विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक आगामी साउन ८ गतेबाट सुरू हुँदैछ। कोरोना भाइरसका कारण एक वर्ष सरेको ओलम्पिकमा अहिलेसम्म विश्वका २०६ देशले भाग लिने आसा गरिएको छ। यसपटक ३३ खेलमा ११ हजार खेलाडीले भाग लिँदैछन्।
नेपालबाट टोकियो ओलम्पिकमा अहिलेसम्म पाँच खेलाडीले खेल्न पक्का भएको छ। जसमा पौडीबाट दुई जना खेलाडी छन् भने म्याराथन, सुटिङ र जुडोबाट एक-एक खेलाडीले भाग लिँदैछन्।
खेलकुदका बलिया देशका खेलाडीले छनोट चरण पार गरेर ओलम्पिक खेल्न लागे पनि नेपाली खेलाडीले 'वाइल्ड कार्ड' मार्फत सहभागिता जनाउन लागेका हुन्। वाइल्ड कार्ड छनोट नखेली ओलम्पिकमा प्राप्त हुने अवसर हो। तर वाइल्ड कार्ड पाउन वरीयता र निश्चित प्रतियोगिता खेलेको हुनु पर्ने मापदण्ड छन्।
गौरिका सिंह र एलेक्स गाडेगार्ड शाह (पौडी)
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले हरेक देशलाई पौडीमा दुई वटा वाइल्ड कार्ड र एथ्लेटिक्समा एक वटा वाइल्ड कार्ड अनिवार्यरूपमा दिनु पर्छ। जसअन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स गाडेगार्ड शाहले टोकियो ओलम्पिकमा स्थान बनाएका थिए।
गौरिकाले १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक जितेकी थिइन्। उनले सागमा सर्वाधिक स्वर्ण जित्ने तेक्वान्दोका दीपक विष्टको कीर्तिमानसँग बराबरी गरिकी थिइन्। यस्तै गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा सहभागी सबै स्पर्धा अर्थात् १२ स्वर्ण जित्न सफल भएकी थिइन्।
यता सागमा पदकविहीन भएका एलेक्सले नेपाली पौडी टिमको पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गरेका थिए। जसका कारण उनी ओलम्पिकको वाइल्ड कार्डका लागि सिफारिस भएका थिए।
गोपीचन्द्र पार्की (एथ्लेटिक्स)
गोपीचन्द्र पार्की एथ्लेटिक्सबाट ओलम्पिकमा छनोट भएका थिए। पार्कीले १३ सागमा ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने कीर्तिमान बनाएका थिए।
पुरूष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए। भारतका सुनिल दवारलाई करिब १ सेकेन्डले पछाडि पार्दै १३ वर्ष अघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए।
कल्पना परियार (सुटिङ)
सुटिङबाट कल्पना परियारले वाइल्ड कार्ड पाउँदै ओलम्पिक खेल्ने पक्का गरेकी थिइन्। नेपाली सेनाकी सुटिङ खेलाडी कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्। सेनाको कालीबक्स गणकी सिपाही कल्पना त्रिभुवन आर्मी क्लबमा उत्कृष्ट सुटरका रुपमा स्थापित खेलाडी हुन्।
कल्पनाले यसअघि कतारमा भएको सन् २०१९ को एशियन च्याम्पियनशिप र चीनको उहानमा अघिल्लो वर्ष भएको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा पनि प्रतिस्पर्धा गरेकी थिइन्।
भारतमा भएको विश्व कप र इण्डोनेशियाको जाकर्तामा सम्पन्न एशियन खेलकुदमा पनि कल्पनाले प्रतिस्पर्धा गरेकी थिइन्।
गत वर्ष सुटिङ खेल विधामा कल्पना उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। सेनामा भर्ना भएपछि फायरिङमा अब्बल साबित भएपछि कल्पना सुटिङ विधाका लागि त्रिभुवन आर्मी क्लबमा आबद्ध भएकी थिइन्।
