कविता
खोलाको बगरमा
घामको राप र तापले
दन्किरहेका
र
लेउ र काइले छोपिएर
खोलाको बीचमा हरदम
पानीले नुहाइरहेका
पत्थरहरू सबै
बर्खे भेलको प्रतीक्षामा छन्
पहिलो पत्थरहरू भेलको पानीले
दन्किरहेको आतको आगो
निभाउन चाहन्छन्
दोस्रो पत्थरहरू भेलमा बगेर
किनारको बगरमा गई
चिसिएको आत सुकाउन
चाहन्छन्
जब बर्खे भेलको क्षणिक
उत्तेजना स्खलित हुन्छ
तब सुरू हुन्छ फेरि राप ताप
लेउ र काईका दुखान्त
कथाहरू र
फेरि अर्को बर्खे भेलको
अटुट पर्खाइ
प्रत्येक साल यसरी नै घुमिरहने
पर्खाइ, प्राप्ति र वियोगका
चक्रहरूले नै यी
कलिला पत्थरहरू चट्टान बन्छन्
यहीँ चक्रहरूबीच खारिएरै एउटा
मानिस योद्धा बन्छ
सदियौंदेखि यसरी नै जारी छ
पृथ्वीमा
चट्टान र योद्धा बन्ने प्रक्रिया