सरकारले चुरे उत्खनन र क्रसर उद्योगको मापदण्ड खुकुलो पार्दै भारत निकासी खोल्ने तयारी गरेपछि एक पूर्वसचिव एकाएक चर्चामा छन्। उनी हुन्, पूर्व शिक्षासचिव विश्वप्रकाश पण्डित।
सिंहदरबारमा छँदा उनका मुख्य तीन छवि थिए- घुस नखाने, धनी र आध्यात्मिक कुरा गर्ने।
यी तीन छवि बनाएका उनको राजनीतिक पहुँच नहुने कुरै भएन। सरकारी जागिरबाट अवकाश पाइसकेपछि पनि शक्तिकेन्द्रको यति नजिक छन्, क्रसर उद्योग र चुरे क्षेत्रमा उत्खननको मापदण्ड खुकुलो बनाउने प्रस्ताव उनैले लेखेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष पुर्याए।
सेतोपाटीसँग कुराकानीको सुरूआतमै पण्डितले उत्खनन र क्रसरको मापदण्ड खुकुलो बनाउन आफूले लबिङ नगरेको दाबी गरे। सँगसगै, अहिलेको मापदण्ड व्यवहारिक नभएकाले त्यसलाई बदल्नुपर्ने र नेपालमा चाहिनेभन्दा बढी ढुंगागिटी भारत निकासी गर्नुपर्ने वकालत पनि गरे।
अहिले तोकिएको मापदण्ड मान्ने हो भने क्रसर उद्योग चलाउन सम्भवै नहुने उनको तर्क छ। ‘खोला र राजमार्गभन्दा ५ सय मिटर, वन र बस्तीभन्दा १ किलोमिटर टाढा राख्ने हो भने क्रसरका लागि ठाउँ नै हुन्न,’ उनले भने, 'नेपालमा गाउँ सकिएपछि वन सुरु हुन्छ, राजमार्ग र खोलाबाट ढुंगा झिक्न त्योभन्दा टाढा उद्योग राख्नुपर्छ भन्ने मापदण्ड अव्यवहारिक छ। सरकारले नै पूर्वाधार बनाइदियोस् यो मापदण्ड पूरा गर्न क्रसर उद्योगीहरु तयार छन्।'
पण्डितलाई क्रसर उद्योगको यति बिघ्न चासो यसकारण छ, किनकि उनी आफैं क्रसर उद्योगी हुन्। कतिपय कर्मचारी र क्रसर व्यवसायीका भनाइमा उनी ‘क्रसर डन’ नै हुन्।
‘नचलेका उद्योगसमेत उहाँले ओगटेर राख्नुहुन्छ, अहिले नचले पनि पछि भारत निकासी खुल्यो भने मज्जाले चल्छन् भन्ने उहाँको मनसाय बुझिन्छ,’ पण्डितनिकट एक स्रोतले भन्यो।
उनले आफ्ना दुईवटा मात्रै क्रसर उद्योग भएको बताए पनि यो क्षेत्रका जानकार उनका धेरै उद्योग भएको दाबी गर्छन्।
‘इमानका साथ सरकारी जागिर खाएको मान्छे कसरी क्रसर उद्योगमा आइपुग्यो भनेर मिडियाले बुझेन,’ उनले गुनासो गरे, ‘उल्टो मलाई क्रसर डन भनेर लेखे।’
कास्कीमा जन्मिएका पण्डित २०३५ सालमा सरकारी सेवामा प्रवेश गरी २०३८ सालमा शाखा अधिकृत भएका थिए। दोस्रो पोस्टिङ बेला ‘राम्रो ठाउँमा जाने’ इच्छा सुनाउँदा बुबाले उनलाई राम्रो ठाउँको अर्थ सोधे।
‘तिमी राम्रो ठाउँ जाने भनेको त घुस खाने ठाउँ हो। तिमीले सरकारी जागिरमा गएर घुस खान पाउँदैनौ,’ बुबाले विश्वप्रकाशलाई भनेछन्।
उनका बुबा कांग्रेस कार्यकर्ता थिए। जुझारू र आदर्शवान कार्यकर्ता, जसले बाहुन भइकन हलो जोतेर विद्रोह गरेका थिए। त्यो बेला बाहुनले हलो जोत्नु हुन्न भन्ने थियो। सामाजिक परम्पराविपरित उनले हलो मात्र जोतेनन्, दलितहरुसँगै बसेर खाए।
ती आदर्शवान पिताको कुरा पण्डितले नाघेनन्।
‘बुबासँग मैले जिन्दगीमा भ्रष्टाचार नगर्ने कसम खाएँ र कहिलै गरिनँ पनि,’ उनले भने।
तपाईंले घुस खानु भएन तर सम्पत्ति कमाउनुभयो, होइन?
