मरुभूमि बनेको गाउँको एकमात्र बचेको अस्तित्व इनार देखाउँदै वन तथा जलाधारविज्ञ रामेश्वर पण्डित। यो इनारको जति भाग देखिएको छ, त्यत्तिकै उचाइमा गाउँ थियो। तस्बिरः गिरीश गिरी/सेतोपाटी
एकताका एउटा गाउँ थियो, छेडीपोखर। ६५ भन्दा बढी घरपरिवार अटाएको त्यो किसानहरूको बस्ती हराभरा थियो।
आज छेडीपोखर नामको गाउँ छैन। छ त एउटा फराकिलो मरुभूमि। २०४६ सालमा गाउँलाई झन्डै आठ फिट गहिराइबाटै नदीले काटेर बढारिदिएपछि सबैथोक मेटिए। तर, त्योभन्दा गहिरो खनेर ढलान गरिएकाले दुईवटा इनारको अस्तित्व चाहिँ बाँच्यो। छेडीपोखर सम्झाउने अब केवल यत्ति कुरा रहन पुगेको छ।
‘यो इनार अहिले जति अग्लो देखिन्छ, त्यति नै उचाइमा यहाँ गाउँ थियो,’ वन तथा जलाधार विज्ञ रामेश्वर पण्डित आइतबार गाउँको एकमात्र अस्तित्वतर्फ औंल्याउँदै भनिरहेका थिए, ‘यो सबै देख्दादेख्दै हामीले अझै चुरेमाथि खेलवाड गर्न छाडेका छैनौं।’
६७ वर्षे ललितबहादुर बुढाथोकी आजभोलि पनि पौने एक घन्टा हिँडेर त्यो मरुभूमि हेर्न पुग्छन्। उनको बाल्यकालदेखिका थुप्रै सम्झना त्यतै खेले हुर्केको छ।
‘हेर्दाहेर्दै सबैथोक लगिदियो,’ आइतबार सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘म मात्र होइन गाउँभरिका मानिस एकसाथ बर्बाद भयौं।’
रामेछापको नागदहबाट २०११ सालमा बुबाको काँध चढेर आउँदा ललितबहादुर सानै थिए। ‘बा र आमा मिलेर खेतीपाती सुरु गर्नुभयो,’ उनले सम्झे, ‘हामी त्यहीँ खेलेर हुर्कियौं।’
आमाबुबाको शेषपछि ललितका दाजुभाइले पनि त्यसै ठाउँमा कृषि कर्म अघि बढाए। जलाद खोलाको छेवैमा गाउँ कस्तो थियो भने, मनग्गे पानी आउने, गज्जबको खेतीपाती हुने। गाउँमै मूल फुटेर निस्केको सफा पानीलाई बाँधेर सिँचाइ गरिएको थियो। त्यो सिँचाइले छेडीपोखर मात्र नभई छिमेकको इच्छापुरका समेत डेढ सय बिघाभन्दा बढी खेतलाई भिजाउन मद्दत गरेको थियो।
अचानक नदीले तमासा देखाउन सुरु गर्यो।
‘२०४२ सालताकाको कुरा हो,’ ललितले भने, ‘सोझो नदी त हेर्दाहेर्दै नागबेली परेर बग्न थाल्यो।’
सुरुमा त गाउँको छेउछेउतिर पेटी कटान गर्दै ल्यायो। अर्को वर्ष अझ बढी कटान भयो। २०४४ सालमा गाउँभरि नदी बग्न सुरु भयो।
‘यसरी जुन दिन खेतमा नदी पस्यो त्यसै दिनदेखि हाम्रो सर्वस्व भयो,’ उनले भने, ‘अरू गाउँले त तत्कालै छाडेर हिँडिहाले। म चाहिँ किनार किनार सर्दै त्यतै बसिरहेँ।’
अन्तिममा किनारा पनि च्याप्दै लगेपछि केही सिप नलागेर ललित पनि बसाइँ सरे।
यसरी छेडीपोखरका अन्तिम बासिन्दा ललित हिँडेपछि धनुषा जिल्लाको दिगम्बरपुर गाविस वडा नम्बर ४ मानवविहीन बन्न पुग्यो। त्यहाँका सम्पूर्ण गाउँले शरण खोज्दै करिब दुई किलोमिटर पर अलिक अग्लो जमिनमा पुगे। त्यो स्थान अहिले सखुवा बजार, नयाँ टोल भनेर चिनिन्छ।
‘उताबाट बसाइँ सरेर आएका गाउँलेले नै आवाद गरेको बस्ती हो यो,’ ललितले भने, ‘अहिले अन्यत्रबाट थपिएकासमेत गरेर डेढ सयभन्दा बढी परिवार पुगिसकेका छौं।’
खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका ललितले जानेको अरू कुनै काम थिएन। बिहे भएर गएकी छोरीले किनिदिएको दस धुर जग्गामा एउटा छाप्रो बनाएर श्रीमान–श्रीमती बसेका छन्।
