नेपाली र्याप-हिपहप संगीतमा एक दशकदेखि सुनिएको नाम हो, युनिक पोयट।
करिअरको सुरूआती चरणदेखि नै उत्साह जोशीले युनिक पोयटका रूपमा आफ्नो 'युनिक' पहिचान बनाएका छन्। उनको क्रेज जति छ, त्यस अनुपातमा उनका गीत भने कम छन्।
उनले हालै देशको समसामयिक अवस्था चित्रण गर्दै 'मेरो देश बिरामी, तर पार्नेछौं यल्लाई ठीक एक दिन हामी' बोलको गीत ल्याएका छन्। आफ्नो युट्युब च्यानलमार्फत् सार्वजनिक यो गीतको भिडिओमा उनले कोरोना महामारी, भ्रष्टाचार, बलात्कार, 'इनफ इज इनफ' आन्दोलन लगायत पछिल्लो समयका जल्दाबल्दा घटना समेटेका छन्।
आइटी विषय पढेका युनिक प्रोग्रामिङमा रमाउँछन्। कमाइ पनि यसैबाट गरिरहेका छन्। हालै आइटीमा स्नातक सकेका उनी गत वर्ष कलेजबाटै पाँच महिनाको 'इन्टर्न' गर्न अस्ट्रिया पुगेका थिए। यो गीत अस्ट्रियामा इन्टर्नसिप गर्दै गर्दा लेख्न सुरू गरेको उनी बताउँछन्।
भन्छन्, 'विदेश बसेर देशको खबर पढ्दा, हेर्दा दुःख लाग्थ्यो। त्यही मुडमा शब्द कोरेर इन्स्टाग्राममा पोस्ट गरेको थिएँ। धेरै जनाले गीत बनाउनुपर्छ भन्दै हौस्याएपछि त्यसमै काम गरेको हुँ।'
उनी गत डिसेम्बरमा अस्ट्रियाबाट फर्केका हुन्। फर्केको केही महिनामै लकडाउन सुरू भयो। बाहिरबाट देखिनेभन्दा नाजुक अवस्था उनले नेपाल फर्केपछि महशुस गरे। त्यसपछि तत्कालीन घटनाक्रमका सन्दर्भ जोडेर उनले गीत पूरा गरे।
देश 'बेहाल' भएको देख्दा उनलाई घरि रिस उठ्थ्यो त घरि माया लाग्थ्यो। उनको गीतमा त्यो आक्रोश र माया दुवै भेटिन्छ।
'यत्रो महामारी र संकट बेला हामीले देख्न नचाहेका धेरै कुरा देख्नुपर्यो। भोग्न नचाहेका धेरै भोग्नुपर्यो। त्यही निराशा गीतमा उतारेँ,' उनी थप्छन्, 'तर निराशा मात्रै पोखेर भएन, आफ्नै लागि पनि सकारात्मकता त चाहियो। त्यसैले गीतमा समस्या उठान र समाधान दुवै कुरा छन्।'
जति बिग्रे पनि देशको अवस्था राम्रो बनाउने भाव बोकेको गीतको भिडिओमा भत्केको घरलाई देशको विम्बका रूपमा लिइएको छ र त्यसलाई बनाइरहेको देखाइएको छ। यो दृश्यलाई युवा पुस्ता देश बनाउन सक्षम छ भन्ने भावसँग जोडेर बुझ्न सकिने उनी बताउँछन्।
२६ वर्षीय युनिकको गीतमा हालै युवाहरूले गरेको 'इनफ इज इनफ' आन्दोलनका फुटेज पनि राखिएका छन्। युनिक आफ्नो गीतमा आफूजस्तै युवा पुस्ताकै सोच प्रतिविम्बित भएको ठान्छन्।
डोनब प्रोडक्सनले तयार पारेको भिडिओको 'कन्सेप्ट' देखि सम्पादनसम्ममा आफैं संलग्न रहेको उनी बताउँछन्। लकडाउन अलि खुकुलो भएपछि छायांकन गरिएको भिडिओमा भक्तपुर र पाटनका दृश्य छन्। भिडिओमा युनिकले आफूलाई र्यापमा स्थापित गर्ने यम बुद्धका फुटेज र साहित्यकार भैरव अर्यालको 'बेचबिखन' कविता प्रयोग गरेका छन्।
'सुरूमा गीतमा राजनीतिक भाषण राख्ने सोच थियो। तर म कलाकार भएकाले नेताको भाषणभन्दा कला क्षेत्रमा मैले सम्मान गर्ने भैरव अर्याल र यम बुद्ध दाइ रोजेँ,' उनी भन्छन्, 'मेरो निराशा, आशा र म नेपाली भएको यात्रालाई न्याय गर्छ जस्तो लाग्यो। उहाँहरूको बोली र मेरो बोली मिल्छ भन्ने लाग्यो।'