‘घुस नखाने भएपछि मेरासामु तीनवटा विकल्प थिए- भएभरको पुर्खौली सम्पत्ति रित्त्याउने, निम्छरो जीवन बाँच्ने, केही उद्योग व्यापार गरेर राम्रो जीवन बिताउने,’ उनले भने, ‘मैले अन्तिम विकल्प रोजेँ।’
२०४९ सालतिर उनले कलंकीमा ६० रोपनी जग्गा किनेर त्यसलाई प्लटिङ गरे। कलंकीको अर्किड कोलोनी उनैले विकास गरेका हुन्।
उनलाई नजिकबाट चिन्ने कर्मचारीहरु भन्छन्, त्यसपछि उनले निरन्तर जग्गाको काम गरे। जग्गा कारोबारबाट मात्रै उनले करोडौं कमाएको उनी निकटहरुको अनुमान छ।
पण्डितले भने अर्किड कोलोनी विकास गरेपछि अरू जग्गाको काम नगरेको दाबी गरे।
क्रसर व्यवसायीसँग उनको सम्बन्ध जोडिएको भने २०६५ सालपछि मात्र हो।
‘मलाई अध्यात्ममा सुरूदेखि नै रुचि हो। आश्रम बनाउने, पछि गएर त्यहीँ बस्ने रुचि थियो,' उनले भने, 'एक जना भाइले पछि आश्रम बनाउने भए क्रसर उद्योगमा लगानी गर्नुस् भनेर सुझाए।’
उदयपुरको फत्तेपुर बजारमा क्रसर लगार ढुंगागिटी भारत निकासी गर्ने कुरा उनलाई जच्यो। तर, कानुनले सरकारी कर्मचारीलाई नाफामुखी उद्योगमा लगानी गर्न रोक लगाएको थियो। उनले फेरि पनि कानुनका पाना पल्टाए। आफूभन्दा माथिका निकायलाई सोधे। त्यसपछि उनलाई थाहा भयो, परिवारका सदस्यले भने उद्योग खोल्न पाउने रहेछ।
उनले यही बाटो समाते।
पत्नीका नाममा २५ प्रतिशत सेयर लगानी गरेर साझेदारी कम्पनी खोले। खोलाबाट ढुंगा निकालेर भारत निकासी सुरु भयो। यसले राम्रो कमाइ हुन थाल्यो।
कम लगानीमै मुनाफा हुने यो उद्योगमा उनको रस बस्यो। उनले यस्तै उद्योग तनहुँको कोत्रेमा पनि खोले। कोत्रेको ढुंगा नेपालभरमा दोस्रो राम्रो मानिन्छ। आफ्नो गाउँ नजिक भएकाले पनि उनलाई त्यो सुरक्षित ठाउँ लाग्यो।
विस्तारै उनले हेटौंडा, नवलपरासी र ललितपुरमा पनि आफ्नो परिवार र नातेदारहसँग मिलेर क्रसर उद्योग राखे। हामीसँगको कुराकानीमा भने उनले उदयपुरको क्रसर नै हेटौंडा र पछि नवलपरासी सारेको दाबी गरे।
हेटौंडा जिल्ला विकास समिति स्रोतले भने अझै पनि एउटा क्रसर त्यहाँ विश्वप्रकाशकै लगानीमा चलिरहेको बताएको छ।
२०६७ सालमा सर्वोच्च अदालतमा क्रसर उद्योगहरुविरूद्ध मुद्दा पर्यो। त्यसपछि उनले केही समय व्यवसाय बन्द गर्नुपर्यो। सर्वोच्चले पछि खोलिदियो। भारत निकासी भने सर्वोच्चकै आदेशले रोकियो। मापदण्ड बनाएर मात्र क्रसर चल्न दिने सर्वोच्चको फैसलाअनुसार सरकारले पहिलोपटक मापदण्ड तोक्यो।
२०६७ सालमा आएको मापदण्ड अहिलेको भन्दा कडा थियो। त्यसलाई २०७१ सालमा केही खुकुलो बनाइयो। अहिले क्रसर उद्योगीहरुले 'बजारमा ढुंगागिटी अभाव भएको' दाबी गर्दै त्यो मापदण्ड थप खुकुलो पार्नुपर्ने ‘लबिङ’ गर्दै आएका छन्।
