चिनियाँ धावक याङ जियानजियान र धाविका झेङ वेन रोङका लागि नेपाल नौलो देश थियो। उनीहरू यसअघि कहिल्यै नेपाल आएका थिएनन्।
पोखरामा आयोजित अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगितामा भाग लिन उनीहरू पहिलो पटक बिहीबार पोखरा ओर्लिए। सिचुवान एयरलाइन्सको चार्टर्ड विमान चढेर हिमालय पार गरेका उनीहरू दुबै जनाले दौड प्रतियोगितामा आफुलाई अब्बल सावित गरे। प्रतियोगितामा याङ प्रथम भए। झेङ महिलातर्फ प्रथम भइन्।
पोखराको फेवाताल किनार बाराहीघाटबाट सुरू भएको दौड प्रतियोगितामा उनीहरू फेवातालपारीको डाँडाको टुप्पो पुगे। दौडिदै–दौडिदै स्याङ्जाको फेदीखोला पुगे। अनि फर्किएर फेरि फेवाताल किनार आइपुगे।
नेपालको उकाली ओराली र तेर्सो बाटो दौडिन उनीहरू अभ्यस्त थिएनन्। बाटोमा राखिएका साइनबोर्ड र स्वयंसेवकले उनीहरूलाई बाटो देखाए। ठाउँ-ठाउँमा धावकका लागि खानेकुरा, जुस र पानी राखिएको थियो। फेदीखोला पुग्दा स्थानीयले फुल गुच्छाले स्वागत गरेका थिए।
‘बाटोमा दौडिँदा धेरै जनाले ‘कम अन-कम अन’ भनेर यहाँका मान्छेले हौसला दिए। फुलमालाले स्वागत गरे,’ धावक याङले भने, ‘मलाई नेपाल एकदमै राम्रो लाग्यो। अवसर पाएँ भएन आगामी वर्षहरू पनि पोखरामा दौडिन आउनेछु।’
चीनमा मेडिकल लाइनमा काम गर्ने याङको शौख रहेछ दौड। उनी व्यवसायिक रूपमा दौडिदैनन्। चीनमा आयोजित दौड प्रतियोगिताहरूमा भाग भने लिएका रहेछन्।
‘चीनमा हामी तेर्सो बाटोमा दौडिन्थ्यौं। यहाँको उकालो ओरालो दौडिन सक्दिनँ कि जस्तो लागेको थियो,’ उनले सेतोपाटीसँग भने, ‘बाटोमा भोक लाग्छ भनेर खानेकुरा बोकेर दौडिए। बाटोमा खाएँ पनि। नेपालीहरू यति लामो दुरी केही नखाई दौडिए। नेपालीहरू बलिया रहेछन्।’
महिलातर्फ प्रथम भएकी झेङले फेवाताल आसपासका डाँडाकाँडा पुग्दा चीनकै अर्को गाउँ पुगेको अनुभूति सुनाइन्। नेपालीको आतिथ्य सत्कार देखेर आफू प्रभावित भएको उनले बताइन्।
‘यहाँ दौडिँदा गाउँहरू देखे। जुन कुनमिङकै गाउँ गए जस्तो लाग्यो,’ उनले भनिन्, ‘दौडिँदा दौडिँदा थाकेको थिएँ। यहाँको मान्छेले हौसला दिए। धेरै सम्मान दिए।’
झेङ भने चीनको एथलेटिक्स खेलाडी हुन्। उनी १४ वर्षकै उमेरदेखि चीनमा दौडिरहेकी छिन्। बिचमा दुर्घटना भएर केही समय दौडिन छाडेपनि फेरि दौडमा फर्किएको उनले बताइन्।
'म १४ वर्षको उमेरदेखि दौडमा भाग लिइरहेकी छु। अहिले पनि एथलेटिक्समै छु,’ उनले भनिन्, ‘बिचमा केही समय दुर्घटनाले गर्दा दौडिन। अहिले फर्केकी छु।’
पोखरामा दौडिन आएका याङ र झेङ दुवैजना सुरूवातदेखि प्रथम थिएनन्। याङका अनुसार उनी २१ किलोमटिर दौडिँदासम्म सातौं स्थानमा थिए। झेङका अगाडि पनि तीनजना नेपाली महिला दौडिरहेका थिए।
बाटोमा खाजा खाएर दौडिएपछि आफूले अरुलाई उछिन्न सफल भएको याङ बताउँछन्। झेङ भने उकालो दौड सकिएपछि नेपाली महिलालाई उछिन्न सफल भएको बताइन्।
‘यस्तो उकालोमा पनि कसरी दौडिएका होलान्। यहाँका महिलाहरू बलिया रहेछन्,’ झेङले भनिन्, ‘उनीहरू थाकेपछि मात्र म अगाडि भएँ।’
चीन फर्केपछि दुवैले आफन्त र साथीहरूसँग नेपालको प्रकृति र आतिथ्य सत्कारको बखान गर्ने बताएका छन्। पोखरा सुन्दर ठाउँ भएकाले साथीहरुसँग घुम्ने रहर भएको उनीहरू बताउँछन्।
‘नेपाल एकदम राम्रो रहेछ, चीन फर्किएपछि साथीहरूलाई सबै कुरा भन्छु अनि साथीहरुसँग आउँछु,’ याङले भने।
महिलातर्फ प्रथम भएकी झेङले नेपालमा यस्ता कार्यक्रमहरू निरन्तर भइरहे आफू पनि आउन पाउने बताइन्।
‘नेपालमा यस्ता कार्यक्रम धेरै भन्दा धेरै होस्। अनि बल्ल मलाई यहाँ आउने अवसर मिल्छ,’ उनले भनिन्, ‘नेपालमा दौडिन फेरि आउन मन छ। नेपालले बोलाओस्।’