युट्युबमा 'मेरो देश बिरामी' ले हालसम्म १० लाखभन्दा बढी भ्यूज र साढे सात हजारभन्दा बढी कमेन्ट पाइसकेको छ। भ्यूजको हिसाबले युनिकको 'स्ट्रेट आउटा काठमाडौं', 'कालो' जस्ता गीत अगाडि छन्। तर 'मेरो देश बिरामी' हालसम्मकै सकारात्मक प्रतिक्रिया पाएको गीत भएको उनी बताउँछन्।
आफ्नै गीतहरू तुलना गर्दै उनी भन्छन्, 'पहिला लाइक गर्नेसँगै डिसलाइक वा गाली गर्ने अनुपात बढी हुन्थ्यो। यसपटक डिसलाइक कम छ।'
१७ जुलाईमा युट्युबमा अपलोड भएको यसको भिडिओमा १ लाखभन्दा बढी लाइक र ८०० हाराहारी डिसलाइक छन्।
युनिकले गत वर्ष जनवरी २४ मा आफ्नो दोस्रो एल्बम 'कालो' को 'इन्ट्रो' रिलिज गरेर प्रि-अर्डर समेत गर्न मिल्ने गरी वेबसाइटमा राखेका थिए। 'मेरो देश बिरामी' त्यही एल्बमको तेस्रो सार्वजनिक गीत हो।
'अब थप चार नयाँ गीत बनाएर एकैपटक एल्बम सार्वजनिक गर्ने तयारीमा छु,' उनले भने।
घरमै रेकर्ड गरेको 'हिपहप बुढा' बाट गीत रेकर्ड गर्न थालेका उनी 'मेरो देश बिरामी' सम्म आइपुग्दा आफूले निरन्तर नयाँ कुरा सिकिरहेको बताउँछन्।
'ट्रुथ बी टोल्ड (मिक्सटेप)' उनको पहिलो एल्बम थियो। सन् २०११ मा पहिलो एल्बमबाटै हिपहप प्रेमीमाझ चर्चा पाए पनि युनिकको खास चर्चा 'रअ बार्ज' को 'र्याप ब्याटल' बाट चुलिएको हो। यम बुद्धको नेतृत्वमा हुने र्याप ब्याटलबाट उनले पाएको 'हाइप' आजसम्म कायम छ।
रअ बार्ज ब्याटलका भिडिओ चर्चित छन्। तीमध्ये 'युनिक पोयट भर्सेस लाहुरे' को ब्याटल सर्वाधिक रूचाइएको छ। सन् २०१३ मा युट्युबमा अपलोड उक्त भिडिओले अहिलेसम्म झन्डै डेढ करोड भ्यूज पाइसकेको छ।
युनिक भन्छन्, 'मलाई मासमा पुर्याउने काम रअ ब्याटलले नै गरेको हो। आज पनि धेरैको नोस्टाल्जियामा म त्यही र्याप ब्याटलको फुच्चे हुँ।'
भक्तपुर बालकोटमा हुर्के-बढेका युनिक विद्यालयबाट फर्केर नियमित 'एमटिभी' हेर्थे। त्यही क्रममा उनले र्यापका हस्तीहरू चिन्न थाले। नाज, जे कोल, केन्ड्रिक लामार, इमिनेम र जे-जेड- यी पाँच अमेरिकी र्यापरबाट युनिक बढी प्रभावित छन्।
१६ वर्षदेखि नै 'र्याप हान्न' थालेका उनी साथीहरूमाझ चोटिला 'शब्द झार्न' खप्पिस मानिन्थे। विदेशी हिपहप सुन्ने उनी 'नेपहप' नामको फेसबुक पेज पछ्याउँथे। हजार-बाह्र सय सदस्य भएको त्यो पेजमा यम बुद्ध, गिरीश खतिवडा, मानष घलेजस्ता चर्चित र्यापरहरू सक्रिय थिए।
उनी सम्झन्छन्, 'रअ बार्ज सुरू हुनुअघि यम बुद्ध दाइले नो नेम क्याफेमा र्याप ब्याटल गराउनुभएको थियो। त्यसपछि र्याप प्रवर्द्धन गर्ने गतिविधि बढ्न थाल्यो। रअ बार्ज ब्याटलले धेरै प्रतिभावान् युवालाई ठाउँ दियो। नेपालमा हिपहपको क्रेज बढ्यो।'
उनी स्वयं पनि त्यही ब्याटलका कारण आजसम्म यो क्षेत्रमा टिकेको बताउँछन्।
'अरूका गीत सुन्दै र्याप हान्ने मैले ब्याटल गर्छु भन्ने सोचेकै थिइनँ। यम बुद्ध दाइले फोन गरेर आफूले होस्ट गर्ने ब्याटलमा सहभागी बन्नुपर्छ भन्नुभयो,' उनी सुनाउँछन्, 'त्यसपछि विदेशी ब्याटलहरू हेरेर अभ्यास गर्न थालेँ। आफूले लेख्न पनि थालेँ।'
