सदाचारी र सत्याग्रही व्यक्तिको विरोध मौनबाट सुरु हुन्छ, तर मौनमा गएर अन्त्य हुँदैन। त्यो मौनभित्र कसैले थाहै नपाउने गरी विस्तारै विस्तारै ठूलो जनआवाज समेटिँदै जान्छ। एउटा ठूलो आन्दोलनको सुरुआत नै यसैगरी हुने हो, जसलाई समय घर्किएपछि कुनै ताकतले नियन्त्रण गर्न सक्दैन।
हाम्रो निम्ति गुणस्तरीय स्वास्थ्य सेवाको माग राख्दै सत्याग्रह आन्दोलनमा होमिनुभएका डा. गोविन्द केसी त्यस्तै सदाचारी र सत्याग्रही व्यक्ति हुनुहुन्छ।
आज अनसनको १८ औं दिन पुगिसकेको छ। हाम्रो लागि निस्वार्थ भावले लडिरहनुभएका मान्छेको स्वास्थ्यमा थपिएको चुनौती हामी सबैका लागि चिन्ताको विषय हो र हुनुपर्छ। त्यसैले, समय आइसक्यो, डा. केसीले उठाउनुभएका मागमा दबाब सिर्जना गर्न हामी सबैले आ–आफ्नो तर्फबाट आवाज उठाउनैपर्छ। जनताले उहाँको मुद्दामा अझ बढी साथ दिनैपर्छ।
संयमको पनि हद हुन्छ। सरकारले त्यही हदको परीक्षा लिँदैछ। सरकारले के कुरामा विचार पुर्याउनु जरुरी छ भने, डा. केसीको ज्यान तलमाथि भएको खण्डमा उहाँका समर्थक र जनतालाई संयम राख्न गाह्रो हुनेछ। जनतालाई जतिसुकै संयम राख्नुस् भन्दा पनि नसकिने अवस्था आउनसक्छ।
एउटा मान्छेको ज्यानै जाने अवस्था आइपुग्दा पनि समस्या सुल्झाउन नसक्नु, खाली आश्वासन मात्र दिनु सरकारको लागि लज्जाको विषय हो। सरकारले यसलाई उच्च प्राथमिकतासाथ ध्यानमा राख्नुपर्ने हो। सरकारको काम जनताको भलाइ हो। उसको काम जनताका समस्या खोजीखोजी समाधान गर्नु हो। यहाँ त डा. केसीले स्वास्थ्य क्षेत्रमा भएका समस्या औंल्याइदिँदा पनि सरकार हात बाँधेर बसेको छ। उल्टै त्यही समस्याको सुनुवाइ निम्ति अनसन बसेका व्यक्तिको ज्यानको समेत परवाह नगर्नु संवेदनहीनताको पराकाष्ठा हो।
मलाई लाग्छ, डा. केसीले उठाउनुभएका मुद्दासँग जोडिएका विभिन्न समूहका स्वार्थका कारण यो समस्यालाई अल्झाइरहने र बल्झाइरहने काम भइरहेको छ। न्यायिक हिसाबले जानुपर्ने मुद्दामा हरेकचोटि आश्वासन दिने, कार्यान्वयनको बाचा गर्ने, तर कार्यान्वयन गर्ने बेला धोका दिने काम भइरहेको छ। यसमा आ–आफ्नो स्वार्थसिद्ध गर्न विभिन्न पक्षले अनेकन निर्णय गराइरहेका छन्। यो देशकै निम्ति दुर्भाग्यको कुरा हो।
स्वास्थ्य क्षेत्र मात्र होइन, जनता विभिन्न कुरामा सरकारबाट ठगिँदै आएका छन्। सरकार तथा दलहरूबाट आ–आफ्नो राजनीतिक स्वार्थमा अल्झेर योसँगै थुप्रै मुद्दा पन्छाउने काम भइरहेको छ। निष्पक्ष भएर कानुनमा रहेर कुनै पनि मुद्दामा निर्णय कहाँ भएका छन् र? स्वार्थको भुमरीमा सब हराइरहेका छन्। म यसलाई हाम्रो राजनीतिको विडम्बना मान्छु। साझा हितका बारेमा सोचिनुपर्नेमा आफ्ना स्वार्थाका मुद्दा मात्रै स्थापित गर्ने परिपाटी बढ्दै गएको उदाहरण हो यो।
सरकारले डा. गोविन्द केसीको मुद्दा तत्काल टुंगोमा र्पुयाउनुको विकल्प छैन्। एउटा निस्वार्थ र वरिष्ठ चिकित्सकको जीवन नै खतरामा पर्न गएको छ। भोलि ज्यानमा केही भइदियो भने राष्ट्रमा एक किसिमको संकट नआउला भन्न सकिन्न। सरकारलाई त्यसको सामना गर्न पनि गार्हो पर्ला। यसरी राष्ट्रको राजनीति र सरकारमाथि औंला ठड्याउने मौका दिनुभन्दा यसलाई बेलैमा सुल्झाउनुबाहेक अर्को उपाय सरकारसँग छैन।
यो पनिः
जो माफियासँग छैन, ऊ केसीसँगै छ