भित्तामा कैलाश खेर, पिंक फ्लोइड, बिटल्स, इगल्स्, बब मार्ली थिए। अरू विदेशी गायक र ब्यान्डका पोस्टर पनि सजिएका थिए।
महाराजगञ्जस्थित ‘भकारी भान्सा घर एन्ड बार’ का भित्तामा यी अनुहार नियाल्दै गर्दा टुप्लुक्क देखा परे– सञ्जय श्रेष्ठ।
‘ओहो! होटल त पूरै संगीतमय रहेछ त। तपाईंकै संकलन हो?’
हामीले यी झुन्डिएका पोस्टरबारे नै पहिले सोध्यौं।
‘हो। मसँग घरमा भएका कलेक्सनलाई नै यहाँ राखेको हुँ,’ सञ्जयले भने, ‘यी सबै मलाई मनपर्ने ब्यान्ड र गायक हुन्।’
हामीले कुरा गरिरहेका सञ्जय गायक हुन्, तिनै गायक जसले ‘माया मेरी माया, मुसुमुसु हाँसी देऊ, एउटा गाउँ थियो’ लगायत चर्चित गीत गाएका थिए। २० वर्षअघिका उनका यी गीत धेरै नयाँ पुस्ताले पनि रुचाएका छन्।
तै सञ्जयको ‘चार्म’ भने नयाँ पुस्तामा देखिन सकेको छैन। उनी अचेल सांगीतिक क्षेत्रमा खास सक्रिय पनि देखिन्नन्।
सुमधुर स्वरका धनी सञ्जय केमा व्यस्त भए?
उनका समकालीनहरू धमाधम संगीतमा ‘कमब्याक’ भइरहेका बेला उनी किन चुपचाप नै छन्?
के सञ्जय सांगीतिक क्षेत्रमा अब फेरि चम्किन्नन्?
हामी यिनै प्रश्नको ठेली लिएर उनलाई भेट्न गएका थियौं। हामीलाई उनले गीत–संगीतसँग बिताएका दिनहरूका बारे पनि सुन्नु थियो।
‘सानोमा मुरली बजाउँथे। पछि साथीहरूको लहलहैमा गीत गाउन थालेँ,’ उनले भने, ‘अनि यही दौडमा ‘क्रसरोड्स’ ब्यान्ड पनि बनाइ हालियो। गायक पनि बनेँ।’
उनी जनकपुरमा जन्मिएका हुन्। परिवारमा कोही पनि सांगीतिक क्षेत्रमा छैनन्। उनले भने यसैमा सपना देख्न थाले। ‘करिअर’ बनाउने निधो गरे। घरमा कसैले नहिँडेको बाटो भए पनि उनलाई यो यात्रामा कसैले रोकछेक नगरेको उनी बताउँछन्।
उनी आफ्नो सपनातिर लम्किए– क्रसरोड्स हुँदै।
तर सञ्जयको क्रसरोड्स ब्यान्डलाई सुरुमा कसैले पत्याएनन्। उनको स्वरमा सजिएका गीत सार्वजनिक गर्न कुनै कम्पनीले चाहेन। कतिले त फालिदिए नै।
उनले हरेश खाएनन्।
‘हाम्रो सानो ब्यान्डको गीत घरि यता घरि उता घुम्यो। बल्लतल्ल एउटा सानो कम्पनीले निकाल्न मान्यो,’ सञ्जयले सुरुआती दिन सम्झँदै भने, ‘सुरुमा सबैले आनाकानी गरेको गीत आखिरमा रिलिज भयो। रातारात हिट भयो।’
त्यो गीत थियो– माया मेरी माया।
उनका अनुसार यो गीत त्योबेला लेखिएको हो जतिबेला यहाँका युवाहरू अमेरिका जाने क्रम बढेको थियो। युवा अवस्थामा प्रेमी–प्रेमिका वा श्रीमान–श्रीमती छाडेर जानेहरूको भावना पनि यसमा समावेश छ।
उनी यसलाई माया, मिलन–बिछोडसँगै राष्ट्रिय गानका रुपमा पनि लिन्छन्।
भन्छन्, ‘यसले हाम्रा युवाहरूको विदेश पलायनबारे पनि देखाउँछ नि।’
उनको पहिलो गीत नै क्रसरोड्सको टर्निङ प्वाइन्ट बन्यो। संगीत, विशेषगरी गितार सिक्नेहरूको पहिलो रोजाइ सञ्जयकै पहिलो गीत हुन्थ्यो।
यतिबेलासम्म उनी संगीतसँग जोडिइसकेका थिए। यसमै खुट्टा टिकाइराख्न जरूरी थियो। तर यसको आर्थिक भार थाम्न सक्ने स्थितिमा थिएनन्।
‘अरू गीत पनि निकाल्नु थियो,’ उनले भने, ‘पैसा जुटाउन मैले आफ्नो कम्पनी नै बेचिदिएँ।’
