रिपोर्टिङको सिलसिलामा प्राय: स्थानीय तहहरूमा जाने काम परिरहन्छ। रिपोर्टिङ कै लागि केही दिनअघि एक स्थानीय तहमा गएको थिएँ।
सो स्थानीय तहले वर्षभरि गरेका प्रगतीको विवरण रिपोर्टिङ गर्नु थियो। सिधै सञ्चार सल्लाहकारको कार्य कक्षमा गएँ। आफ्नो व्यवहोरा बताए।
अपरिचित जस्तो कुन मिडियाबाट आएको भन्दै प्रश्न गरे?
चिनेजाने कै थिए दाइ।
छोटो अनौपचारिक वार्तापछि सम्बन्धित फाँटका मान्छे नआएको बताए।
पहिलो दिन रिपोर्टिङ नै नगरी फर्किएँ।
त्यसैगरी दोस्रो, तेस्रो र चौथो दिनसम्म गएँ तर मैले रिपोर्टिङको विषयवस्तु पूरा जानकारी नै पाउन सकिनँ।
तराईको प्रचण्ड गर्मी, सधै आउँथें-जान्थे।
डेस्क हेर्ने दाइले किन रिपोर्टिङ नगरेको भनेर सधैं भनिरहन्थे।
हुँदा हुँदा त्यो विषयबारे समाचार संकलन नै हुन सकेन।
खासमा ती दाइ(सञ्चार सल्लाहकार) पनि पत्रकार थिएँ कुनै बेला।
सेवाग्राहीलाई गर्नु पर्ने जस्तो व्यवहार नै देखिनँ।
उमेर र अनुभवका हिसाबले सानै भए पनि म पनि त पत्रकार थिएँ। र उनी पनि। नियम अनुसार उनले मलाई सूचना दिनु पर्थ्यो नै।
पेसागत र मानवीय नाताले भए पनि उनले मलाई चाहिएको सूचना प्रदान गर्नको लागि सहयोग गर्नु पर्थ्यो त्यो भएन।
त्यसैगरी २०७४ को चुनावको बेला निर्वाचन सुरक्षाको लागि म्यादी प्रहरीको छनोट कार्य भइरहेको थियो।
अघिल्लो दिन म्यादी प्रहरी भर्नामा राजनीतिक र आर्थिक चलखल भएको विषयमा रिपोर्टिङ गरेको थिएँ।
म्यादी प्रहरी भर्नाको विषयमा खास कुरा बुझ्न डिएपसी सापलाई भेट्ने तय भएको थियो।
१० बजेपछि आफूलाई चाहिने सबै सामग्रीको जोहो गरेर जिल्ला प्रहरी कार्यालय जुम्लाको परिसरभित्र छिरेँ। म्यादी प्रहरीको छनोट चलिरहेको थियो। महिला र पुरुषको छुट्टै समूह।
म भने पुरुषतिरको छनोटस्थलतिर गएर उभिएँ। अलि अगाडि उभिएर हेरिहेको थिएँ। धेरै जना मैले चिने कै साथी थिए। एक्कसी एक प्रहरी दाइ आएर ‘ए भाइ के उभिरा छिटो लुगा फुकाल भन्नु भयो।’
म त रनभुल्लमा परेँ ।
एक जना अर्को मलाई चिनेको प्रहरी थिए। मलाई लुगा फुकाल भन्ने पुलिसलाई हात समातेर उता लिएर गए। त्यसपछि आफैंलाई असजिलो लाग्यो।
म सिधै डिएसपीको कक्षतिर लागेँ। अलि उता गएर ठूलो स्वरमा के भन्या उहाँ त पत्रकार हो। मान्छे चिन्दैनस् भन्दै हप्काउँदै थिए।
अन्तर्वार्ता सकिएपछि म फर्किएँ।
लामो समयसम्म प्रहरी दाइले मसँग धेरै पटक बोल्ने प्रयास गरिरहेका थिए। एक दिन कुरा भयो संयोगले प्रहरीभित्र संचार हेर्ने उसैले रहेछ।
