जिन्दगीको भागदौडमा थाकेका बेला धेरैलाई लाग्दो हो– एउटा शान्त ठाउँ होस्, जहाँ मनका उकुसमुकुस पोख्न पाइयोस्। भरपर्दो मान्छे होस् जसले आफ्ना कुरा ध्यान दिएर सुनिदियोस्। बस् सुनिदियोस्, कुनै पूर्वाग्रह बिना।
सबै कुरा सुनिसकेपछि मात्र यत्ति भनोस्— सबै ठिकै हुन्छ।
तपाईंलाई सबै कुरा बिग्रेजस्तो लागेको छ भने पाटन आउनुस्। यहाँ कसैको हँसिलो अनुहार र मीठो मुस्कानले तपाईंलाई कुरिरहेको छ।
पाटन गेटनजिकैको यो कोठाअगाडि कुनै साइनबोर्ड छैन। तर यहाँको ढोका तपाईंका लागि सधैं खुला छ।
'स्वागत छ,' रातो स्विटर र रातै सल ओढेकी लज्जा दीक्षितले हाँस्दै ढोका खोलिन्। कोठामा मधुर आवाजमा बजिरहेको संगीतले पनि स्वागत गर्यो।
आर्ट थेरापिस्टको कोठामा छिर्दा आउनुपर्ने आनन्दको अनुभूति यहाँ छिर्नासाथ मिल्ने रहेछ।
कोठाको दाहिने कुनामा भुइँ-टेबल थियो। भुइँ-टेबलको सिसामाथि रंगीबिरंगी पेन्सिल। यहाँ आउने मान्छेलाई उनी बिरामी नभनेर 'क्लाइन्ट' भन्छिन्। यी पेन्सिल उनका क्लाइन्टका लागि राखिएको हो।
'आर्ट थेरापी विधिमा मान्छेका समस्या सुन्न, बुझ्न र भन्न कलाका विभिन्न माध्यम प्रयोग गरिन्छन्। मेरो माध्यम ड्रइङ र पेन्टिङ हो,' कुसनमा बस्दै लज्जाले भनिन्, 'यी रंगीन पेन्सिल थेरापीका औजार हुन्।'
उनी तिनै पेन्सिलले चित्र कोर्न लगाएर आफ्ना क्लाइन्टका मनभित्र चिहाउँछिन्। उनीहरूका दुःख र अप्ठ्यारा सुन्छिन्। चित्रकै माध्यमबाट उनीहरूका समस्या पहिचान गर्छिन्। अनि, उनीहरूको मनोबल बढाउने खालका सुझाव र होमवर्क पनि दिन्छिन्।
मान्छेका समस्या कति हो कति! हाम्रा मनलाई चिन्तित र अस्थिर बनाउने समस्याको सूची जति पनि तन्काउन सकिन्छ।
सामान्य अवस्थामा पनि पढाइ, जागिर वा सम्बन्ध धेरै कुराले मान्छेलाई मानसिक तनाव दिइरहेको हुन्छ। अभिभावक र सन्तानबीच हुने पुस्तागत अन्तर र किशोरवयदेखि वृद्धअवस्थासम्म उमेरजन्य समस्या पनि छँदैछन्।
लज्जाले भनिन्, 'यहाँ मान्छेहरू सामान्यजस्ता लाग्नेदेखि मानसिक आघात भोगेका गम्भीर प्रकृतिका समस्या लिएर आउनुहुन्छ।'
समस्या साना ठूला जस्तोसुकै होस्, यहाँ आउने हरेकलाई सहज महसुस गराउनु लज्जाको पहिलो सूत्र हो।
त्यसैले उनले यो कोठाको नाम पनि 'कम्फर्ट रूम' राखेकी छन्। कम्फर्ट रूममा आएकाहरू अरूलाई भन्न नसकेका कुरा लज्जासँग साट्न थाल्छन्। यहाँ आउने हरेक क्लाइन्टलाई पूरै कम्फर्ट बनाउन उनी तीन चरणमा भेट्छिन्।
