तेक्वान्दो प्रशिक्षक नवीन श्रेष्ठलाई उत्कृष्ट अवार्ड प्रदान गरिएको छ। मंगलबार भएको स्पोर्ट्स अवार्डमा नवीन उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्।
नवीनले अमरकुमार थिङ (उसु), प्रकाश थापामगर (बक्सिङ) र शंकर कार्की (पौडी) लाई पछि पारेर अवार्ड हात पारेका हुन्।
१३औं सागमा तेक्वान्दोबाट नेपालले सर्वाधिक १२ स्वर्ण, ६ रजत र ११ कांस्य पदक जित्दा नवीन मुख्य प्रशिक्षक थिए।
तेक्वान्दोबाट साग खेलेका २९ जना सबै खेलाडीलाई पदक जितेका थिए। यस्तै चाइना ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली टोलीका प्रशिक्षक नवीन थिए।
अवार्डसँगै उनले पल्सर मोटबाइक प्राप्त गर्नेछन्।
यता सागका स्वर्णधारीद्वय आयशा शाक्य (तेक्वान्दो) र सन्तोषी श्रेष्ठ (एथ्लेटिक्स) लाई स्पेशल अवार्ड दिइएको छ।
आयशाले सागमा २ स्वर्ण जितेकी थिइन् भने सन्तोषीले १० हजार मिटर दौडमा भारतकी खेलाडीलाई मिलिसेकेन्डले पछि पारेर स्वर्ण पदक हात पारेकी थिइन्।
अवार्डसँगै दुवैले ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।