कला र सामाजिक चेत दुवै हिसाबले अब्बल भारतीय निर्देशकको सूचीमा गुरू दत्त छुटाउनै नहुने नाम हो। ब्रिटिश उपनिवेशपछिको भारतमा सिनेमाको माध्यमबाट आफ्नो समाज र त्यहाँका मान्छेका कथा भन्ने कामलाई गम्भीर रूपमा लिने धेरै निर्देशक जन्मे। कसैले यथार्थवादी धार पक्रे त केहीले व्यवसायिक शैली पछ्याए।
तिनैमध्ये आफ्नो फरक पहिचान बोकेर उदाएका थिए, गुरू दत्त। भनिन्छ, गुरू दत्तले दर्शकका लागि नभएर आफ्ना लागि फिल्म बनाए। आफ्नै जीवनका तीता-मीठा पललाई फिल्ममा मिसाए। साहित्य, संगीत र जीवनप्रतिको धारणा फिल्मको माध्यमबाट देखाए। अन्ततः यही नै उनको शैली बनिदियो। उनलाई 'हिन्दी सिनेमाका कवि' समेत भनिन्छ।
उनका 'प्यासा' र 'कागज के फूल' जस्ता फिल्ममा यी विशेषता यति मुखर भएका छन्, दशकौंपछि पनि हेर्नै पर्ने फिल्मको सूचीमा पर्दै आएका छन्। एक समयका टेलिफोन अपरेटर गुरू दत्त नृत्य निर्देशक र कोरियोग्राफर हुँदै अभिनेता र निर्देशक बनेका हुन्।
उनी प्रभात फिल्म कम्पनीमा सहायक निर्देशकका लागि अनुबन्धित थिए। देव आनन्दको नवकेतन प्रोडक्सन कम्पनीमा निर्देशक भएर काम गरेका गुरू दत्तले देव आनन्दको पहिलो फिल्म 'बाजी' निर्देशन गरेका थिए।
'प्यासा' र 'कागज के फूल' त संसारका धेरै राम्रा फिल्मको सूचीमा पर्दै आएका छन्। उनको फिल्म टाइम म्यागेजिनको सर्वकालीन उत्कृष्ट सिनेमाको सूचीमा समेत पर्न सफल भइसकेको छ। प्यासा 'साउन्ड एन्ड साउन्ड क्रिटिक्स' को 'अल टाइम ग्रेटेस्ट फिल्म' को सूचीमा पनि परेको थियो।
विभिन्न भूमिकामा गुरू दत्तले गरेको कामबाट बलिउडका नयाँ पुस्ता आज पनि प्रभावित भइरहेको पढ्न-सुन्न पाइन्छ। आजको समयमा प्रभाव छाड्ने उनको आफ्नै समय भने संघर्षमय थियो।
सन् १९२५ मा जन्मेका गुरू दत्त १९६४ अक्टोबरका दिन बम्बईस्थित आफ्नै घरको बेडरुममा मृत भेटिएका थिए। भनिन्छ, रक्सी र धेरै मात्रामा निद्राको औषधि खाएर उनले आत्महत्या गरेका थिए। उनले त्यसअघि पनि दुई पटक आत्महत्या प्रयास गरेका थिए।
सामाजिक विसंगति र संकीर्ण मूल्य मान्यतासँग असन्तुष्टि पोख्ने उनका फिल्मका पात्रमा एक्लोपन, वितृष्णा र विद्रोह भेटिन्छ। उनका केही फिल्म त उनको जीवनसँगै मेल खान्छन्।
यो सूचीमा परेका फिल्म गुरु दत्तका फिल्म मात्रै होइनन्। गुरू दत्तसँगै त्यस समयमा प्रतिभावान कलाकार, प्राविधिक कलाकार, गीतकार, संगीतकार र गायकहरू जोडिएका छन्।
यो सूचीमा परेका फिल्म 'लाइट', 'मूड' र 'इमोशन'का कोलाज मात्रै होइनन्, यिनमा गुरू दत्तको अन्तर्मनका गुम्फन र उनी बाँचेको परिवेशको स्पन्दन पनि भेटिन्छ। कविता, संगीत र कल्पनाको सजीव चित्र देखिन्छ।