पण्डितले भने त्यस्तो अभाव नरहेको स्वीकार्छन्। भारत निकासी प्रतिबन्द भएपछि आफूहरुसँग अहिले धेरै नै ढुंगागिटी स्टक रहेको उनले बताए।
‘ढुंगागिटी उचित मूल्यमा बेच्न नपाएर अहिले म ऋणमा छु,’ उनले भने, ’नवलपरासी र कोत्रे दुवै ठाँउमा ढुंगागिटी स्टक छ।'
सेतोपाटीसँगको लामो संवादमा उनले ढुंगागिटीको मापदण्ड किन खुकुलो गर्नुपर्छ, किन यसको निकासी खुला गर्नुपर्छ, किन खोलामा थुप्रिएर रहेका ढुंगागिटी उठाएन भने बाढी र कटानले मधेस उजाड हुन्छ भन्ने तर्क गरे।
‘मधेसका खोलानालाबाट ढुंगा, बालुवा झिकेन भने कुनै दिन तराई पुरिन्छ,’ उनले भने।
पण्डितले आफ्नो व्यावसायिक हितअनुसार तर्क गरेका हुन्। यथार्थ भने त्यस्तो हैन।
चुरे आसपासका क्षेत्रबाट जति धेरै ढुंगागिटी निकाल्यो, त्यति धेरै माथिबाट बगेर आउँछ र खोलो फेरि पुरिन्छ। खोलाको प्राकृतिक प्रक्रिया नै त्यही हो। त्यसैले खोला धेरै दोहन हुन थाल्यो भने चुरे थप बग्न थाल्छ। चुरे र मधेसको विनास त्यसैले गर्ने हो। खोलाबाट ढुंगा, बालुवा कति निकाल्ने भन्ने मुख्यत: सन्तुलनको विषय हो। चुरेभन्दा तल भावर क्षेत्रमा थुप्रिएको ढुंगागिटी एउटा निश्चित मात्रामा निकाल्न मिल्छ। धेरै गहिरो गरी निकाल्यो भने फेरि माथिबाटै बगेर आउँछ। त्यसले चुरेको सन्तुलन खलबल्याउँछ। कतिसम्म निकाल्ने भन्ने राष्ट्रपति चुरे संरक्षण समितले मापदण्ड नै तोकेको छ।
त्यो मापदण्डको अहिले पनि पालना भएको छैन। अवैध रुपमा काम गर्ने व्यवसायी, कर्मचारी र राजनीतिज्ञको हातेमालो यति कसिलो छ, त्यसको विरोध गर्ने स्थानीय र केही इमानी कर्मचारीहरु प्रताडित भएका छन् (हेर्नुहोस् रिपोर्ट)।
अहिले सीमित माग हुँदा त चुरेमा अनाधिकृत ढुंगागिटी दोहन हाबी छ भने भोलि भारत निकासी खुला भए पैसाको तागत यति बढ्छ, कसैले नियमन गर्न सक्दैन। निकासी खोल्नुपर्ने, ढुंगा बालुवाजस्तो प्राकृतिक श्रोतको उपयोग गर्नुपर्ने तर्क गर्दागर्दै पण्डितले भने आफू यो व्यवसायमा ‘फसेको’ र 'बैंकको ऋण तिर्नेबित्तिकै हात झिक्ने' बताए।
‘एकपटक स्टकमा भएको ढुंगागिटी पार लगाउन पाएँ भने म त्यसपछि यो व्यवसाय छाडिदिन्छु,’ उनले भने, ‘म अन्तत: जाने त आश्रममै हो।’
यो पार लगाउन उनी यति लागिपरेका छन्, क्रसर व्यवसायीका तर्फबाट प्रधानमन्त्रीसँग उनैले लबिङ गरेका हुन्। सेतोपाटीसँगको कुराकानीमा भने सुरूमा उनले प्रधानमन्त्रीसँग आफ्नो पहुँच रहेको अस्वीकार गरे। उनले प्रधानमन्त्रीसँग आफ्नो भेट नै नहुने गरेको दाबी पनि गरे।
‘सेना पुलिसको घेराभित्र बस्ने प्रधानमन्त्रीसँग मेरो भेट हुनै गाह्रो छ, उहाँका नजिकका मान्छेले मलाई कांग्रेसी ठान्छन्,' उनले भने, ‘सोल्टी होटल-सोटलको क्रार्यक्रममा गएका बेला उहाँलाई ढुकेर ढोकामा बसे मात्रै मेरो भेट होला।’