पहिलो भेटमा उनी क्लाइन्टसँग एक घन्टा लामो कुराकानी गर्छिन्।
'यो मान्छे चिन्ने र समस्या बुझ्ने चरण हो। पहिलो भेटमा हालको समस्या र विगतसँग त्यसको सम्बन्ध थाहा पाउने काम हुन्छ,' उनले भनिन्।
त्यसपछिको भेटमा उनी क्लाइन्टका अनुभव अनुसार फरक—फरक चित्र कोर्न लगाउँछिन्। यो भेट दुई घन्टा लामो हुन्छ। उनले भनिन्, 'यो महत्वपूर्ण चरण हो जहाँ चित्रको अन्तिम रूपभन्दा चित्र बनाउने प्रक्रिया पनि उत्तिकै महत्वपूर्ण हुन्छ।'
लज्जाका अनुसार चित्र आफूले आफैंलाई चिन्ने माध्यम हो। 'चित्र कोर्न आउँदैन भनेर डराउनु पर्दैन। यहाँ आएपछि कहिल्यै पेन्सिल नसमातेका मानिसले समेत सुन्दर चित्र कोरेर जानुहुन्छ,' उनले भनिन्।
तेस्रो भेटमा आएर बल्ल उनी काउन्सिलिङ गर्छिन्।
लज्जाका अनुसार, शब्दमा अभिव्यक्त गर्न नसकिएका कुरा पनि चित्रमा आउने भएकाले आर्ट थेरापी प्रभावकारी हुन्छ। 'मान्छेले आफ्नो मनोदशा शब्दमा भन्न र बुझाउन सजिलो छैन। तर चित्रमा आफूलाई अभिव्यक्त गर्न सक्छन्,' उनले भनिन्, 'अचेतन मनका भाव पोखिने भएकाले चित्रमार्फत मान्छेको सम्पूर्ण व्यक्तित्व पढ्न सकिन्छ।'
यही विशेषताका आधारमा मान्छेको जीवनमा सकारात्मक परिवर्तन ल्याउन यी तीन चरणका भेट काफी हुने उनको दाबी छ। उनी दोहोर्याउँछिन्, 'म आफ्नो काममा विश्वस्त छु।'
नेपालकै पहिलो आर्ट थेरापिस्ट मानिने लज्जाले यही विधिबाट करिब एक दशकदेखि सयौंको मानसिक उलझन सुल्झाइसकेकी छन्। जया मेन्टल हेल्थमा आवद्ध लज्जा नेपाल मेडिकल कलेजमा पनि समय दिइरहेकी छिन्। भुइँचालो र कोरोनाजस्ता सामाजिक विपतबाट भोग्नुपरेको मनोवैज्ञानिक त्रासका बेला उनको सक्रियता झनै बढेको थियो। बेलाबेला वर्कसपहरूमा आफ्नो ज्ञान र अनुभव साट्नु पनि उनको काम नै हो।
कला र स्वास्थ्य विधाको अन्तर्घुलन लज्जाको व्यक्तित्वको विशेषता हो। आमा रेवादेवी दीक्षितको भावनात्मक क्षमता र जुझारूपनबाट आफ्नो व्यक्तित्वले अत्याधिक प्रभाव पारेको उनी बताउँछिन्। डाक्टर सुन्दरमणि दीक्षितकी छोरी लज्जा सानैदेखि चित्र कोर्न रूचाउँथिन्। यही रूचिमा निखार ल्याउन नौ वर्षको उमेरदेखि मनुजबाबु मिश्रसँग पेन्टिङ सिक्न बौद्ध जान थालिन्। तर पारिवारिक पृष्ठभूमि र अभिभावकको चाहना अनुरूप उनीमाथि विज्ञान पढ्ने अप्रत्यक्ष दबाब थियो।
'पढाइ राम्रै थियो, एसएलसीपछि विज्ञान पढ्न भर्ना भएँ। तर बायोलोजीको चित्र कोर्नेबाहेक अरूमा रूचि लागेन,' उनले भनिन्।
