गुड फ्राइडे सिनेमा
नेपाली मूलधारका फिल्ममा प्रायः एकै किसिमका सांस्कृतिक विम्ब, भेषभूषा र परिवेश चित्रण भइरहेको हुन्छ। यो घेरालाई मातृभाषी फिल्महरूले तोड्दै विविधता देखाउने काम गर्छन्।
हामीकहाँ नेपालीबाहेक सबभन्दा बढी संख्यामा बन्ने मातृभाषी फिल्म गुरुङ भाषामा हो। यी फिल्मले मुख्य बजार पोखरादेखि पूर्व–पश्चिम नेपालका गुरुङ बस्ती र विदेशसम्मका दर्शक आकर्षित गरेको छ।
यस पटक हामीले गुरुङ भाषामा फिल्म निर्माण, निर्देशन र अभिनयमार्फत योगदान गरिरहेका कलाकार माओत्से गुरुङका दुई फिल्म छानेका छौं। विभिन्न महोत्सवमा प्रदर्शन भएका र पुरस्कार जितेका यी फिल्म माओत्से गुरुङ आफैंलाई पनि मन पर्ने फिल्म हुन्।
तिनागा, निर्देशकः माओत्से गुरुङ
गुरुङ शब्द 'तिनागा'को अर्थ आजभोलि हो। सन् २००९ मा बनेको यो फिल्मले तत्कालीन समयको आजभोलिकै कुरा देखाएको छ जसमा नयाँ पुराना पुस्ता र सोचबीच अन्तर्द्वन्द्व देख्न पाइन्छ। परम्परा र आधुनिकताको अन्तर महसुस गर्न पाइन्छ।
फिल्मको केन्द्रमा दुई परिवारको कथा छ। मुख्य पात्र नरेश र फूलमाया दुवै एउटै कलेजमा पढ्ने सहपाठी हुन्। एक अर्कालाई प्रेम गरे पनि उनीहरुबीच सधैं ठाकठुक परिरहन्छ। नरेशका बुबा अवकाश प्राप्त सैनिक हुन्। छोराको इच्छा विपरीत उनका बुबा नरेशलाई सैनिक पेसामा लाग्न जोड दिन्छन्। नत्र बिहे गरेर छुट्यादिने दबाब समेत दिन्छन्।
उता फूलमायाका बुबा भने पेन्सनको पैसा रक्सी खाएर उडाउँछन्। दुई छोरीका बुबा उनी छोरा नभएको पीरमा छन्।
नरेश र फूलमायाको दैनिकी, झगडा र प्रेमका रमाइला घटनासँग फिल्मले गुरुङ समाजले भोगेका अनेक पक्षलाई समेट्ने प्रयास गरेको छ। उदाहरणका रुपमा बेलायतबाट देश फर्केर गाउँमै सेवा गर्ने इच्छा राखेका उनका नरेशका दाइलाई लिन सकिन्छ।
नचाहँदा नचाहँदै पनि विदेश फर्किनुपर्ने उनको चरित्रले धेरै गुरुङ युवाको प्रतिनिधित्व गर्छ। उनका भाइ नरेश पनि लाहुर जाने परम्परा जोगाउने नाममा परिवारबाट दबाब झेल्ने पात्रका उदाहरण हुन्।
कक्षा कोठामा गुरुङ भाषामा पढ्न नपाइने विद्यार्थीका पीडा मार्फत मातृभाषामा पढ्न पाउनुपर्ने भाषिक अधिकारको वकालत समेत गरेको छ।
कृपा, निर्देशकः माओत्से गुरुङ
गुरुङ भाषामा बनेको 'कृपा' चर्चित फिल्म हो। फिल्मले एकजना बोल्न नसक्ने पात्र ओदे र सानी बालिका कृपाको सम्बन्धको कथा भन्छ।
सहरमा पढ्ने कृपा बिदामा आफ्नो घर आएकी हुन्छिन्। सोझो ओदे र चञ्चल कृपाको सम्बन्ध सुरुमा बाबुछोरीको भए पनि उनीहरू साख्खै बाबुछोरी हुँदैनन्। आफ्नै छोरी नभए पनि ओदे कृपालाई खुसी राख्ने प्रयास गर्छ। तर सहरमा हुर्किरहेकी कृपा भने ओदेसँग सन्तुष्ट हुँदिनन्।
यी दुईको सम्बन्ध बुबाछोरीको हैन भन्ने थाहा पाएपछि दर्शकमा यी पात्रको पृष्ठभूमि जान्ने खुल्दुली जाग्छ।
'कृपा'ले यही खुल्दुली मेटाउँदै सामाजिक अपहेलनामा परेको पात्र ओदेको भोगाइसँग साक्षात्कार गराउँछ। पहिलो दृश्यमै अरुले चोरेर दिइको काँक्रो खाँदै गर्दा ओदेलाई काँक्रा मालिकले चोर मानेर पिटेको देखाइएको छ। फिल्ममा ओदे र कृपासँग अर्को एउटा एकल महिला र सानी छोरीको कथा पनि छ।
ओदे र ती महिला दुवैमाथि संकीर्ण सामाजिक सोचका कारण अनेक दुर्व्यवहार गरिन्छ। फिल्ममा त्यस्ता थुप्रै दृश्य छन् जसमा सामाजिक मूल्यमान्यताका नाममा एकल महिला र शारीरिक अपांगता भोगेका मानिस माथि गर्ने दुर्व्यवहार देखाइएको छ।
गाउँमा विद्यमान शोषण र कुरीतिबारे सरोकार राख्ने यो फिल्मले परिवारको माया पाउनबाट वञ्चित बालिकाको मनोविज्ञानलाई पनि महत्वका साथ चित्रण गरेको छ।