एउटा आउँदै गरेको रेल, अर्को विपरीत दिशामा जाँदै गरेको रेल। यो बलिउड फिल्म 'लन्च बक्स'को पहिलो दृश्य हो। कुशल निर्देशकहरूले पहिलो दृश्यबाटै आफ्नो फिल्मको विषयवस्तुबारे संकेत दिन्छन्।
नेपाली अभिनेता/निर्देशक माओत्से गुरुङ लन्च बक्सको सुरूआती दृश्यबाटै निर्देशकले धेरै कुरा बताउन खोजेको मत राख्छन्। उनलाई अत्यन्तै मन पर्ने यो फिल्ममा इरफान खान (साजन) र निमरत कौर (ईला) मुख्य र नवाजुद्दिन सिद्दिकी (शेख) को भूमिकामा छन्।
ईला र साजन दुई अलग पट्रीबाट आ-आफ्नै बेग्लै यात्रामा हिँडेका दुई रेलजस्तै छन्। साजन ३५ वर्षदेखि काम गरेर कार्यालयबाट अवकाश पाउनै लागेका कर्मचारी हुन्। अर्कोतिर, ईला गृहिणी हुन् जो सधैं श्रीमानका लागि लन्च बक्स तयार पार्छिन्। र, मुम्बई सहरमा सेवा प्रदान गर्ने डब्बावालाहरूको माध्यमबाट लन्च बक्स श्रीमानको कार्यालय पठाउँछिन्।
एक दिन गल्तीले ईलाले पठाएको लन्च बक्स साजनको टेबुलमा पुग्छ। यो गल्ती थाहा पाए पनि उनी साजनलाई लन्च बक्स पठाउन छोड्दिनन्। बरू, लन्च बक्समा उनी चिठी पनि पठाउँछिन्। साजनले पनि ईलाको चिठीको जवाफ पठाउँछन् र यी दुई अपरिचित पात्र लन्च बक्स मार्फत जोडिन्छन्।
माओत्से फिल्मका दुई अपरिचित मुख्य पात्रलाई जोड्ने निर्देशक रितेश बत्राको यो शैलीको खुलेर तारिफ गर्छन्।
भन्छन्, 'लन्च बक्सको कथा सरल भए पनि कथा भन्ने शैली खतरनाक छ।'
दुई पात्रलाई जोडेजस्तै फिल्मको हरेक घटना र सन्दर्भ बुन्ने शैलीबाट उनी प्रभावित छन्। यसलाई उनी पटकथा बुनाईको अब्बल सिप भन्छन्।
'यसको पटकथा बुनाईले दर्शकलाई सुरूदेखि अन्त्यसम्मै हलचल गर्न दिँदैन, बाँधेर राख्छ। हसाँउछ, भावुक बनाउँछ र अब के होला भन्ने जिज्ञासा जगाउँछ,' उनको भनाइ छ।
दुई मुख्य पात्रको भेटपछि पत्रपत्रमा उनीहरूको जीवन र मनबारे दर्शकले थाहा पाउँदै जान्छन्। पात्रलाई जति चिन्दै जान्छन्, उति उनीहरूप्रति माया बढ्दै आउँछ।
एक छोरीकी आमा ईला श्रीमानको व्यस्तता र बेवास्ताका कारण एक्ली हुन्छिन्। उनी मीठो परिकार बनाएर वा शृंगार गरेर श्रीमानको ध्यान तान्न खोज्छिन्। तर असफल हुन्छिन्। उता श्रीमतीको निधनपछि साजन पनि एक्लो जीवन काटिरहेका हुन्छन्।
माओत्से भन्छन्, 'लन्च बक्सको माध्यमबाट यी दुई पात्रको एक्लोपनको कथा फिल्ममा निकै सुन्दर ढंगले देखाइएको छ।'
साजन एक्लो भए पनि कार्यालय आउँदा जाँदा सधैं भीडमा यात्रा गर्छन्। कार्यालयमा काम गर्दा वा खाना खाने ठाउँमा पनि एक्लै हुन्छन्। भीडभाडमा पनि एक्लो साजन र परिवारसँगै भएर पनि एक्ली ईलाको जीवनमा लन्च बक्सले दुवैको मन भर्ने काम गर्छ। खानेकुराकै उदाहरण दिँदै माओत्से यो फिल्मलाई दर्शकको दिमागमा भोक जगाउने र मनलाई तृप्त बनाउने स्वादिलो सिनेमा मान्छन्।
'मायाका लागि मान्छे देखिराख्न, भेटिराख्न जरूरी छैन। मन खुला राख्यो भने श्रीमती वा श्रीमानबाट माया नपाए पनि त्यो भरिन सक्छ। मान्छे देख्नु, भेट्नु जरूरी छैन,' माओत्से अर्थ्याउँछन्, 'माया र सहाराले भोकाएका ईला र साजनको जीवनमा लन्च बक्सले दिने तृप्ति मायाको तृप्ति हो।'
यी दुईबाहेक फिल्मका अन्य पात्रहरू पनि एक्ला र अपूर्ण छन्। साजनको कार्यालयमा इन्टर्न गर्न आउने शेख हुन् वा ईलाको फ्ल्याटभन्दा माथ्लो तल्लामा बस्ने आन्टी।