उनको ट्राभल एजेन्सी थियो।
‘संगीतप्रतिको मोह भनेको यस्तै रहेछ,’ उनले भने, ‘घरपरिवारले आम्दानीको स्रोत बेचेको भनेर कम्ता गाली गरेनन्।’
उता सञ्जयले पैसा कमाउने कम्पनी बेचे, यता संगीतिक क्षेत्रमा नाम कमाए। गीतका प्रशंसकहरू बढ्दै गए। कसै–कसैलाई उनी भेट्थे पनि। उनीहरूको माया र प्रशंसाले हौसला मिल्थ्यो।
यस्तै प्रशंसकमध्ये कसैले त रगतले नै चिठी लेखेर पठाएको उनी सुनाउँछन्।
‘खोइ! रगत खसीको थियो कि कुखुराको, थाहा भएन। तर रगतले नै लेखेर पठाउँथे,’ उनले हाँस्दै भने, ‘आफ्नै रगतले लेख्नु त खतरा हुन्छ नि।’
यसरी आएका चिठी अझैसम्म सुरक्षित राखेको उनले सुनाउँदा हामी अचम्म पर्यौं।
उनी साँच्चै आफ्ना फ्यानलाई माया गर्ने रहेछन्। आफ्नो सांगीतिक यात्राका भोगाइ र अनुभवहरू भुलेका छैनन्। उनी ‘हिट’ थिए, धेरैको मनमा बसेका।
‘अनि एकाएक तपाईं कसरी हराउनु भयो त,’ गीत–संगीतसँग बितेका उनको समयबारे सुनिसकेपछि हामीले सोध्यौं।
‘व्यवसायमा अलि व्यस्त भएँ,’ उनले भने, ‘अनि फिल्मका गीतमा गाउन थालेकाले अलि चर्चामा नआएको हुँला।’
सञ्जयका अनुसार उनले विभिन्न फिल्महरूमा १४ वटा गीत गाइसकेका छन्। पहिले ट्राभल एजेन्सी बेचेका उनको अहिले विज्ञापन एजेन्सी छ। नेपाल टेलिकम, चोकोफन, शिखर सु, युटिएल लगायत धेरै कम्पनीका विज्ञापन उनले बनाएका छन्। यिनमा संगीत पनि आफैंले दिएका छन्।
‘पहिले जस्तै गीत पनि निकालिरहेको छु,’ उनले भने, ‘यसै वर्ष ‘मेरी आमा’ बोलको गीत आएको थियो।’
तर यसले उनलाई नयाँ पुस्तामाझ ‘सञ्जय श्रेष्ठ’ को चर्चा भने दिन सकेको छैन।
‘म अरू काममा व्यस्त हुन्छु,’ उनले भने, ‘गीतमै सबै मिहिनेत दिन नसकेर पनि होला।’
‘गायनपछि मेरो रूचि चित्रकला हो। विषेशगरी, पोट्रेट बनाउन रुचाउँछु। कहिले बेच्छु पनि,’ सञ्जयले हामीलाई उनका थाहा नभएको पाटो सुनाए। ‘मेरी आमा’ गीतको भिडियोमा प्रयोग भएका स्केच पनि उनी आफैंले बनाएका रहेछन्।
हालै उनी एउटा नयाँ म्युजिक भिडियोमा झुलुक्क देखापरेका छन्। केही साताअघि रिलिज भएको सचिन रौनियारको ‘ए मान्छे’ गीतमा सञ्जय, सचिन, बबिन प्रधान र भिम तुलाधरलाई देख्न सकिन्छ। यी चारै जना समकालीन गायक हुन्।
छोटै भए पनि धेरै वर्षपछि उनलाई प्रशंसकले भिडियोमा देख्न पाएका छन्। सचिनसँगै धेरैले उनको पनि ‘कमब्याक’ हुन लागेको संकेत बुझेका छन्।
हामीले सञ्जयसँगै बुझ्न चाह्यौं।
‘त्यस्तो विशेष केही होइन,’ उनले प्रस्ट्याए, ‘सचिनलाई १२ वर्षपछि सांगीतिक क्षेत्रमा पुनः प्रवेश गरेकोमा बधाई दिन गरिएको हो।’
उनी अचेल संगीत क्षेत्रमाभन्दा अरू काममै व्यस्त रहेछन्। हामी बसिरहेको ‘भकारी भान्सा घर एन्ड बार’ मा पनि उनको लगानी रहेछ।
व्यवसाय मात्र होइन, उनी राजनीतिमा पनि व्यस्त छन्। संविधानसभा चुनाव–२०७० मा उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं–६ क्षेत्रबाट उठेका थिए।
‘संगीत, चित्रकला, व्यवसाय अनि राजनीतिमा पनि?’
