स्कुल पुग्न विद्यार्थीहरूले गर्नुपर्ने दैनिक संघर्षलाई केन्द्रमा राखिएका राम्रा वृत्तचित्रमध्ये 'मस्ट डेन्जरस वेज टु स्कुल' शृंखला चर्चित छ।
जर्मन प्रोडक्सन हाउस र डिस्कभरी च्यानलको निर्माणमा बनेको यो शृंखलामा भौगोलिक जटिलता र विकटताका कारण विद्यार्थीहरूले स्कुल पुग्न गरेको संघर्षलाई केन्द्रमा राखिएको छ।
यसमा केन्या, मंगोलिया, कोलम्बिया, रुस, भारतलगायत १४ वटा देशसहित नेपालसम्बन्धी वृत्तचित्र पनि छ। जर्मन निर्देशक जोकिम फोर्स्टरले बनाएको नेपालबारे वृत्तचित्रमा त्रिशूली नदी पारि पर्ने कम्पुर गाउँका विद्यार्थीहरूको जोखिमपूर्ण यात्राको सजीव चित्रण छ।
निर्देशक शान्ता नेपालीले यो शृंखलामा भएकामध्ये सुरूमा भारत, लद्दाखका विद्यार्थीको दिनचर्या समेटिएको वृत्तचित्र हेरेकी थिइन्। पत्रकार र वृत्तचित्र निर्देशकका रूपमा नेपालका कुनाकाप्चा र उकाली-ओराली यात्रा गरेकी उनलाई भारतको कथा पनि नेपालसँग मिल्दोजुल्दा लागेको रहेछ।
उनी भन्छिन्, 'त्यसपछि नेपालकै वृत्तचित्र हेर्दा झनै मन छोयो।'
वृत्तचित्रले उनको मनलाई खुसीले छोएको भने होइन। स्कुल धाउन हरेक दिन लामो बाटो हिँड्नुपर्ने कलिला नानीबाबुका कठिन दिनचर्या देखेर उनको मन छटपटाएको थियो।
'मस्ट डेन्जरस वेज टु स्कुल'को नेपालसम्बन्धी वृत्तचित्रमा कम्पुर गाउँको कथा छ। यस गाउँका अजीत, रवीन्द्र, सपनाजस्ता धेरै विद्यार्थी श्री आदर्श विद्यालयमा पढ्छन्। उनीहरूको गाउँबाट विद्यालय पुग्न हरेक दिन त्रिशूली नदी पार गरेर जानुपर्छ। नदी पार गर्न पुल नभएर उनीहरू तुइन प्रयोग गर्न बाध्य छन्। उनीहरूको यो दैनिकी निकै जोखिमपूर्ण छ।
शान्ता भन्छिन्, 'यो वृत्तचित्रमा देखाइएको दुःख र जोखिम नेपालका विभिन्न भेगका विद्यार्थीले प्रत्येक दिन भोग्ने समस्या हो।'
वृत्तचित्रमा नदी पार गरेपछि पृथ्वी राजमार्ग पुगेर विद्यार्थी फेरि सवारी साधनमा 'लिफ्ट' मागेर हतार हतार स्कुल पुग्छन्। तुइन चढ्दा होस् वा सवारीमा लिफ्ट माग्दा, कलिला विद्यार्थी अरूमा निर्भर हुनुपर्ने हुन्छ। दैनिक दुई-तीन घन्टा यात्रा गरेर विद्यालय पुग्दा उनीहरू थाकिसकेका हुन्छन्।
दिनभरिको पढाइपछि उनीहरू फेरि उही प्रक्रियाबाट घर फर्किन्छन्। यसरी सास्ती खेप्दै स्कुल पढ्नकै लागि आउने-जाने काममा उनीहरूको १२ घन्टा बित्छ। यसरी स्कुल पठाउन पर्दा उनीहरूका अभिभावकको मनमा नजानिँदो पीडाले सधैं घर गरिरहन्छ। छोराछोरी घर फर्केपछि बल्ल उनीहरूले शान्तिको सास फेर्छन्।
'यो वृत्तचित्र हेरेपछि हामी कति प्रिभिलेज्ड छौं भन्ने महशुस हुन्छ,' शान्ता भन्छिन्।
पूर्वी नेपालदेखि पश्चिमसम्म धेरै भेगमा डुलेकी उनले गोरखाको चेपाङ बालबालिकादेखि डोल्पाका हिमाली गाउँका विद्यार्थीको पीडा देखेकी छन्।