त्यसपछि उनी आफ्नै रूचिको विषय फाइन आर्ट पढ्न भारतको मसुरी इन्टरनेसनल स्कुल पुगिन्। सन् १९९५ देखि १९९७ सम्म यहाँ पढ्ने क्रममा आफ्ना पेन्टिङबाट गुरू रणवीर सक्सेना निकै प्रभावित भएको लज्जा सम्झिन्छिन्। मसुरीमा पढ्दै गर्दा एकल चित्रकला प्रदर्शनीसमेत गरेकी उनी यत्तिकैमा रमाउन भने सकिनन्।
आफैंले रोजेको विषय पढ्दा पनि कहीँ केही छुटेजस्तो भइरह्यो। पोट्रेट पेन्टिङ र ड्रइङ गर्ने उनी आफ्ना पेन्टिङमा समाजको चित्र खोज्न थालिन्।
'सानैदेखि सार्थक जीवन बाँच्न अरूलाई सहयोग गर्ने काम गर्नुपर्छ भन्ने मान्यता भएको परिवारमा हुर्किएँ', लज्जाले भनिन्, 'मलाई स्वान्त सुखायमा रमाउने कलाकार बन्नु थिएन। आफ्नो काममा समुदाय कहाँ जोडिन्छ भनेर आफैंलाई सोध्न थालेँ।'
यस्तै सोच आइरहेका बेला उनले आर्ट थेरापीबारे सुनिन्। कला र समुदाय दुवै जोडिने भएकाले उनी आर्ट थेरापी पढ्न बेलायत सेन्ट्रल सेन्ट मार्टिन्स कलेज अफ आर्ट एन्ड डिजाइन पुगिन्। पढाइ सकाएर नेपाल फर्किँदा लज्जाको मनमा उत्साहसँगै चुनौती पनि थियो।
आर्ट थेरापी अभ्यासका लागि मान्छे र उसले बाँचेको परिवेशको सूक्ष्म ज्ञान जरूरी थियो। तर विदेशमा पढेकाले त्यहाँ सिकेका धेरै कुरा यहाँको सन्दर्भमा मेल खान्थेन। उनले भनिन्, 'पाठ्यक्रममा पढेका कुरा आफ्नै समाजको सन्दर्भमा ढालेर बुझ्नुपर्ने चुनौती थियो।'
उनी एउटा घटना सम्झिन्छिन्। पढाइकै क्रममा आर्ट थेरापीको व्यावहारिक अनुभव लिन थेरापिस्टकहाँ गइराख्नुपर्थ्यो।
'कहिलेकाहीँ कुरा गर्दागर्दै तिम्रो समय सकियो भनेर थेरापिस्टले बीचमै कुरा रोकिदिन्थे। यस्तो अभ्यास असंवेदनशील लाग्थ्यो,' उनले भनिन्, 'नेपालमा म त्यस्तो अभ्यास गर्न चाहन्थिनँ।'
मानसिक समस्याबारे बल्लतल्ल खुलेर आउने हाम्रो समाजमा मान्छेलाई पर्याप्त समय दिनु जरूरी ठान्छिन्। त्यसैले उनी प्रत्येक दिन दुई जना क्लाइन्ट मात्र भेट्छिन्। आफ्ना क्लाइन्टसँग प्रत्यक्षबाहेक फोन वा सामाजिक सञ्जालमा पनि समय दिनु लज्जाको खासियत हो।
'एक क्लाइन्टपछि अर्को क्लाइन्ट भेट्न कम्तीमा एक घन्टा खाली समय राख्छु,' उनले भनिन्।
लज्जाका अनुसार थेरापी प्रक्रिया अत्यन्तै संवेदनशील र भावनात्मक हुन्छ। टेबलमा भएको टिस्यु पेपर देखाउँदै उनले भनिन्, 'धेरै जना बोल्दाबोल्दै भावुक भएर रूनु हुन्छ। कसैलाई समय तोकेर रूनुस् भन्न कसरी मिल्छ?'