प्यासा (१९५७), निर्देशकः गुरू दत्त
एउटा प्रतिभावान कवि विजयको संघर्षको कथा हो प्यासा। राम्रो लेख्ने क्षमता भएर पनि उपयुक्त साथ नपाएका विजय आफ्नै दाजुभाइबाट समेत तिरष्कृत छन्। घरभित्रैकै तानावाना सुन्नु परेका उनी घरबाहिरै भौंतारिएर दिन काट्छन्।
मूल कथा कविको संघर्ष भएको प्यासाको केन्द्रमा त्रिकोणात्मक प्रेम कथा पनि छ। आफ्नो कवितालाई रद्दीको टोकरीमा फ्याँकिएको पीडा बोकेका उनी गुलाबो (वहीदा रहमान) सँग ठोक्किएपछि थोरै भए पनि खुसी हुन्छन्। वेश्यावृत्तिमा संलग्न गुलाबो विजयप्रति सहानुभूति राख्दाराख्दै प्रेम गर्न थाल्छिन्।
तर विजय आफ्नी पूर्व प्रेमिका मीना (माला सिन्हा)ले प्रकाशक मिस्टर घोषसँग बिहे गरेपछि आहत बनेका हुन्छन्। संयोगवश मिस्टर घोषको कार्यालय पुगेका बेला उनको भेट मीनासँग हुन्छ। यो भेटसँगै फिल्ममा अतीत र वर्तमान घटनाक्रम सँगसँगै बढ्छ।
भेटपछि मीना र विजयको सम्बन्ध कस्तो हुन्छ? गुलाबो र विजयको सम्बन्ध कता जान्छ? प्यासाले दर्शकमा यस्तै जिज्ञासा जगाउँछ।
यसैबीच एक दिन विजयको कोट लगाएको एउटा मान्छे दुर्घटनामा मर्छन्। धेरैले त्यो घटनामा विजय नै मरेको ठान्छन्। बाँचुन्जेल कदर नपाएका विजय मरेको खबरपछि एकाएक चर्चित कवि बन्छन्।
यो चर्चाले विजयलाई खुसी मिल्छ कि वितृष्णा? प्यासाले त्यसकै कथा भन्छ।
टाइम म्यागेजिनको उत्कृष्ट १०० मा पर्न सफल प्यासा धेरै कारणले हेर्नै पर्ने फिल्म हो। नाम प्यासा भए पनि दर्शकको मन तृप्त पार्ने के छैन र यो फिल्ममा? सशक्त अभिनय, संवाद, संगीत, प्रेम, विरह र विद्रोह सबै भेटिन्छ प्यासामा।
गुरु दत्तबाहेक मीना कुमारी, वहिदा रहमान, जोनी वाकर, रहमान आदिको अभिनयका साथै फिल्मको सिनेमाटोग्राफीमा भिके मूर्तिको काम पनि खास मानिन्छ। प्यासालाई आजका दर्शकसम्म जोडिराख्ने अर्को सबभन्दा सशक्त पक्ष यसको संगीत हो।
प्यासाको 'ये दुनियाँ अगर मिल भी जाए तो क्या है?' फिल्मी गीतमा साहित्य प्रयोगको उदाहरणी सृजना मानिन्छ। साहिर लुधियानबीको रचना, एस डी बर्मनको संगीत र मोहम्मद रफीको यो गीतबाट नयाँ पुस्ताका चर्चित निर्देशक यतिसम्म प्रभावित थिए, उनले यसैबाट प्रेरित भई 'गुलाल' फिल्म बनाए।
गुलालमा पियुष मिश्रले 'ये दुनियाँ अगर मिल भी जाए तो क्या है' गीत 'रिक्रिएट' समेत गरेका छन्। भौतिक दुनियाँको क्षणभंगुरतामाथि तिखो रोष पाइने प्यासाको कथा अबरार अल्वीले लेखेका हुन्।
कागज के फूल (१९५२), निर्देशकः गुरू दत्त
आफ्नो समयको बक्स अफिसमा असफल फिल्मबारे 'कागज के फूल' संसारका विभिन्न देशको फिल्म स्टडिजका विद्यार्थीले पढाइन्छ। फिल्म बनेका केही दशकपछि यसका दर्शक बढ्नुको कारण थाहा पाउनु नै कागज के फूल हेर्नुपर्ने एउटा रमाइलो कारण हुन सक्छ।
