ लाख काश्मिरी पण्डितहरूले आफ्नो थातथलो छाड्नुपरेको थियो। यो भारतको स्वतन्त्रता आन्दोलनपछिको सबैभन्दा ठूलो विस्थापन हो। आइ एमभित्रको दोस्रो फिल्म मेघाले यही विषय छोएको छ।
फिल्ममा जुही चावलाले विस्थाफित काश्मिर पण्डितको प्रतिनिधि पात्र मेघाको भूमिकामा छिन्। उनी काम विशेषले बीस वर्षपछि आफ्नो जन्मथलो फर्किन्छिन्।
फिल्ममा उनकी बाल्यकालको साथी रुबिनाको भूमिका मनीषा कोइराला देखिन्छिन्। रूबिना आफ्नै जन्मथलो बसेर युद्धको त्रासदी भोग्न बाध्य र मेघा युद्धका कारण विस्थाफित हुन बाध्य पात्र हुन्। फिल्ममा यी दुई साथीबीचको संवाद र द्वन्द्वले मन छुन्छ।
तेस्रो फिल्म अभिमन्यूमा बाल्यकालमा भोगेको यौन दुर्व्यहारको घट्नाले सताइएका फिल्म निर्देशकको कथा देखाइएको छ। अभिमन्यू पात्रको भूमिका संजय सुरीले निर्वाह गरेका छन्। फिल्ममा उनी आफ्नो यौनिकता बुझ्न संघर्षरत पात्र बनेका छन्। फिल्ममा राधिका आप्टेको पनि महत्वपूर्ण भूमिका छ।
अन्तिम फिल्म ओमार दुई युवाबीचको समलिंगी सम्बन्धमा आधारित छ।
बैंगलरूका जय र मुम्बईका अर्जुन एउटा रेस्टुरेन्टमा भेटेपछि एकअर्काबाट आकर्षित हुन्छन्। जयले उनलाई डिनरको प्रस्ताव गर्छन्। डिनरपछि उनीहरू गाडीमा एक अर्कालाई आलिंगनमा बेरेर माया गरिरहेको बेला प्रहरी आउँछ र जयलाई पिट्न थाल्छ। केटा-केटाबीचको आकर्षणलाई अप्राकृतिक ठान्ने कुरा भोग्दै आएको जयले प्रहरीसँग आफूलाई छोडिदिन हारगुहार गर्छ। तर प्रहरीले भारतीय कानुनको हवाला दिई उनीहरूलाई कारवाही गर्ने धम्की दिन्छ। समलिंगीमाथि हुने शोषणलाई फिल्ममा रोचक कथाका साथ देखाइएको छ।
यी चारै फिल्मका नामको अगाडि आइ एम जोडेर पनि हेर्न सकिने यो फिल्मको थिम एउटै छ, डर। सबै फिल्मका मूख्य पात्रहरू मानसिक र सामाजिक डरको दोहोरो मारमा परेकाले उनीहरूको संघर्ष जटिल छ।
आइ एमभित्रका चारै कथा वास्तविक भोगाइमा आधारित छन्। अझ महत्वपूर्ण कुरा यी फिल्म बनाउन विभिन्न देशका मानिसहरूले आर्थिक सहयोग गरेका थिए।
यस्ता धेरै विशेषता बोकेको आइ एमको सशक्त पक्ष भनेको यसका कलाकारहरूको अभिनय पनि हो। आइ एमभित्र नन्दिता दास, राहुल बोस, राधिका आप्टे, मनीषा कोइराला, जुही चावला, संजय सुरीलगायत कलाकार एकै ठाउँमा देख्न पाइन्छ। आफियाको रूपमा नन्दिता दासको अभिनय खास छ। ओमारको भूमिकामा राहुल बोसको अभिनय पनि उत्तिकै सशक्त छ। मनीषा कोइराला र जुही पनि आफ्नो चरित्रमा जमेका छन्।
भारतको हिन्दी भाषातर्फ नेसनल अवार्ड जितेको यो फिल्मले संसारका थुप्रै महोत्सव डुलेर पुरस्कारहरू जितेको छ।