जिन्दगीभर खाँटी कांग्रेस भनेर चिनिएका पण्डितले प्रधानमन्त्री दाहालसँग आफ्ना कान्छा ससुरामार्फत् सम्बन्ध बनाएको धेरैको अनुमान छ। उनका कान्छा ससुरा रामचन्द्र भण्डारी दाहाल पहिलोपटक प्रधानमन्त्री हुँदा उनका सरकारी अंगरक्षक थिए। पण्डितका आफ्नै ससुरा पनि पूर्वडिएसपी हुन्। उनको पनि दाहालसँग राम्रो चिनजान भएको पारिवारिक स्रोतले बतायो।
आफ्ना ससुराको नाममा रहेको ललितपुरको देवीचौर गाविसस्थित ढुंगा खानी र क्रसर उद्योगमा पनि पण्डितले लगानी गरेका छन्। दाहाल पहिलोपटक प्रधानमन्त्री भएको बेलादेखि नै पण्डितको दाहालसँग उठबस बढेको हो।
मापदण्ड खुकुलो पार्ने र ढुंगागिटी निकासी खोल्ने गरी प्रधानमन्त्रीले ल्याउन खोजेको ठाडो प्रस्ताव पण्डितले नै तयार पारेको प्रमाण सेतोपाटीले फेला पारेको जिकिर गरेपछि भने पण्डित गले। उनले प्रधानमन्त्रीलाई आफूले प्रस्ताव दिएको स्वीकार मात्र गरेनन्, आफ्नो फाइलबाट उक्त प्रस्तावको एउटा पन्ना निकालेर देखाउँदै भने, ‘मैले त्यही स्टकमा रहेको ढुंगागिटी मात्र निकासी गर्न दिने गरी प्रस्ताव तयार गरेको हुँ।’
उनले सांसारिक जीवनबाट सन्यास लिने कुरा दोहोर्याउँदै भने, 'मैले अघि नै भनिसकेँ, म यो पार लगाएर ऋण तिरेपछि क्रसर उद्योग छोडिदिन्छु।’
उनले जतिपटक ऋण तिरेपछि क्रसरको काम छोड्ने बताए, त्यति नै पटक ‘छोराहरुको क्रसर वा अरु उद्योग गर्ने अधिकार भने आफूले खोस्न नसक्ने’ बताइरहे।
उनको भनाइको संकेत प्रस्टै छ- कदाचित् उनी आश्रम गए भने पनि क्रसर उद्योग उनको परिवारसँगै रहनेछ।
धेरै मानिस यो वा त्यो काम सकेपछि सांसारिकता छाडेर अध्यात्मतिर लाग्छु भन्छन्, तर त्यहीबीच कतै अल्झिन्छन्। केही मात्र यस्ता योगी हुन्छन्, जसले अध्यात्म र सांसारिकतालाई सँगसँगै लैजान सक्छन्।
पण्डित भने सांसारिकता र अध्यात्मबीच अड्किएका देखिन्छन्। न यता छन्, न उता।
‘तपाईं त न सांसारिकतामा रमाउनुभएको छ न त अध्यात्मतिर जान सक्नुहोला जस्तो छ,’ हामीले भन्यौं, ‘यसैगरी कुनै न कुनै बहानामा जिन्दगी अड्किरहला भन्ने लाग्दैन?’
उनले भने, ‘यो पनि प्रारब्धकै खेल हो, मलाई त्यसैले अड्काइराखेको छ जस्तो लाग्छ। जे लेखिएको छ, त्यही भोग्दैछु जस्तो लाग्छ।’
यी पनि पढ्नुस्
चुरे विनाशलीला शृंखला:
१) भारत निकासी खोल्न चुरेबाट ढुंगागिट्टी दोहन खुकुलो पार्ने सरकारको दाउ
२) देशका आधाभन्दा बढी जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले? - रामेश्वर खनाल
३) ढुंगागिट्टी अभाव छैनः अध्यक्ष, चुरे संरक्षण समिति
४) ढुंगागिट्टीको अभाव होइन, बिक्री नभएर बेहाल छ
५) मरुभूमि जो कुनैबेला गाउँ थियो
६)रातारात अर्बपति हुने चाहनाले चुरे दोहनको प्रस्ताव आएको हो