विपश्यना जस्तो मौन रहेर ध्यान गरिने विधि अभ्यास गर्नेहरूले भन्छन्, मौनताले सुरुमा कोलाहल मच्चाउँछ र त्यो कोलाहल शान्त भएपछि शान्तिको अनुभव हुन्छ। सांसारिक मान्छेहरूको मनको कोलाहल वितरागीहरूका तुलनामा चर्को हुन्छ र ध्यानले पनि त्यसलाई शान्त पार्न सजिलो हुँदैन।
डा. गोविन्द केसीको स्वभावमा मौनता छैन, निष्क्रियता छैन। उहाँ बोलिरहने मान्छे हो, रिसाउने मान्छे हो। हरेक अव्यवस्थासित उहाँलाई रिस उठ्छ। त्यसैले उहाँलाई सत्याग्रही बनाएको छ र उहाँ पटक पटक अनसन बस्नुहुन्छ। तर हरेक अनसनमा डा. गोविन्द केसी दिन र रातको अधिकांश समय निष्क्रिय र मौन हुनुहुन्छ। कसरी सम्भव छ उहाँजस्तो सक्रिय व्यक्तिलाई यसरी बस्न?
अनसनको तेह्रौँ दिन बिहान मैले उहाँलाई सोधेको थिएँ, 'यत्रो लामो मौनता र भौतिक निष्क्रियताको समय बिताउन तपाईंले कुनै ध्यानको अभ्यास गर्नु भएको छ?'
'छैन। मैले ध्यान गर्ने गरेको छैन। तर यसरी मौन भएर बस्दा म आफ्नो उद्देश्यका बारेमा अझ धेरै र विभिन्न तह र पक्षबाट सोच्ने मौका पाउँछु,' उहाँले भन्नुभयो।
मलाई लाग्यो, ध्यान भनेको त्यही त हो नि! ‘ध्यान गर्नु’ र ‘ध्यान दिनु’ का बीचमा फरक छ। डा. केसी ध्यान गर्नुहुन्न, तर उहाँको ध्यान नेपाली चिकित्सा शिक्षाको सुव्यवस्थाबाट कहिल्यै हट्दैन। उहाँको ध्यान त्यही हो, ध्याउन्न नै त्यही हो।
तीन सय घन्टा (त्यसबेला) नाघिसकेको अनसनले कमजोर बनाउँदै लगेको स्वरमा स्पष्टसँग उहाँले भन्नुभयो, 'अनसन नबसेका बेला मेरो ध्यान विषयवस्तुका मुख्य मुख्य पक्षहरूमा हुन्छ। तर जब म अनसनमा हुन्छु, आफूले पचहत्तरै जिल्ला घुमेर अनुभव गरेका कुराहरू मनमा खेल्न थाल्छन्। त्यहाँका वास्तविकताबारे धेरै कुरा थाहा भएकाले पनि मलाई झनै चित्त बुझ्दैन, केही गरे पनि चित्त बुझाउने ठाउँ पाउँदिन। अनि त्यस्तो अव्यवस्था र अन्यायपूर्ण परिस्थिति परिवर्तन गर्न आफूले निर्वाह गर्नसक्ने जिम्मेवारीको बोध अझ बढ्छ। त्यसले मलाई ऊर्जा दिन्छ।'
आज १८ दिन भयो डा. गोविन्द केसीको दसौं अनसनको। उहाँ झन्डै ४ सय ३० घन्टादेखि अनसनमा हुनुहुन्छ। भोको हुनुहुन्छ र प्रायः मौन हुनुहुन्छ। तेह्रौं दिनमा उहाँले भन्नुभएको थियो, 'मेरो अनसनप्रति कुनै पनि सरकार कहिल्यै सकारात्मक रहेन। तर पहिले पहिले मेरा माग सम्बोधन गर्न जति चाँडो पहल गरिन्थ्यो, अहिले त्यो पनि छैन। मलाई थाहा छ, अहिलेको सरकारको विश्वास मेरो जस्तो अहिंसात्मक आन्दोलनमा छैन, तर के चाहिँ बुझिदिए हुने हो भने मैले राखेका मागमा उहाँहरूले पनि भन्ने नै गरेका कुरा छन्। कुनै पनि राम्रो सरकारले आफैं