दौडिनकै लागि याङ पहिलो पटक विदेश यात्रा गरेर नेपाल आए पनि झेङ भने यसअघि नै जापान, कोरिया, फ्रान्स लगायत देशमा गएर दौडिएको बताइन्।
हिमालयन टुरिजम फोरमले पोखरामा शनिबार आयोजना गरेको अन्तर्राष्ट्रिय पर्वतीय क्रस–कन्ट्री दौड प्रतियोगिता नेपाली र चिनियाँ गरी झण्डै १३ सय जना सँगसँगै दौडिए। प्रतियोगितामा चिनियाँ खेलाडी मात्र ६४ जना सहभागी भएको आयोजकले बताएको छ।
प्रतियोगितामा व्यक्तिगततर्फ प्रथम भएका चिनियाँ धावक याङले निर्धारित ५० किलोमिटर दुरी ३ घण्टा ४४ मिनेट १२ सेकेण्डमा पार गरेका थिए भने महिलातर्फ प्रथम भएकी झेङले सोही दुरी ४ घण्टा १४ मिनेट ४८ सेकेण्डमा पार गरिन्।
व्यक्तिगततर्फ नेपाली धावक कुलबहादुर बस्नेत दोस्रो भए। उनले निर्धारित दुरी ३ घण्टा ४८ मिनेट २ सेकेण्डमा पार गरे। तेस्रो भएका होमलाल श्रेष्ठले ३ घण्टा ५३ मिनेट ३३ सेकेण्डमा दौड पुरा गरे। प्रतियोगितामा नेपाली खेलाडी गोपाल तामाङ चौथो र तिलक सुनार पाचौं भएका थिए।
व्यक्तिगत दौड महिलातर्फ नेपाली धाविका कल्पना बुढाले ४ घण्टा ५० मिनेटमा निर्धारित दुरी पार गरेर दोस्रो भइन्। महिलातर्फ राममाया बुढा तेस्रो, लाक्पा मिङ्मा शेर्मा चौथा र मिनु बुढा पाचौं भइन्।
व्यक्तिगत दौडमा प्रथम भएका महिला र पुरुष दुबैले समान १ लाख ५२ हजार ८ सय रुपैया पुरस्कार प्राप्त गरेका छन्। उपबिजेता बनेका दुबैले समान १ लाख १४ हजार ६ सय रुपैया र तेस्रो हुनेले ७६ हजार ४ सय रुपैया पुरस्कार पाए।
समुहगत दौडमा भने नेपाली खेलाडीले चिनियाँलाई उछिनेका छन्। नेपाली टिम सुशील शाही, सिर्जना पौडेल र श्रीकश राइको टोलीले निर्धारित ५० किलोमिटर दुरी ४ घण्टा २० मिनेट १४ सेकेण्डमा पार गरेर टिम च्याम्पियन बनेका हुन्। दोस्रो स्थान पनि नेपालका करण रावल, नरेन्द्रसिंह रावत र निर्मला राइको टोलीले ४ घण्टा २२ मिनेट २९ सेकेण्डमा निर्धारित दुरी पार गरेर दोस्रो स्थान हासिल गरे। उनीहरू नेपाली सेनाका खेलाडी हुन्।
समुहगत दौडको तेस्रो स्थान पनि नेपाली खेलाडीले हासिल गरेका छन्। सशस्त्र प्रहरी बलका खेलाडीहरु पुष्पा भण्डारी, लक्ष्मण भण्डारी र निरज भट्टको टोली तेस्रो भए।
समुहगत दौडका च्याम्पियनले ४ लाख ५८ हजार ४ सय रुपैया पुरस्कार पाए। उपविजेता बनेका टिमले ३ लाख ४३ हजार ८ सय रुपैयाँ र तेस्रो स्थान हासिल गरेको टिमले २ लाख २९ हजार २ सय रुपैया प्राप्त गरे।
प्रतियोगितामा समुहगत दौडमा १९ टिम नेपाली र ४ टिम चिनियाँ दौडिएका थिए। व्यक्तिगत दौडमा नेपाली महिला र पुरुष गरी ८७ जना र चिनियाँ महिला र पुरुष गरी २९ जना दौडिए।
प्रतियोगितामा विद्यार्थीका लागि ५ किलोमिटर र प्रतियोागिताका अतिथि लगायत सर्वसाधारणका लागि २ किलोमिटरको रुट तयार गरिएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले बताए।
नेपाल र चीनबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्न र नेपालको पर्यटन प्रवर्द्धन गर्न दौड आयोजना गरिएको हिमालयन टुरिजम फोरमका अध्यक्ष विश्वशंकर पालिखेले बताए।
‘हामीले तेस्रो चरणको क्रस कन्ट्री दौड प्रतियोगिता सम्पन्न गरेका छौं। यसले नेपाल र चीनवीच नागरिक तहमा र सरकार–सरकारवीच सम्बन्ध सुमधुर बनाउन भूमिका खेल्नेछ,’ उनले भने, ‘पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने कुरा त भइहाल्यो।’
प्रतियोगिता नेपाल टुरिजम बोर्ड, नेपालका लागि चिनियाँ राजदुतावास, पोखरा महानगरपालिका लगायतको सहयोग गरेको अध्यक्ष पालिखेले बताए।
प्रतियोगिताको शुभारम्भ नेपालका पर्यटनमन्त्री बन्द्री पाण्डे र नेपालका लागि चिनियाँ राजदुत च्याङ छेङले गरेका थिए।