‘बिहान बिहान यहीँ चिया बनाएर बेच्ने गर्छु,’ उनले कुरा गर्न बसेकै छाप्रो औंलाउदै भने, ‘मुश्किलले जीवन चलिरहेको छ।’
छेडीपोखरबाट विस्थापित किसान ललित बुढाथोकी अहिले चियापसले बनेका छन्। तस्बिरः गिरीश गिरी/सेतोपाटी
चुरे विनाशलीला शृंखला:
१) भारत निकासी खोल्न चुरेबाट ढुंगागिट्टी दोहन खुकुलो पार्ने सरकारको दाउ
२) देशका आधाभन्दा बढी जनता रुवाउने प्रस्ताव किन ल्यायो सरकारले? - रामेश्वर खनाल
३) ढुंगागिट्टी अभाव छैनः अध्यक्ष, चुरे संरक्षण समिति
४) ढुंगागिट्टीको अभाव होइन, बिक्री नभएर बेहाल छ
यसरी विस्थापित हुनुपर्दा समस्या ललितलाई मात्र परेन, पहाडे र मधेसी परिवारको मिश्रित बसोबास रहेको सम्पूर्ण गाउँलेको बिचल्ली भयो। उनका अनुसार त्यो गाउँका कसैको पनि जग्गाजमिन अर्को गाउँमा थिएन। अर्को कुनै गाउँलेको जग्गा जमिन पनि त्यहाँ थिएन।
‘चारकिल्ला ठोकिएको त्यस्तो किसिमको टोला थियो,’ उनले थपे, ‘यस्तो अवस्थामा सबै एकसाथ बिल्लीबाँठ भयौं।’
आफूहरूले ऐलानी जग्गामा खेती र बसोबास गर्दै आएको भए पनि छेडीपोखरका धेरै परिवारको नम्बरी जग्गा नै रहेको उनी सुनाउँछन्। ‘तर, कसैले पनि क्षतिपूर्ति पाएनौं,’ उनले भने, ‘अरब गएर धेरैले जग्गा जमिन जोडेपछि अधिकांश परिवारले फेरि किसानी गर्न पाएका छन्।’
ललितका अनुसार छेडीपोखरमा पसेको झन्डै दस वर्षपछि फेरि नदीले बाटो फेर्यो। त्यतिबेला रसिलो बन्न पुगेको किनार किनारका जमिनमा एक दुई वर्ष फेरि हरियाली फैलिएको थियो। यताबाट गएरै गाउँलेहरूले धान रोप्दा २०५६ सालताका बेस्सरी उब्जनी भएको उनी अझै सम्झन्छन्। त्यसपछि फेरि सुक्दै गएपछि अब त घाँस पनि नलाग्ने मरुभूमि बन्दै गइरहेको उनले सुनाए।
छेडीपोखरकै छेउमा रहेको इच्छापुरका बासिन्दा हुन्, लक्ष्मीकुमार यादव। उनी केटाकेटी हुञ्जेल पनि गाउँ छेउको जलाद नदी एकतिरबाट मात्र बगेको थियो।
‘त्यतिबेला बढीमा सय मिटर चौडा थियो,’ नदीतर्फ औंल्याउँदै गाउँका यी सामाजिक परिचालक भन्छन्, ‘अहिले त तीनवटा ठाउँमा पाँच सय मिटरभन्दा चौडा भाग नदीले ओगटेको छ।’
छेडीपोखरमा नदी पसेर जलादले दोस्रो धार बनाएको थियो भने दस वर्षमा छेडीपोखर र पुरानो नदीको बहावको बीचमा फेरि अर्को धार बनाइदियो। अहिले नदी यो बीचकै धारबाट बगिरहेको छ। पछिल्लो समय नदीको धमाधम तटबन्ध गरिए पनि वर्षेनी कटान नरोकिएको उनले बताए।
आफूहरूले सरकारी तवरबाट भरमग्दुर प्रयास गर्दा पनि वर्षेनी जलाद नदीले ठूलो मात्रामा गर्ने कटान रोक्न नसकिरहेको राष्ट्रपति चुरे संरक्षण समितिका प्रमुख रामेश्वर पण्डित बताउँछन्। उनको कार्यालय लगायत जिल्ला वन, भूसंरक्षण कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन, जनताको तटबन्ध, जिल्ला वनस्पति कार्यालयले आपसी तालमेलमा चुरे संरक्षणको प्रयास गरिरहेकै छन्।
‘तर, जुन मात्रामा चुरेले विनास भोगिरहेको छ, त्यसको अनुपातमा संरक्षणको प्रयास असाध्यै झिनो बन्दै गइरहेको छ,’ उनले भने।
जलाद नदीको कहर। तीन दशकभित्र यो नदीले तीनवटा धार परिवर्तन गरेको छ। तस्बिरः गिरीश गिरी/सेतोपाटी