अघिल्लो दिनको समाचारको कारण पत्रकार पृष्ठभूमिका ति प्रहरीलाई स्पष्टीकरण सोधिएको रहेछ।
पत्रकारिता थालेको चानचुन चार वर्ष जति भयो।
सुरूआतमा रेडियोमा १ वर्ष काम गरे बिना पारिश्रमिक।
कार्यक्रम प्रस्तोताको रूपमा।
त्यसपछि जिल्लाकै अर्को रेडियोमा रिपोर्टरको लागि दरखास्त खुल्यो। आवेदन दिएँ।
विभिन्न चरण पार गरेर २४ जनामध्येबाट उत्कृष्ट ४ मा छानिएँ।
रेडियोमा जागिर मिल्यो।
करिब २ वर्षको यात्राका क्रममा जिन्दगीमा थुप्रै हिंसाका व्यवहार भए खासगरी पत्रकार दाइबाट।
रेडियोमा कति घण्टा काम गर्नुपर्छ सबैलाई थाहै छ।
उमेर भर्खर १७ कटेर १८ मा लागेको थिएँ म।
सबै ‘दिदी’ र ‘दाइ’ पत्रकार थिए। केही महिना त राम्रो केयर गर्थे। पछि समाचार राम्रो भएन,कार्यक्रम कस्तो चलाएको यस्ता पनि भ्वाइस(जनआवाज) यस्तो पनि हुन्छ, कम्युटरमा टाइप गर्न नआउने, कापीमा दुःख लेखेका समाचारमा टोकरी बज्थे। कत्ति पटक त सानो–साना कुरामा पनि जागिरबाट निकालिदिने धम्की दिन्थे।
एक दिनको कुरा हो, एक्कासी रेडियो मै काम गर्ने सिनियर दाइले सोधे, भाइ तिम्रो विचार धारा के हो ?
विचार धारा, मधुरो स्वरमा मैले भने,‘के हो यो विचार धारा भनेको?स्पष्ट पार्दै उनले थपे ‘कुन पार्टीको कार्यकर्ता हौ तिमी?’
म रुखको हांगाबाट खसे झैं भएँ।
अन्य घटना उल्लेख गरे भने सुधिर शर्माको प्रयोगशाला जत्रै किताब बन्छ। नेपालको समकालीन राजनीतिको नालीबेली जो छ।
रिपोर्टर पदमा कार्यरत थिएँ म। एकचोटि कार्यालय सहयोगीले गर्ने काम गर्न निर्देशन भयो। यी बीचमा यस्ता थुप्रै घटना भए। अन्नत : राजीनामा दिएँ।
त्यहाँ काम गर्दा एक जना ‘दाइ’ पत्रकारको सहयोग र प्रेरणाले अहिलेसम्म पत्रकारितामा छु।
एक जना ‘दिदी’ पत्रकार पनि थिइन्, व्यक्तिगत रूपमा एकदमै राम्रो सम्बन्ध थियो।
मोफसलमा ‘दिदी’ र ‘बैनी’ पत्रकारलाई निकै गाह्रो छ। अहिले दिदी पत्रकारितामा छैनन्।
केही समयपछि पुन: रेडियो पत्रकारिता मै फर्किएँ।
पहिलाको भन्दा फरक जिम्मेवारीमा। फेरि एक पटक दाइ पत्रकारबाट दुव्यवहारको सिकार भएँ।
चार महिना मै बिदा भएँ त्यहाँबाट। त्यसको एक हप्ता मै रारा तालको जिल्ला मुगुमा गएर पत्रकारिता गर्ने अवसर जुट्यो।
रेडियोमा काम गर्ने ‘बैनी’ पत्रकार थिइन्, तिनको नराम्रो व्यवहारको सिकार भएँ फेरि एक पटक। रारामात्रै स्वच्छ र कन्चन रहेछ। मान्छेहरूको मन रैन रहेछ। कर्णालीको साउने भेलसरि छाल हान्दै आफ्नै मातृभूमि पुर्याइदियो।
फेरि पनि रेडियो पत्रकारिता मै जोडिएँ।
