डा. गोविन्द केसी सदाचार, मानवीयता र व्यावसायिक निष्ठाका प्रतिमूर्ति हुनुहुन्छ। लोभ–लालचले उहाँको जीवनलाई कहिल्यै छुन सकेन। गाउँ–सहर, देश–विदेश, भूकम्प–बाढी सबै ठाउँ र अवस्थामा रहेका बिरामीको सेवामा उहाँ जीवनभर तल्लीन रहनुभयो। स्वास्थ्य शिक्षाको सुलभता र उच्च गुणस्तर तथा त्यसमार्फत् आमजनताले पाउने लाभ र सुख उहाँको जीवनको ध्येय रह्यो।
आज तिनै गोविन्द केसी सदाचार, मानवीयता र स्वास्थ्य शिक्षा तथा सेवाको सुलभता र गुणस्तरविरुद्ध सञ्चालन भइरहेको तह–तहको प्रपञ्चविरुद्ध सत्याग्रहमा जुट्नुभएको छ। जाहेर छ, यस्ता प्रपञ्च कामयाब हुँदा आमनेपालीको औषधोपचार महँगो र कम गुणस्तरको हुनेछ। ग्रामीण भेगमा औषधोपचार पाउन मुश्किल पर्नेछ।
आजको भोलि नै उच्च नाफा खोज्ने छट्टु व्यापारीले त यस्तो स्थितिमा चलखेल गर्ने नै भए। धेरै दुःखलाग्दो पक्ष के भने, यस्ता व्यापारी सँगसँगै राजनीतिक दलका धेरै सदस्य नेता, उच्च कर्मचारी, सांसद, मन्त्री आदिको गठवन्धन पनि बलियो हुँदै गयो। यसले त्यस्ता व्यापारी नीति–नियम छलेर नाजायज फाइदा लिने तहमा मात्रै बस्ने भएनन्। बरु उच्च कर्मचारी, दलका नेता, सांसद लगायतसँग अनैतिक र गैरकानुनी साँठगाँठ गरी नीति–नियम नै आफूलाई मात्र मिल्दो किसिमको बनाउने तहमा उक्लिन थाले। अझ पर गएर नीति–नियम बनाउने सांसद नै व्यापारी बन्न थाले। र, आफ्नो व्यापारलाई सघाउने खालको नीति–नियम बनाउन थाले।
यस्तो साँठगाँठ स्वास्थ्य क्षेत्रमा मात्र नभएर सबै क्षेत्रमा हाबी हुन थाल्यो। संविधान, कानुन र अन्ततोगोत्वा देश बनाउने जिम्मा मूलतः सांसद, नेता र सरकारकै हो। तर, किसान, उद्यमी, पुँजीपति, व्यवसायी, श्रमिक, कर्मचारी आदिको लगनबिना यो सम्भव हुँदैन। यो त्यस्तो अवस्थामा मात्रै सम्भव हुन्छ, जब यी विभिन्न क्षेत्र, समूह, व्यक्तिहरूले नीति–नियमभित्र रहेर स्वायत्त रूपले आफ्नो व्यवसाय सञ्चालन गर्न पाउँछन्। दलीय वा अन्य शक्तिका आडमा हनन् भइरहने स्थितिमा उनीहरूको व्यावसायिक स्वायत्तता सबल रहिरहन सक्दैन। स्वायत्तता सबल रहँदा मात्र स्वाभिमान, जाँगर, लगानी, व्यावसायिकता आदि बाँच्छन् र देश विकास हुन्छ।
डा. केसीविरुद्धको प्रपञ्च यो स्वाभिमान, जाँगर, लगानी र व्यावसायिकता मार्ने षडयन्त्र पनि हो। उहाँको सत्याग्रह सफल बन्दा अति–दलीयताबाट जन्मेको र हुर्किसकेको यस्तो प्रपञ्चको परिपाटीलाई स्वास्थ्यबाहेक अन्य क्षेत्रहरूमा पनि कमजोर तुल्याउन बल मिल्नेछ।
डा. गोविन्द केसी सत्याग्रहका क्रममा आज १७ औं दिनको आमरण अनसनमा हुनुहुन्छ। सत्यको पक्षमा निष्काम रूपले ज्यान हत्केलामा राखेर एक्लै ठिंग उभिएका यस्ता जोदाहा नागरिक र निष्ठावान पेसाकर्मीको जीवनमा तलमाथि पर्न गए त्यसलाई कुनै पनि परिभाषाअन्तर्गत स्वाभाविक र स्वैच्छिक अशक्तता वा मृत्यु मान्न सकिने छैन। त्यस्तो अवस्था आइपरे प्रधानमन्त्री र मन्त्री, सांसद, राजनीतिक दल, त्रिभुवन विश्वविद्यालय सबैले जानीजानी र देखादेखी अशक्तता वा मृत्युवरण गर्न दिएको दबाब मान्नुपर्ने हुन्छ।
अझै पनि आस गरौं, यी संस्था र नेताहरूले यस्तो विपत्ति टार्नेछन् र अपराधबाट जोगिनेछन्।
यो पनि हेर्नुहोस्ः