गुरू दत्तले निर्देशन गरेको यो फिल्ममा उनी आफैंले सुरेश सिन्हा नामक निर्देशकको भूमिका निर्वाह गरेका छन्। श्रीमतीसँग वैवाहिक सम्बन्ध बिग्रिएका उनी श्रीमतीको परिवारकै कारण आफ्नी छोरीसँग भेट्नबाट समेत वञ्चित हुन्छन्।
पानी परिरहेको एक रात सुरेशले पानीमा रुझिरहेकी युवतीलाई आफ्नो कोट लाउन दिएका हुन्छन्। शान्ति (वहीदा रहमान) नामकी ती केटी सुरेशको फिल्म छायांकन भइरहेको स्थलमा कोट फिर्ता दिन आइपुग्दा उनी क्यामरामा देखिन पुग्छिन्।
आफ्नो फिल्म 'देवदास'का लागि सुहाउँदो नायिकाको खोजी गरिरहेका सुरेश शान्तिको हाउभाउबाट प्रभावित हुन्छन्। आफ्नो फिल्ममा खेलाउँछन्।
सुरेश र शान्तिको सम्बन्धको हल्ला उनकी छोरीसम्म पुग्छ। छोरीकै कारण शान्ति फिल्म छोड्न बाध्य बन्छिन्। तर सुरेशले फिल्ममा काम गर्ने सम्झौताका आधारमा शान्तिलाई फर्काउने प्रयास गर्छन्।
सुरेशको प्रयास सफल होला कि नहोला? देवदास फिल्मको भविष्य कहाँ पुग्ला? सुरेश र शान्तिको भेटको अर्थ के होला? उनीहरूको गन्तव्य कहाँ होला? यसपछि फिल्मले यही कथा भन्छ।
कागज के फूल गुरू दत्तको 'प्यासा' जस्तै चर्चित फिल्म हो। तर यसको असफलताबाट गुरू दत्त नराम्ररी विक्षिप्त भएका थिए। उनको फिल्म निर्देशनमा मोहभंग गराउने यो फिल्म उनकै अटोबायोग्राफिक कथा मानिन्छ। यो फिल्म भिके मूर्तिको विम्बात्मक सिनेमाटोग्राफीका लागि पनि चर्चित छ। फिल्मको कथा र संवाद अबरार अल्वीको छ।
यसमा समावेश कैफी आजमीको शब्द, एस डी बर्मनको संगीत र गीता दत्तको आवाजको 'वक्त ने किया क्या हसी सितम' गीत आज पनि उत्तिकै चर्चित छ।
चौदहवीका चाँद (१९६०), निर्देशक एम सदिक
'चौदहवीका चाँद' त्यो वर्षको व्यवसायिक रुपमा सफल फिल्म हो। भनिन्छ, यो फिल्मले गुरू दत्तको प्रोडक्सन हाउस डुब्नबाट बचाएको थियो। गुरू दत्तले यो फिल्म निर्माण गरेका हुन्।
लखनऊ सहरको कथा भन्ने यो फिल्ममा पनि गुरू दत्त, वहीदा रहमानको जोडी दोहोरिएको छ। फिल्मको कथा भने तीन पात्रको वरिपरि घुम्छ।
असलम (गुरू दत्त) र नवाब (रहमान) सबभन्दा मिल्ने साथी हुन्। उनीहरू दुवै जमिला (वहीदा रहमान) को प्रेममा परेका हुन्छन्। तर आफ्नो साथीले पनि उही केटी मन पराउने कुराबाट उनीहरू बेखबर छन्।
जब यो खबर थाहा हुन्छ, असलम र नवाबको मित्रताको परीक्षा हुन्छ। दुई मित्रमध्ये कसले मित्रताका लागि प्रेम त्याग्छ? कसले आफूले रोजेको प्रेम पाउँछ? थाहा पाउन हेर्नुस्, चौदहवीका चाँद।