चोरी निकासीलाई वनले नियन्त्रण गर्नै नसक्दा चुरे र त्यसभन्दा मुनिको भावर नाङ्गो भइसकेको उनी सुनाउँछन्। उनका अनुसार यसरी वनफडानीकै कारण भावर क्षेत्रका जमिनले पानी परेपछि त्यसलाई सोस्नै छाडेको छ। यस्तो अवस्थामा वर्षामा बढ्ने भेलले ढुंगामाटो र बालुवा बोक्दै तल मधेसका खेतमा थुप्र्याउने क्रम बढ्दै गइरहेको उनले जानकारी दिए।
माथि चुरे पूर्ण रूपमा संरक्षित नभएसम्म तल यो समस्या रहिरहने उनी सुनाउँछन्।
‘सुख्खा मौसममा भावरतिर पानी नै हुँदैन,’ उनले तल बगेको खोला देखाउँदै भने, ‘यो पानी पनि निकै तल आइसकेपछि मूल फुटेर निस्केको हो।’
पण्डितका अनुसार पहिले यसरी मूल फुट्ने काम भावर क्षेत्रमै हुन्थ्यो। भावरको प्रकृति हिजोआज तराईमा भेटिन थालेको उनले बताए। त्यसबाहेक मधेसका बस्तीहरूमा तीन–चार सय फिट खनेपछि मात्रै पानी आउने र पहिले पर्याप्त पानी हुने ठाउँमा हिजोआज वैशाख–जेठमा चापाकलसमेत सुक्न थालेको उनको अनुभव छ।
यसरी सुरुमा वनफडानी गरेर बसोबास र वनसम्पदालाई नै आम्दानीको स्रोत बनाउँदै गएका मानिसले गर्दा प्रकृतिमा आएको विचलन अब भने नदीको दोहनबाट अझ तीव्र हुन थालेको वन तथा जलाधारविज्ञ पण्डित बताउँछन्।
‘नदीमा ढुंगाको ठेक्का लगाउने जिविसले राम्ररी अनुगमनै गर्दैन,’ उनी थप्छन्, ‘जथाभावी ढुंगा र बालुवा झिक्ने ठेकेदार र क्रसरहरूले कुनै मापदण्डलाई मानेकै छैनन्।’
यस्तो अवस्थामा केही वर्षअघि ढुंगागिट्टीलाई भारतको बजारमा लैजान पाइने बनाउँदा ठूलै तमासा मच्चिएको पण्डितले सुनाए। ‘ठेकेदारहरू रातारात करोडपति भए,’ उनले भने, ‘बाँकी कसैलाई केही फाइदा भएन। चुरेको त बेहालै गरिएको थियो।’
त्यो बेला दैनिक पचासौं ट्रक लश्कर लागेर भारततिर जाँदा जटहीको रोड गतिलै गुलजार भएको थियो। दुई वर्षअघि सरकारले भारततर्फ रोडाढुंगा लैजान रोक लगाएपछि त्यो क्रम थामियो। हिजोआज सामसुम भएको यसलाई फेरि खोल्ने हो भने चुरेको तीव्र बर्बादीलाई कसैले नियन्त्रण गर्न नसक्ने पण्डित सुनाउँछन्।
‘भारत निकासी खोल्ने मात्र हो भने यो कयौं गुणा बढेर जानेछ,’ पण्डितले तल खोलामा गिट्टी बोकेर कुद्दै गरेका ट्याक्टर देखाउँदै भने, ‘त्योबेला डरलाग्दो घुइँचोलाई हामी कसैले रोक्न सक्ने छैनौं।’
चुरेलाई जिस्काउन थालेपछि भएको विनाशलीला हेरेर फर्कने क्रममा हामीले ललित बुढाथोकीलाई भेटेका थियौं। इतिहासको एउटा कुनामा उत्पत्ति भएर अर्को कुनामा लोप भएको छेडीपोखरका यी बासिन्दा के अब आफूलाई सुरक्षित महशुस गर्छन्?
‘खतरा यहाँ आएर पनि टरेको छैन,’ सखुवा बजार, नयाँ टोलका यी नयाँ बासिन्दाले थपे, ‘नदीको मोड कुन दिन यता फर्किने हो ठेगान छैन।’
उनको घरकै अगाडिबाट दैनिक पचासौं ट्रयाक्टरले तीन चारपटकसम्म गिट्टी बालुवा ओसार्ने गर्छन्। ‘जतातिर खोला ढल्किएर सफा बालुवा थुपारिदिएको छ, ठेकेदारले त्यतैतिर खन्ने गर्छन्,’ उनले भने, ‘यस्तो बेला गाउँलेका जग्गा कटान दिन–प्रतिदिन बढ्दै गइरहेको छ।’
उनका अनुसार यो विषयलाई लिएर बारम्बार ठेकेदारका मानिस र गाउँलेहरूबीच झगडा पनि पर्ने गरेको छ। यस्तो बेला स्थानीय प्रहरी प्रशासनले पनि एकोहोरो ठेकेदारलाई नै सघाउँदै आइरहेको ललितले बताए।
केही अघि मात्र स्थानीय रामचन्द्रका छोराले आफ्नो जग्गातर्फ नदी मोडिने गरेर बालुवा निकालेकामा विरोध गर्दा ठेकेदारले गुन्डा लगाएर सिकिस्तै हुने गरी कुटपिट गरेको समेत ललितले सुनाए।