गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कामले गति लिन थालेको छ। तीन वर्षदेखि अलपत्र बनेको रंगशाला सरकारी तवरबाट निर्माण गर्न गत असार २४ गते सम्झौता भएको थियो।
सम्झौताअनुसार हिमालयन कालिन्चोक बिबिआर जेभीले अहिले रंगशालाको प्यारापिट र टावर निर्माणको काम गरिरहेको छ। दैनिक करिब एक सय जनाले काम गरिरहेको प्रोजेक्ट म्यानेजर विजय ढकालले बताए।
धुर्मुस-सुन्तली फाउण्डेसनले २०७५ साल माघ १६ गते काठमाडौंस्थित राष्ट्रिय सभागृहमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहितको उपस्थितिमा चितवनमा ‘अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला’ निर्माण गर्ने घोषणा गरेको थियो। सो दिन भरतपुर–१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा १९ कठ्ठा जमिनमा रंगशाला निर्माण गर्ने सम्झौतापत्रमा भरतपुरकी मेयर रेनु दाहाल र फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले हस्ताक्षर गरेका थिए।
सम्झौताअनुसार २०७६ सालको मंसिरबाट निर्माणको काम सुरू गरियो। सम्झौतामा फाउण्डेसनले करिब ३ अर्ब रूपैयाँ आर्थिक स्रोत जुटाएर शिलान्यासको मितिबाट २ वर्षभित्रमा नेपाली मौलिकता झल्कने एक आकर्षक, कलात्मक, सुविधासम्पन्न अन्तर्राष्ट्रिय स्तरको बहुउद्देश्यीय क्रिकेट रंगशाला निर्माण गर्ने, निर्माण कार्य सकिएपछि फाउण्डेसनले भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने उल्लेख थियो। तर निर्माण सुरू भएको केही महिनामै सुरू भएको कोरोना महामारीले असर गर्यो। फाउण्डेसनले आवश्यक स्रोत जुटाउन सकेन।
आर्थिक संकट हुन थालेपछि फाउण्डेसनले २०७८ सालको साउन २३ गतेबाट रंगशाला निर्माणको काम रोकेको थियो। त्यतिखेर निर्माणको काम करिब ३९ प्रतिशत सकिएको फाउण्डेसनका अध्यक्ष कट्टेलको दाबी छ।
२०७८ पुस २ गते फाउण्डेसनले स्वामित्व हस्तान्तरण गर्न पत्र पठाए पनि त्यसलाई ग्रहण गरेर सरकारी तवरबाट निर्माणको प्रकृया सुरू गर्न दुई वर्षभन्दा बढी समय लागेको हो। कट्टेलले रंगशाला निर्माणमा ५७ करोड ९२ लाख ८५ हजार ७३८ रूपैयाँ खर्च लागेको र १८ करोड ४३ लाख ४२४ रूपैयाँ उधारो तिर्न बाँकी रहेको प्रतिवेदन दिएका थिए। उधारो रकम तिर्ने विषयमा कानुनी जटिलता भएको भन्दै सरकारले स्वामित्व ग्रहण गर्न ढिलाइ गरेको थियो।
गत कात्तिक २३ गतेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय गौरवको योजनामा समेटेर तीन तहका सरकारले निर्माण सम्पन्न गर्ने निर्णय गरेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको बाटो खुलेको हो। सोही निर्णयलाई टेकेर भ्याट र पिएस बाहेक ६८ करोड २ लाख ६४ हजार २०७ रूपैयाँ ८४ पैसामा निर्माण गर्नेगरी हिमालयन कालिन्चोक बिबिआर जेभीसँग सम्झौता भएको थियो। उसले ३० महिनाभित्रमा यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पिच, १५ हजार जना बस्न मिल्ने प्यारापिट, ड्रेन, २ वटा ३/३ तल्लाको भिआइपी टावर लगायतका संरचनाहरू निर्माण गर्नुपर्ने अर्यालले बताए। यहाँ ५ हजार जना अट्ने प्यारापिट धुर्मुस-सुन्तली फाउण्डेसनले नै बनाइसकेको छ।
निर्माण कम्पनीका साइट इन्जिनियर धर्मेन्द्र गुप्ताले तीन तल्लाको भिआइपी टावर र प्यारापिटका लागि जगको काम अहिले चलिरहेको बताए।
उनले पाँच वटा पिच सहितको मैदान निर्माणका लागि सफाइको काम चलिरहेको बताए।
‘यो पहिलो चरणको काम हो। तीस महिनाभित्रै काम सक्नेगरी एक सय बढी कामदार खटाएका छौं,’ गुप्ताले भने, ‘पहिलो चरणको काम सकिएपछि खेल खेल्न मिल्छ।’
उनले पहिले बनेका पिल्लर लगायतका संरचना अब काम लाग्छन् कि लाग्दैनन् भनेर विज्ञहरूको सहयोगमा नन–डिस्ट्रक्टिभ टेष्टिङ (संरचनाभित्रको अवस्था परीक्षण गर्ने प्रविधि) गर्न लागिएको बताए।
‘यसको नतिजा आएपछि पिल्लर उठाउने काम पनि सुरू गर्छौं। टावर, प्यारापिट, मैदानको सँगै अघि बढाउने लक्ष्य राखिएको छ,’ इन्जिनियर गुप्ताले भने।
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले तीन तहका सरकार मिलेर रंगशालाको निर्माण सम्पन्न गर्ने बताइन्।
‘संघीय सरकार र बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरेर महानगरपालिकाले रंगशाला निर्माण गरेको हो। यसका लागि हामी सक्ने जति बजेट विनियोजन गर्छौं,’ मेयर दाहालले भनिन्, ‘धेरै प्रयासपछि रंगशाला निर्माणको काम सुरू भएको छ। हामी जसरी पनि निर्माण गरिछाड्छौं। सम्झौताअनुसार नै रंगशाला निर्माण भइसक्छ।’
यो रंगशाला कुल ३० हजार दर्शक बस्न मिल्ने प्यारापिट सहितको बनाउन लागिएको थियो। पहिलो चरणमा १५ हजार जना बस्न मिल्ने प्यारापिट बनाएपछि दोस्रो चरणका लागि ठेक्का लगाउने तयारी छ। प्यारापिट निर्माणका लागि २८६ वटा पिल्लर उठाइएको छ।