लामो दुरी, कठिन बाटो, प्राकृतिक प्रकोप र मौसमसँगै थपिने चुनौतीले नेपालका विद्यार्थीको मात्रै नभई आमजीवन नै कष्टकर बनाएको छ। शान्ताका लागि कम्पुर गाउँको जीवनले नेपाली समाजको आधारभूत समस्याको सशक्त चित्रण गर्छ।
कम्पुर गाउँका बालबालिकाले जस्तै नेपालका धेरै ठाउँका विद्यार्थीले आधारभूत शिक्षाका लागि गरेका संघर्ष आफ्नै आँखाले देखेकी छन्। यो वृत्तचित्र उनलाई मन पर्नुको एउटा मुख्य कारण पनि उनी यसैलाई मान्छिन्।
'वृत्तचित्रका धेरै कुरा बुझ्न र महशुस गर्न कल्पनाको सहारा लिनु परेन। हरेक दृश्य सम्बन्धित गर्न सकेँ,' उनी भन्छिन्।
यसमा विद्यार्थीमा शिक्षाप्रतिको भोक जबर्जस्त देखाइएको छ। सन्तानलाई पढाउने अभिभावकको प्राथमिकता पनि देख्न पाइन्छ।
शान्ता भन्छिन्, 'तुइनमा यात्रा गर्ने क्रममा आउने पात्रको चुनौतीलाई घटना र दृश्यले अनुभूति गराउँछ। यात्राबाहेक स्कुलभित्रका गतिविधि र गाउँको सन्दर्भ पनि अनुसन्धानसहित आएको छ।'
शान्ताको विचारमा हाम्रो जस्तो विकासोन्मुक देशका लागि वृत्तचित्र सशक्त माध्यम हो।
उनी आफैंले युद्धका क्रममा दुवै खुट्टा गुमाएका हरि बुढामगरको जीवनी 'नथिङ इज इम्पोसिबल' निर्देशन गरेकी छन्।
बेलायती सेनामा कार्यरत हुँदा हरिले अफगानिस्तानमा खटिएका बेला बम पड्केर दुवै खुट्टा गुमाउनु परेको थियो। त्यसपछिका दिनमा जीवन सामान्य अवस्थामा फर्काउन उनलाई सहज हुँदैन। तर पनि उनी सानैदेखिको सगरमाथा चढ्ने सपनातिर आकर्षित हुन्छन्। हरिले त्यो सपना पूरा गर्न सक्लान् वा त्यसमा असफल होलान्। शान्ताको वृत्तचित्रको मूल कथा यही हो।
यो वृत्तचित्र 'फोकस अन एबिलिटी २०१९' अन्तर्गत संसारभरबाट सबभन्दा बढी अनलाइन भोट पाएर अस्ट्रेलियाको सिड्नीमा पुरस्कृत भएको थियो।
'मस्ट डेन्जरस वेज टु स्कुल' वृत्तचित्र शृंखलाले पनि शिक्षाजस्तो आधारभूत सेवा पाउन नेपालजस्तै अरू देशका बालबालिकाले झेल्नु परेका संघर्ष सशक्त रूपमा देखाउन सफल भएको उनी मान्छिन्।
'यसमा देखाइएका कुरा यथार्थ हुन्। शृंखलामा भएका अन्य वृत्तचित्र हेर्दा अरु देशको अवस्थासँग पनि कनेक्ट भइन्छ। संसारभर यति दुःख गरेर बच्चाहरू पढ्न गइरहेका छन्,' उनी भन्छिन्, 'केका लागि, भविष्य बनाउनै त हो, यो कुराले छुन्छ। अरू देशका बच्चाहरू पनि सिम्बोलिक लाग्छन्।'
यी पनि पढ्नुस्ः
निर्देशक शेखर खरेललाई मनपरेको 'मसान'
लेखक केदार शर्मालाई मनपर्ने 'उजेली'
अभिनेता माओत्से गुरुङ भन्छन्ः मायाका भोकाहरूलाई 'लन्च बक्स'ले तृप्ति दिन्छ
रंगकर्मी निशा शर्माले तीन दशकमा ३ पटक हेरेको फिल्म 'पार', हेर्नुस् युट्युबमा
विपीन कार्की भन्छन्ः फिल्म 'क्याप्टेन फेन्टास्टिक'का जस्तै बुवा बन्न मन छ, हेर्नुस् युट्युबमा
'बुलबुल' निर्देशक विनोद पौडेललाई मनपरेको फिल्म 'डोर', हेर्नुस् युट्युबमा
दयाहाङ राईलाई मनपर्ने फिल्म- पाँच लाख किसानको लगानीमा बनेको 'मन्थन'