‘म अझै राजनीतिमै छु। राजावादी मान्छे पनि हुँ,’ उनले आफ्नो धारणा प्रस्ट्याउँदै भने।
सञ्जयको यो ‘राजावादी’ धारणा उनका सामाजिक सञ्जालमा पनि पोखिएका छन्। फेसबुकमा उनले श्रीपेच, राजा र उनको समर्थनका पोस्टहरू राखिरहेका हुन्छन्।
योसँगै उनले दुई वर्षअघि पूर्व राजा ज्ञानेन्द्रसँगको एउटा क्षण पनि सुनाए।
उनकाअनुसार ज्ञानेन्द्रले आफ्ना भान्जा–भान्जीलाई संगीत सिकाउन उनलाई बोलाएका थिए। १९ दिनसम्म। अन्तिममा उनीहरूले ज्ञानेन्द्रका सामु प्रस्तुति पनि गरे।
‘त्योबेला राजाले मलाई बोलाउनु भयो र बधाई दिँदै अंकमाल गर्नुभयो,’ उनले भने, ‘उहाँ खुसी हुनुभयो। अनि आफूले मन पराएको व्यक्तिले अंकमाल गर्नु मेरो जीवनको सबभन्दा यादगार पल हो।’
‘अनि अरूलाई पनि संगीत सिकाउने गर्नुभएको छ?’
‘कहाँ सिकाउनु? त्यो त हावामा सिकाएको। राजाले भन्नुभएकाले,’ उनले भने, ‘मलाई कहाँ सिकाउन आउँछ र?’
अनि हामी उनका अरू रूचितर्फ लाग्यौं।
‘तपाईं आफूलाई चाहिँ कस्तो संगीत मनपर्छ?’
उनले यो प्रश्नको मात्रै जवाफ दिएनन्। संगै मनपर्ने अभिनेता र अभिनेत्रीको पनि नाम सुनाए।
‘गीतमा नारायण गोपाल, अभिनेतामा सलमान खान र अभिनेत्रीमा स्वस्तिमा खड्का।’
उनलाई नारायण गोपालका गीत कहिल्यै पुराना लाग्दैनन्।
‘सधैं गुन्गुनाइरहुँ लाग्ने। अचेल एकैछिनमा हिट हुने तर सुनिरहुँ लाग्ने गीत नै बन्दैनन्। त्यसैले अरू गीत खासै सुन्दिनँ,’ उनले भने।
‘अनि सलमान खान र स्वस्तिमा चाहिँ?’
‘सलमानको फिल्म त फस्ट दिन, फस्ट शो हो नि,’ उनले उत्साहित हुँदै सुनाए, ‘स्वस्तिमाको भने एउटा पनि फिल्म हेरेको छैन। तर निकै राम्री लाग्छ। कुनै समय उनैको फोटो कम्प्युटरको डेक्स्टपमा राखेको थिएँ।’
‘अनि मनपर्ने कलाकारको पोट्रेट बनाउनु भएन?’
‘हाहा,’ उनले हाँस्दै भने, ‘स्वस्तिमाको बनाइदिन्छु भनेको थिएँ। तर भ्याएकै छैन।’
थुप्रै क्षेत्रमा व्यस्त भए पनि उनी कुनै न कुनै रुपमा संगीतसँग जोडिनै रहेका हुन्छन्।
भकारी भान्सा घरमा हरेक शुक्रबार सांगीतिक प्रस्तुति हुन्छ। विभिन्न नयाँ सांगीतिक ब्यान्डलाई उनले गीत गाउने अवसर दिने गरेको उनले सुनाए।
उनी सांगीतिक भ्रमणमा पनि जाँदैछन्।
‘फेब्रुअरीमा युरोप टुर छ, जुलाइमा युके र सेप्टेम्बरमा अमेरिका,’ उनले भने, ‘संगीतमा केही समय ओझेल भएको हो। तर म हराएकै भने छैन।’
योसँगै सञ्जय नयाँ शैलीमा गीत निकाल्ने तयारीमा पनि रहेछन्।
जनकपुरको मैथिली समाजमा हुर्किएका उनी मिथिला संस्कृतिसँग नजिक छन्। यसैले त्यही संस्कृतिसँग जोडिएर काम गर्न चाहेको उनी बताउँछन्।
‘यो गीत रक फ्यूजन बनाउने तयारी छ,’ उनले आफ्नो योजना सुनाए, ‘यो गीतबाट मेरो कमब्याक हुन पनि सक्छ, नहुन पनि।’
सबै तस्बिरः नारायण महर्जन/सेतोपाटी