लखनऊ सहरको कला र सायरीको माहोल समेटिएको यो फिल्मको संगीत पक्ष सशक्त छ। फिल्ममा रविको संगीत र शाकील बदायुनीको रचनाका गीत छन्। मोहम्मद रफीको स्वरको 'चौदहवी चाँद हो या आफताब हो', गीता दत्तको आवाजको 'तदवीर से बिगडी हुई तकदीर बना ले' जस्ता गीत पनि फिल्मको उल्लेखनीय पक्ष हो।
साहिब, बिबी और गुलाम (१९६२), निर्देशकः अबरार अल्वी
यो फिल्म बंगला भाषी लेखक विमल मित्राको उपन्यास 'साहिब, बिबी और गुलाम' मा आधारित छ। फिल्मका निर्देशक अबरार अली र निर्माता गुरू दत्त हुन्।
फिल्ममा ब्रिटिशकालीन भारतमा बंगालको सामन्ती जमिनदारी प्रथाको ढल्दो समयको चित्रण छ। फिल्मको कथा पनि एउटा खण्डहर भत्काउँदै गरेको दृश्यबाट सुरू हुन्छ। अनि फ्ल्यास-ब्याकमा जान्छ।
फ्ल्यास-ब्याकको कथा ब्रिटिशकालीन कलकत्ताका परिवेशमा पुग्छ। गुरू दत्त भूतनाथ पात्रको भूमिकामा छन्। भूतनाथ आफन्त मार्फत चौधरी खानदाको हवेलीमा काम पाएर कलकत्ता पुग्छन्। सुविनय बाबुको यो हवेलीमा उनकी छोरी जबा (वहीदा रहमान) सँग भूतनाथले काम सुरू गर्छन्।
ठूला महल होऊन् वा साना झुप्री, मान्छेको दुःखको स्रोत उसको मन र शरीर हो। यो फिल्मका महलमा बस्ने पात्र आर्थिक रूपमा त सम्पन्न छन्, तर दुःखविहीन छैनन्। यो कुरा फिल्मको मुख्य पात्र भूतनाथले बिस्तारै थाहा पाउँछन्। उनी हवेलीका एक-एक पात्र र प्रवृत्तिसँग बिस्तारै परिचित हुँदै जान्छन्।
हवेलीमा एक दिन भूतनाथलाई छोटी बहु (मीना कुमारी) को निम्तो आउँछ। छोटी बहुका श्रीमान छोटे बाबु हरेक रात कोठीमा जाने कुराले उनी एक्लो भएको कुरा भूतनाथले थाहा पाउँछन्। उनीप्रति आकर्षित पनि हुन्छन्।
यिनै मुख्य पात्रको सेरोफेरोमा घुम्ने यो फिल्ममा हवेलीबाहिरको घटनाक्रम पनि जोडिँदै जान्छ। बेलायती उपनिवेशविरुद्ध भइरहेको आन्दोलन र त्यसबाट जमिनदारहरूको जीवनमा आउने उथलपुथलको असर यो हवेलीमा पनि पर्छ।
हवेलीभित्र र बाहिरको घटनाक्रमले भूतनाथको दृष्टिकोण मात्रै फेरिन्न, उनी आफैं ती घटनाक्रमबाट प्रभावित हुन पुग्छन्। ती घटनाक्रम र परिवर्तनका असरले दर्शकको मन लामो समयसम्म बिथोल्छ। यो नै यस फिल्मको मुख्य विशेषता हो।
सबै मुख्य पात्रको राम्रो अभिनय भएको फिल्मका महिला पात्रको चरित्र शक्तिशाली छ। फिल्ममा छोटी बहुको भूमिकाका लागि मीना कुमारीको खास चर्चा भएको थियो र उनले फिल्म फेयर अवार्ड समेत जितेकी थिइन्।
यसबाहेक यही फिल्मबाट उत्कृष्ट फिल्मका लागि गुरू दत्त, उत्कृष्ट निर्देशकका लागि अबरार अल्वी र सिनेमाटोग्राफीका लागि भिके मूर्तिले उक्त पनि अवार्ड पाएका थिए।
(प्रभाकर गौतमका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्)