‘दिदी’ पत्रकारहरूमा एक्लै थिएँ म। एक जना ‘दिदी’ पत्रकारको खुरापातीको कुरै गरि साध्य छैन। व्यवस्थापनको जिम्मेवारीमा रहेका कथित दिदी पत्रकारका दुर्व्यवहारको सिकार भएँ।
पत्रकारिताको प नै नबुझेका र आफूलाई मात्र क्षमतावान् ठान्ने एकलकाटे सोच हुँदो रहेछ भन्ने गतिलो प्रमाण त्यहीँ भेटेँ।
त्यही बेला बीपीको एउटा भनाइ याद आयो।
‘घमण्डले मानिस फुल्छ तर अघि बढ्न सक्दैन।’
उनीहरूको हरेक दिनको घमण्डका अगाडि म निरीह नै भएँ। राजीनामा दिइयो।
बारम्बारको दुर्व्यवहार, घटियापन, यो या त्यो ढंगको हिंसाले मलाई झन् झन् बलियो बनाउँदै थियो।
मोफसलमा बसेर पत्रकारिता गरिरहँदा यस्ता थुप्रै दुःख भोग्नु परेको छ। कतिपय घटना सम्झिँदा अहिले पनि यो पत्रकारिता किन अंगालियो जस्तो पनि लाग्छ।
एकचोटि त कोठामा चामल सकिँदा चाउचाउ र सातुसँग एक साता बिताएको छु। मोफसलमा पत्रकारिता गरेर लामो समय टिक्नु फलामको च्युरा चपाउनु सरह हो।
यहाँ हरेक दिन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसाको श्रृंखला चलिरहन्छन्। त्यो भन्दा बढी त भाइ पत्रकार अर्थात् पुरुषलाई हिंसा गर्ने ‘दिदी’ पत्रकार पनि छन् । नारी नेतृत्वमा रहेका क्षेत्रमा दाइ र भाइ पत्रकारलाई निषेध गरिएका उदाहरण पनि छन्।
अनि के दिदी र बैनी पत्रकार मात्रै हिंसामा छन् त। फरक यति हो उनीहरू व्यक्त गर्छन्। हामी गर्दैनौं।
यसको मतलब हामी हिंसा र दुर्व्यवहार सहन्छौ भन्ने पनि होइन। कैयौं पटक विद्रोह गरिएको छ। यहाँ त दाइले बैनी र दिदीले भाइ पत्रकारलाई पनि दुर्व्यवहार गर्छन्।
केही प्रसंग जोडौं,
मोफसलको पत्रकारितामा पत्रकार यस्तो क्षेत्रको पात्र हो।
आफू भोकै बसेर अरूलाई खाना खानु भयो भन्छ। आफू बिसन्चो हुँदा समेत अरुलाई सन्चै हुनुहुन्छ भनेर प्रश्न गर्छ। पत्रकारिता हतारको साहित्य पनि हो। आफू समयमा कहिल्यै तलब पाउँदैन। उदारोमा काम गर्दै कर्मचारी,जेष्ठ नागरिकले बृद्ध भत्ता पाएनन्,न्यून ज्यालादारीमा काम गर्दै महिला, समाचारका आकर्षक हेडलाइन बन्छ।
पत्रकारले महिनौंदेखि पारिश्रमिक पाएनन् कहिले समाचार बनेका छन्? सरकार मिडिया विधेयकका नाममा पत्रकारिता क्षेत्र नियमनको प्रयास गर्दै छ। टिठ लाग्दो मिडिया क्षेत्र विचरा बबुरो पत्रकार हामी।
यी मेरा जिन्दगीका यर्थाथ भोगाइ हुन्।
हरेक क्षेत्रमा भएका दुर्व्यवहारका विरूद्धमा बोल्नै पर्ने बेला भएको छ।
विवेक नाम गरेका एक जना सहकर्मी मित्र भन्थे ‘यो पत्रकारिता पेसा त निल्नु न ओकल्नु भयो।’
जय पत्रकारिता! जय होस्!