पब्लिकेसन्स नेपालयले सरला गौतमको उपन्यास ‘डुमेरो’ सार्वजनिक गरेको छ। यो उपन्यासमा सानो शहरमा हुर्किएकी एउटी किशोरीले ठूलो संसारमा प्रवेश गर्ने क्रममा पहिचान खोज्दाको कथानक छ।
गौतमले पत्रकरिताबाट आफ्नो लेखन यात्रा सुरु गरेकी हुन्। उनले आफूलाई सामाजिक सरोकारमा मुखरित हुने आलोचनात्मक टिप्पणीकारको रुपमा स्थापित गरेकी छिन्। अखबारी स्तम्भमा सामाजिक र राजनैतिक मुद्दाहरूमाथि केन्द्रित हुने उनको यो पहिलो साहित्यिक कृति हो ।
पुस्तकको शैलीको बारेमा बोल्दै नेपालयकी भूषिता वशिष्ठ भन्छिन्, ‘सरलाले वकालत गर्ने भाषाको अराजनैतिकरणको धारणा उनको पुस्तकमा पनि देखिएको छ। उनले पात्रहरूका सशक्तीकरण, पहिचान र बद्लिँदा सम्बन्धहरूका गुत्थालाई क्लिष्ट वा प्राविधिक पदावली नराखी सरल र चलनचल्तीको भाषामा उधिनेकी छिन्। गौतमको शैली स्वच्छन्द र समसामयिक छ। पुस्तकले नेपालयको आख्यान प्रकाशनमा विविधता अँगाल्ने प्रतिबद्धतालाई पनि उजागर गरेको छ।’
शीर्षक ‘डुमेरो’ आफैंमा नौलो शब्द छ। कुनै गन्तव्यविहीन यात्रामा निस्किएको घुमन्ते अन्वेषकको अर्थ राख्ने यो शब्दले एकैसाथ अनेक प्रतीकात्मक अर्थ बोक्छ।
‘यो शब्द सुन्नमा लयालु त छँदैछ,’ सरला गौतम भन्छिन्, ‘तर यसका साथै यसको अर्थ पनि गहन छ। महिलाको पहिचानलाई घरेलुपनले सधैँ बन्धनमा पारेको हुन्छ। तर अब हामी इतिहासको मध्य मोडमा उभिएका छौं; जहाँ पुरुष र महिला लिंगको आधारमा मात्र परिभाषित हुने बेला छैन। अबको पुस्ताले अघिल्ला पुस्ताजस्तो किटान गरेर आफ्नो गन्तव्य तय गर्न सक्तैन। हाम्रा चुनौती अमूर्त छन्, संघर्ष नौला छन्। यस्तै चुनौती र संघर्षमा जेलिएको एक आम पात्रको कथा हो डुमेरो।’
महामारीको लगत्तै बजारमा आएको किताबबारे नेपालयकी सैजन मास्के भन्छिन्, ‘समय साँच्चै चुनौतीपूर्ण छ तर यो पुस्तकलाई अन्य पुस्तक झैं पाठकले रुचाउने कुरामा आशावादी छौं।’
नेपाली बजारको लागि ‘डुमेरो’ को मूल्य ४९५ रुपैयाँ निर्धारण गरिएको छ। देशका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध हुने यस उपन्यासको ई-बुक प्रतिलिपि भने थुप्रै डट कम (thuprai.com) बाट किन्न सकिन्छ। यो पुस्तक अनलाइन बिक्रेता अमेजनमार्फत् विश्वव्यापी रूपमा पनि उपलब्ध हुनेछ।