ब्याटलमा भिड्ने बेला उनमा आत्मविश्वास थिएन। यसका लागि घरनजिकैका साथी बोलाएर उनका अगाडि र्याप हान्न थाले। भन्छन्, 'साथीले वाउ नभनुन्जेल अभ्यास गरिरहन्थेँ।'
त्यसपछि त युनिकलाई ती साथीजस्तै धेरैले 'वाउ' भने। अझै भनिरहेका छन्।
र्याप संगीतभन्दा शब्दलाई विशेष महत्व दिइने विधा हो। युनिक पनि सानैदेखि शब्दसँग खेल्न मन पराउँथे। उनले राखेको उपनाम पोयटले पनि उनको लेखनप्रतिको रूचि झल्काउँछ।
'अब त गीत लेख्ने बानी बसिसक्यो। केही न केही गर्नुपर्छ भन्ने सोच भएकाले दिमाग त्यतै गइराख्छ,' उनी भन्छन्। यही आदतले लेखन र संगीतलाई निरन्तरता दिइरहेका उनी लेख्नु र गाउनुलाई 'थेरापेटिक प्रोसेस' मान्छन्। त्यसैले सकेसम्म लेख्ने बेला सोच र भावनाको वेग जस्ताको त्यस्तै पोखिदिन मनपराउँछन्।
मनमा आएका कुरा जस्ताको त्यस्तै पोख्दा राम्रा-नराम्रा सबै कुरा निस्किन्छन् र उनको मन हलुका हुन्छ। 'खुलेर निर्धक्क आफूलाई पोखेपछि रिसराग कम हुन्छ। र्याप-हिपहपको सबभन्दा सुन्दर पक्ष यही हो कि!' उनी भन्छन्।
पहिला उनी प्रायः गीतमा 'डार्क मोमेन्ट' कैद गर्थे। अचेल सकारात्मक ऊर्जालाई पनि महत्वसाथ शब्दमा ढाल्ने अभ्यास गरिरहेका छन्। 'मेरो देश बिरामी' मा उनको सोचमा आएको परिवर्तन र परिपक्वता महशुस गर्न सकिन्छ।
गीत बनाउन आफ्नै मनभित्र र परिवेशका घटनाले प्रेरित गर्ने युनिकको भनाइ छ। 'पहिला अरूबाट प्रभावित भएर पनि गीत लेखिन्थ्यो। अचेल आफूले सेन्स गरेका कुरालाई पोख्ने सीप तिखार्दै छु,' उनी भन्छन्।
उनका अनुसार, राम्रो लेख्न र त्यसलाई प्रभावकारी अभिव्यक्त गर्न धेरै अभ्यास चाहिन्छ। र्यापमा अरू विधाका गीतजस्तो सुरिलो स्वरभन्दा अरू नै खुबी चाहिन्छ। 'दामी लेख्न सक्नुपर्यो र त्यसलाई मजाले रिदममा व्यक्त गर्न सक्नुपर्छ। व्यक्त गर्न ब्रेथ कन्ट्रोलका विधि पनि अभ्यास गर्नुपर्छ,' उनी भन्छन्।
युनिक शब्द व्यक्त गर्दा आफ्नो 'फ्लो' कसरी नयाँ बनाइराख्ने भन्नेमा उत्तिकै ध्यान दिन्छन्। सामान्यतया उनी सुरूमै कुन रिदममा गीत बनाउने बनेर सोच्छन्। त्यसपछि संगीतको बिट युट्युबतिर खोजेर निर्मातासँग छलफल गर्छन्।
'त्यसपछि बिट सुन्दै लेख्छु,' प्रायः एक बसाइमा लेखेर सकाउँछन् उनी। सकिएन भने फेरि त्यस्तै मुडमा शब्द पूरा गर्ने बताउँछन्।
युनिक हरेक गीतमा अघिल्लोभन्दा राम्रो र नयाँ गरौं भन्ने सोच्छन्। यही सोचले स्रोता-दर्शकले आफूलाई निरन्तर माया दिएको उनको बुझाइ छ। भन्छन्, 'न धेरै गीत बनाइयो, न धेरै कन्सर्टमा गाइयो। मेरा फ्यानलाई मैले अन्याय गरेको छु भन्ने लाग्छ।'
यसको कारण उनी आफैं खुलाउँछन्, 'दुई-चार हिट गीत बनाएर हराउने खालको काम गर्न चाहिनँ।'
युनिकलाई धेरै वर्षदेखि 'नेपहप किङ' वा अझै 'अन्डर-रेटेड र्यापर' भन्नेहरूको आज पनि कमी छैन।
'यो उहाँहरूको माया हो। यस्तो प्रतिक्रिया सुन्दा खुसी त लाग्छ तर म आफ्नै तालमा काम गर्न रूचाउँछु,' युनिक भन्छन्, 'मेरो प्रतिस्पर्धी म आफैं हुँ।'