नेपाल नम्बर वान प्रदीप खड्का र शिभाली गुरुङले होटल मिस्टिक माउन्टेन ग्रान्ड ओपन टेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन्।
प्रदीप पुरुष तथा शिभाली महिलामा च्याम्पियन बनेका हुन्। दुवै प्रतियोगिताको पहिलो च्याम्पियन पनि हुन् । गत वर्ष भएको पहिलो संस्करणमा पुरुष-महिला सिंगल्स स्पर्धा थिएन।
सातदोबाटोस्थित टेनिस कोर्टमा भएको पुरुष फाइनलमा प्रदीपले प्रणव मानन्धरलाई ६–३, २–६ र ६–२ ले पराजित गर्दै करियाको १७ औं सिंगल्स उपाधि चुमे । डबल्समा उनले ९ उपाधि हात पारेका छन् । राजवीर प्रधान र निसान श्रेष्ठ तेश्रो भए ।
नेपाल टेनिस संघको सहयोगमा होटल मिस्टिक माउन्टेनद्वारा आयोजित प्रतियोगिताको महिला फाइनलमा शिभालीले स्वस्तिका विष्टलाई ६–० र ६–२ ले हराउदै यु–१६ सिंगल्सको फाइनलमा स्वस्तिकासंग व्यहोरेका हारको बद्ला लिइन् । सिनियरमा शिभाली समग्र दोश्रोपटक च्याम्पियन बनेकी हुन् । प्रकृति श्रेष्ठ र सुनियर थापा तेश्रो बने । पुरुष÷महिला सिंगल्समा पहिलो हुनेले ४० हजार, दोश्रोले २० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार हात पारे ।
यु–१२ ब्वाइज सिंगल्समा विश्वविशेष डल्लाकोटी पहिलो भए । उनले फाइनलमा वेदान्त चालिसेलाई ७–५ र ६–४ ले हराए । सोही स्पर्धाको गल्र्समा सारा पन्त पहिलो भएकी थिइन् । दोहोरो स्वर्ण जितेकी सारा यु–१४ सिंगल्समा पनि पहिलो भइन् । साराले फाइनलमा एरा खत्रीलाई ६–२ र ६–० को सोझो सेटमा पाखा लगाइन् ।
यु–१४ ब्वाइज सिंगल्समा साङ्गे रोकायाले फाइनलमा वेदान्तलाई सीधा सेटमा ६–२ र ६–२ ले पन्छ्याउदै स्वर्ण चुमे ।
सिंगल्सको यु–८ ब्वाइजमा सर्वज्ञजंग खत्री र गल्र्समा स्वर्णिमा श्रेष्ठ, यु–९ र यु–१० को ब्वाइजमा कायान चालिसे र गल्र्समा निम्ति कुँवर तथा यु–१६ ब्वाइज सिंगल्समा दर्शिल श्रेष्ठले पहिलो स्थान हात पारेका थिए ।
विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, होटल मिस्टिक माउन्टेनका अध्यक्ष बालकृष्ण ध्वजुलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगिताको पुरुषमा १ सय ३६ र महिलामा ८३ खेलाडी सहभागी थिए । जुनियर टेनिस इनिसिएटिभ (जेटीआई) को संयोजनमा भएको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख ४२ हजार रुपैयाँ रहेको छ । प्रतियोगितामा विभिन्न १४ स्पर्धामा प्रतिस्पर्धा भएको प्रतियोगिता संयोजक सूर्यभूषण वज्राचार्यले जनाएका छन् ।