यसअघि स्नेहा राज्यलक्ष्मी राणाले लण्डन ओलम्पिकमा उक्त विधामा नेपालका तर्फबाट भाग लिएकी थिइन्।
सोनिया भट्ट (जुडो)
टोकियो ओलम्पिकमा स्थान पक्का गर्ने नेपालकी पाँचौ खेलाडी जुडोकी सोनिया भट्ट हुन्। सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने छिन्।
नेपाल पुलिसमा आवद्ध सोनिया १३औं सागकी कास्य पदक विजेता खेलाडी हुन्। सोनियाले २०१९मा बंगलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेट तर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिईन्।
२०१९ मा मोरोक्कोमा आयोजना भएको बिश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अंक बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाईल्ड कार्ड प्राप्त गर्न सफल भएकी थिइन्।
सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छिन्। यस अघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा ऋषिराम प्रधान र गंगाबहादुर डंगोलले सहभागिता जनाएका थिए। यस्तै बेइजिङ ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए।
१२ खेलाडीको वाइल्ड कार्डका लागि सिफारिस
वाइल्ड कार्डका लगि करातेबाट अनु अधिकारी र नवीन रसाइली, आर्चरीबाट ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोबाट वीरबहादुर महरा, सुटिङबाट सुस्मिता नेपाल र कल्पना परियार, भारोत्तोलनबाट कमला श्रेष्ठ र सन्जु चौधरी, जुडोबाट इन्द्रबहादुर श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङबाट मिनु गुरुङको नाम सिफारिस गरिएको थियो।
तर सुटिङकी कल्पना र जुडोकी सनिया भट्टले मात्र वाइल्ड कार्ड पाए। पौडीकी गौरिका र एलेक्स तथा एथ्लेटिक्सका गोपीचन्द्रले अनिवार्य वाइल्ड कार्डमार्फत ओलम्पिकमा स्थान पक्का गरे।
पाराल्याम्पिकमा पलेशा गोवर्धन
यस्तै नेपाली पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पाराल्याम्पिक गेम्स २०२० मा प्रतिस्पर्धा गर्नेछिन्। पलेशाका लागि पनि वाइल्ड कार्डमार्फत पाराल्याम्पिक खेल्ने बाटो खुलेको थियो। जापानको टोकियोमा आगामी भदौ १७ देखि १९ गतेसम्म आयोजना हुने पाराल्याम्पिकमा गोवर्धनले के. ४४, ५८ केजी मुनिको प्रतिस्पर्धामा पहिलो पटक नेपालको प्रतिनिधित्व गर्नेछिन्।
पलेशा गोबर्धन विश्व तेक्वान्दो महासंघको १३ औ बरियता (र्याङ्किङ्ग) मा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तराष्ट्रिय पाराल्यम्पिक कमिटिबाट नेपाललाई १ ओटा मात्रै कोटा दिने व्यवस्था भएकोले नेपली पारा राष्ट्रिय खेलाडी पलेशा गोबर्धनले के.४४, ५८ केजी मुनि तौल समुहमा वाईल्डकार्ड प्राप्त गर्न सफल भएकी थिइन्।
पलेशाले भियतनामको होचिमिन्ह २०१८ मा आयोजित चौथो एशियन पारा तेक्वान्दो ओपन प्रतियोगितामा पहिलो पकट के.४४, ५८ केजी माथि तेश्रो स्थान, कोरियामा आयोजना भएको तेश्रो एशियन अन्तर्राष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता २०१७ मा के४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्दै ५ औं स्थान, लण्डनमा आयोजित ७ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ मा पनि ५ औं स्थान, पाँचौ एशियन पारा तेक्वान्दो प्रतियोगिता जोर्डन २०१९ मा के.४४, ५८ केजी माथि ५ औं स्थान हात पारेकी थिइन्।