लज्जाका अनुसार उनलाई भेट्न आउने जो कोही कुनै न कुनै दुःख र समस्या सुनाउन आउने हुन्। कोठामा राखिएका रंगीन पेन्सिल झैं फरक रङका समस्याहरू सुन्ने क्रममा लज्जा आफैं पनि भावविह्वल हुन्छिन्। 'एक जनाको समस्याबाट ननिस्की अर्को कोही भेट्न म आफैं तयार हुन आफैंलाई पनि अलिकति समय चाहिन्छ।'
कतिपय क्लाइन्टका समस्या त अत्यन्तै गम्भीर प्रकृतिका हुन्छन्। घरेलु-यौन हिंसादेखि अन्य मनोवैज्ञानिक रूपमा विक्षिप्त पार्ने खालका कुराले लज्जा एकपछि अर्का अँध्यारो पाटोसँग साक्षात्कार हुन बाध्य हुन्छिन्।
'मान्छेका कुराले धेरै पटक कमजोर बनाउँछ,' उनले भनिन्, 'तर म आफैं सकारात्मक र बलियो नभई कसरी अरूलाई सहयोग गर्न सकूँला भन्ने कुराले जित्छ।'
लज्जाका अनुसार कुनै पनि नराम्रा विचार वा घटना अन्तिम हुँदैनन्। नराम्रा कुराभन्दा राम्रा कुरा सम्झन सके मान्छेको जीवन अघि बढाउन प्रेरणा मिल्छ। लज्जा यहीँनेर आफ्नो कामको महत्व देख्छिन्। भन्छिन्, 'मान्छेका कुरा सुनेर, केही घन्टा समय दिएर शंका, ग्लानी, डर र निराशा हटाउन सकिन्छ।'
जतिसुकै समस्या भए पनि हरेक मान्छेको जीवनमा केही न केही सुन्दर क्षण हुन्छन्। त्यस्ता क्षणका स्मृतिबारे सोच्दा मात्र पनि हाम्रो मनमा सकारात्मक रसायन उत्पन्न हुन्छ। लज्जाको उपचार विधिमा त्यस्तो स्मृतिको खास भूमिका छ। हरेक मान्छेसँग आफ्नो कथा हुन्छ। हाम्रो स्मृतिमा बसेका तिनै कथाले हामीलाई खुसी वा दुखी बनाइरहेको हुन्छ।
'हामी थेरापीमा बालापनको सम्झना एकदमै महत्वपूर्ण हुन्छ भन्ने विश्वास राख्छौं। जिन्दगीभर हाम्रो व्यवहार र प्रवृत्तिलाई बच्चाबेलाको मेमोरीले नै ट्रिगर गरिरहेको हुन्छ,' उनले भनिन्, 'बच्चाहरूलाई सकारात्मक सम्झना दिनुपर्छ भनिने कारण पनि यही हो।'
आफ्ना क्लाइन्टको जीवनको सबभन्दा सुखद बाल्यकालको स्मृति पत्ता लगाउन लज्जा चित्र र कथाका माध्यम अपनाउँछिन्। कलाका दुई सशक्त विधा चित्र र कथा माध्यमबाट लज्जाले गर्ने कामको झलक उनको इन्स्टाग्राम पेज 'आर्ट थेरापी स्टोरिज' मा देख्न पाइन्छ।
मान्छेले परिवार र समाजबाट एक्लिएको महसुस गर्ने अनेक कारण हुन्छन्। त्यस्तो मनस्थितिमा पुगेका मानिसलाई माया, हौसला र साथको खाँचो हुन्छ। लज्जा आफ्नो इन्स्टाग्राममा क्लाइन्टका चित्र र कथा नाम नखुलाई यस्तै माया, हौसला र साथको कथा साटिरहेकी हुन्छिन्।
उनी चाहन्छिन्, ती कथा त्यस्तै मनस्थितिबाट जुधिरहेका अरूले आफूसँग जोडून् र प्रेरित होऊन्। लज्जा एक वा अर्को तरिकाले मान्छेको निराशा, तनाव र नकारात्मक विचार हटाउने प्रक्रियाकी माध्यम हुन्। उनका अनुसार एक जना मान्छेको जीवनमा आउने सकारात्मक परिवर्तनले वरिपरिका मान्छे र परिवेशमा समेत सकारात्मक असर पर्छ। हरेक दिन कसै न कसैको मनमा खुसी छर्नु उनको उद्देश्य हो।
खुसी भाइरसजस्तै हुन्छ। लज्जा खुसी फैलाइरहेकी छिन्।