लन्च बक्समा ईलाकी छिमेकी आन्टीको स्वर मात्रै सुनिन्छ। उनलाई कतै देखाइएको छैन।
'आवाजले मात्रै चिनिने ती पात्र सुरूमा अन्जान लाग्छिन्। तर बिस्तारै हाम्रो दिमागमा उनको आकृति बन्न थाल्छ। निर्देशकको यो शैली यति प्रभावकारी छ हामी उनलाई चिन्न थाल्छौं,' माओत्से लोभिँदै भन्छन्।
ती आन्टीजस्तै फिल्ममा अरू पनि केही पात्र छन्, जसबारे चर्चा हुन्छ तर देखाइँदैन।
उनी थप्छन्, 'चरित्रलाई आँखाले होइन, मनमा महशुस गर्न सकियोस्, दर्शकले दिमागमा आफैं आकृति कोरून् भनेर अपनाइएको शैली हो यो।'
लन्च बक्समा संवाद कम छ। माओत्सेका अनुसार, यो फिल्म बुझ्न यसको 'सबटेक्स्ट' बुझ्न जरूरी छ। यो फिल्म हेर्दा ठाउँ-ठाउँमा फरक पात्र र सन्दर्भलाई उस्तै 'इमेज', घटना र दृश्यले जोडिएको छ। लन्च बक्सका हरेक दृश्य वा घटनामा निर्देशकको सोच र सुझबुझ देखिने माओत्से बताउँछन्।
एक्लोपन र प्रेमको कथासँगै फिल्मले मुम्बई सहरमा लन्च बक्स ओसारेर मान्छेको भोक मेट्न महत्वपूर्ण योगदान दिने डिब्बावालाहरूको गतिविधि जीवन्त चित्रण गर्नमा पनि निर्देशकले विशेष मेहनत गरेको उनकाे मूल्यांकन छ।
माओत्से नेपाली र गुरुङ भाषाको फिल्ममा अभिनेता र निर्देशकका रूपमा स्थापित कलाकार हुन्। पोखराको रंगमञ्च पृष्ठभूमिबाट आएका उनको अभिनयका प्रशंसक धेरै छन्। आफैं राम्रा अभिनेता उनी लन्च बक्समा कलाकारको अभिनयलाई पनि फिल्मको सबल पक्ष मान्छन्।
नवाजुद्दिन र निमरतको अभिनय सराहना गर्दै उनी हालै दिवंगत इरफान खानको अभिनय विशेष मन परेको बताउँछन्। इरफानबारे उनले आफ्ना गुरू रंगकर्मी अनुप बरालबाट धेरै पटक सुनेका थिए। दिल्लीको नेसनल स्कुल अफ ड्रामामा इरफान अनुपका सिनियर थिए।
'इरफानको अभिनयमा संवादको खासै आवश्यकता पर्दैन। उनले निर्वाह गर्ने चरित्रले पहिला सुन्छ, महशुस गर्छ, रियाक्ट गर्छ अनि मात्रै बोल्छ। अब यो मान्छेले यस्तो बोल्छ भन्ने कुरा उनको शरीर र आँखाको हाउभाउले नै भनिसक्छ,' इरफानलाई चाँडै गुमाउनु परेकोमा उनले दुःखसमेत व्यक्त गरे।
आफूलाई मन परेको फिल्म भएको लन्च बक्स आफ्ना धेरै साथीलाई हेर्ने सुझाव दिएका छन्। यस पटक दोहोर्याएर हेर्दा उनलै श्रीमती प्रतीक्षा गुरुङलाई पनि हेर्न भनेछन्।
'लुकीलुकी उनको एक्सप्रेसन हेरेँ। उनी हाँस्दै, भावुक हुँदै फिल्म हेरिरहेकी थिइन्। तर फिल्मको अन्त्यले भने उनलाई अन्योलमा पार्यो,' उनी सुनाउँछन्।
'ओपन इन्डेड' फिल्मले दर्शकलाई 'इङ्गेज' गराउन र आफ्नै दृष्टिकोणबाट फिल्म बुझ्ने ठाउँ दिन्छ। माओत्से लन्च बक्सलाई त्यस्तै फिल्म मान्छन्।
चुस्त पटकथा, स्क्रिन प्ले, सिनेमाटोग्राफी र सम्पादन पनि उत्कृष्ट भएको लन्च बक्स कान फिल्म फेस्टिभलमा क्रिटिक्स विक भ्युअर्स च्वाइस अवार्ड जित्न सफल फिल्म हो।
यो पनि हेर्नुस्ः
रंगकर्मी निशा शर्माले तीन दशकमा ३ पटक हेरेको फिल्म 'पार', हेर्नुस् युट्युबमा
विपीन कार्की भन्छन्ः फिल्म 'क्याप्टेन फेन्टास्टिक'का जस्तै बुवा बन्न मन छ, हेर्नुस् युट्युबमा
'बुलबुल' निर्देशक विनोद पौडेललाई मनपरेको फिल्म 'डोर', हेर्नुस् युट्युबमा
दयाहाङ राईलाई मनपर्ने फिल्म- पाँच लाख किसानको लगानीमा बनेको 'मन्थन'