गर्नुपर्ने, अव्यवस्था हटाउनुपर्ने, विधि पालना गर्नुपर्ने, सबैले मौका र लाभ पाउन सक्ने र उपयुक्त मूल्यमा स्वास्थ्य शिक्षा उपलब्ध गराउनुपर्ने जस्ता काम मात्र छन् मेरो मागमा। यसरी मौन रहेर बसेका बेला यति साधारण माग पूरा गराउन पटक पटक आमरण अनसन गर्नुपर्ने परिस्थितिमा पनि ध्यान जान्छ। झन् चित्त बुझ्दैन। त्यसले नै ऊर्जा दिएको अनुभव हुन्छ।'
आज डा. केसी शारीरिक रूपमा धेरै गलिसक्नुभएको छ। उहाँलाई मात्र होइन, उहाँको सेवा र समर्थनमा जुटेका मित्रहरूलाई पनि साँच्चै नै गाह्रो भइरहेको छ। थाहा छैन, कमजोरीको यो अवस्थामा उहाँको दिमागले करिब सातादिन अघि भनेकै जसरी काम गरिरहेको छ कि छैन। तर उहाँले भनेका कुरा शब्दशः त्यसरी नै सत्य छन्। अहिंसामा विश्वास नभएको सरकारले उहाँका कुरालाई भाउ दिन नखोजेको स्पष्ट भइसकेको छ।
हामी के गरौँ?
१८ दिन होइन, १८ घन्टा होइन, मात्र १८ मिनेट घडीमा घन्टी लगाएर, मौन रहेर सोचौँ। के डाक्टर केसीका माग साँच्चै गलत छन्? केही वर्षदेखि चलिआएको वरिष्ठतम प्राध्यापकलाई डिन बनाउने प्रक्रिया जबरजस्ती भत्काउने उपकुलपति तीर्थ खनिया र उनले प्रक्रिया मिचेर बनाएका डिन हटाउनुपर्ने माग राख्न साँच्चै नै उहाँले अरूसित सरसल्लाह गर्नुपर्थ्यो? सरसल्लाह गर्न थालेको भए सल्लाहकारहरूले उहाँलाई गोविन्द केसी रहन दिने थिए कि तुलो लिएर हिँड्ने बनियाँ बनाइदिने थिए?
डा. केसीले सल्लाह आवश्यक र उचित थिएन र नै सल्लाह गर्नु भएन। तर के हरहिसाब मिलाएर वा मिलाउन प्रभावकारी र प्रभावशाली व्यक्तिहरूसित सल्लाह नगरेकैले हामी अहिले मौन रहेका हौँ? होइन भने गम्भीर भएर सोचौँ, हामी किन मौन छौँ? हामी किन किन्तु-परन्तुको माकुरीजालमा आफ्नो विवेकलाई अल्झाइरहेका छौँ? के डा. केसीले माग गरेका कुरा हाम्रो कुनै पनि स्वार्थको प्रतिकूल छन्?
गोविन्द केसी सबै नेपालीका मित्र र हितैषी हुन्, त्यसैले देशमा चिकित्सा शिक्षालाई माफियाकरण गर्ने र विधिलाई विद्रूप बनाउनेहरूका भने साँच्चैका शत्रु हुन्। खलनायकहरू डा. केसीको भौतिक अन्त्य, नभए उनको शाख र प्रतिष्ठाको अन्त्य चाहन्छन् र कदाचित् डा. केसीको शरीर वा प्रतिष्ठामा आघात पुग्यो भने नन्दप्रसाद अधिकारीको अनसनकै क्रममा ज्यान गएको यस मुलुकमा अहिंसात्मक आन्दोलनको पनि सधैँलाई अन्त्य हुनेछ। त्यसैले पनि अहिले हामीसित किन्तु-परन्तुको सुविधा छैन। अहिले हामी कि त डा. केसी जसरी सोच्न सक्छौँ, कि त उहाँले विरोध गरेका व्यक्तिहरू, वा उहाँलाई पागल भन्नेहरू जसरी सोच्नसक्छौँ।
आफैँ रोजौँ, हामी कसका साथमा छौँ र कसरी सोच्छौँ!
यो पनि हेर्नुहोस्ः