आगामी मंसिरमा नेपालमा हुने दक्षिण एसियाली खेलकुद (साग) आयोजना तथा सञ्चालनसम्बन्धी कार्यविधि साढे २ महिनादेखि मन्त्रिपरिषदमा अड्कदा सागको तयारीमा असर गरेको छ।
युवा तथा खेलकुद मन्त्रालयले गत जेठ पहिलो साता मन्त्रिपरिषदमा कार्यविधि स्वीकृतिका लागि प्रस्ताव लगेको थियो। सुरूमा मन्त्रिपरिषद्ले परिमार्जनका लागि मातहतको समितिमा पठाएको थियो। समितिबाट गत बिहीबारको मन्त्रिपरिषद्को बैठकमा कार्यविधि प्रस्तुत भए पनि स्वीकृत हुन सकेन। मन्त्रिपरिषदले थप छलफल गरेर परिमार्जन गर्नु पर्ने भन्दै फेरि समितिमा पठाएको छ।
'कार्यविधि अहिले मन्त्रिपरिषद्को समितिमा छ,' खेलकुद मन्त्रालयका प्रवक्ता गणेशप्रसाद पाण्डेयले सेतोपाटीसँग भने, 'छलफलपछि फेरि मन्त्रिपरिषदमा पेश हुनेछ।'
कार्यविधि नहुँदा सार्क तयारीका लागि चाहिने विभिन्न समिति गठन हुन सकेको छैन। यस्तै कार्यविधि नहुँदा खेलाडीको सुविधाका साथै आर्थिक कारोबार अघि बढाउन पनि समस्या परिरहेको छ।
कार्यविधिले नै सागको काममा प्रभावित नहुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रेमश सिलवालले बताउँदै आएका छन्। यद्यपी उनले कार्यविधि १५ दिन नआए पनि हुने बताएको २० दिन पूरा भसकेकेको छ।
कार्यविधि नआए पछि साग तयारी तथा व्यवस्थापन समितिको सचिवालयमा कामको चाप बढेको छ। सचिवालयले राष्ट्रिय टिमको तयारीदेखि भेन्यूको काम गरिरहेको छ।
'कार्यविधि नहुँदा सागका काम चुस्त गतिमा अघि बढ्न सकेको छैन। आर्थिक कारोबार कार्यविधिमा रहेर गर्नुपर्ने हुन्छ। समितिहरू बन्न सकेका छैनन्, समितिका कामहरू सचिवालयन नै गर्नु परेको छ,' सचिवालयका एक कर्मचारीले भने।
सागका लागि प्रस्तावित बजेट पनि अझै स्वीकृत भएको छैन। प्रस्ताविक बजेट अहिले अर्थ मन्त्रालयमा पुगेको छ। यसअघि सदस्यसचिव सिलवालले लामो अध्ययनपछि मन्त्रालयमा प्रस्तावित बजेटको फाइल पठाएका थिए।
खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वको बजेट निर्माण कार्यदलले गत असार १ गते विभिन्न १७ शीर्षकमा ५ अर्ब २६ करोड ५७ लाख रुपैयाँको बजेटको प्रतिवेदन खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई बुझाएको थियो।
जसमा राष्ट्रिय टिम तयारी समितिका लागि ८८ करोड १२ लाख र खेलस्थल व्यवस्थापन समितिलाई ३ करोड ११ लाख प्रस्तावित गरिएको थियो। समयमै बजेट स्वीकृत नभएपछि खेलकुद परिषदले रकमान्तर गरेर राष्ट्रिय टिमहरूको तयारी गरिरहेको छ।
बजेट र कार्यविधि स्वीकृत भएपछि मात्र सागको तयारी ठोस रूपमा अघि बढ्नेछ। कार्यविधि पारित भएपछि विभिन्न १५ समिति गठन गरिनेछ। सबै समितिलाई छुट्टाछुट्टै बजेट उपलब्ध गराइनेछ।
आगामी मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुने साग खेलमा सार्कका खेलाडीबीच २७ खेलमा प्रतिस्पर्धा हुँदैछ।
दक्षिण एसियाली खेलकुदका पूर्वाधार कामचलाउ
दक्षिण एसियाली खेलकुदका लागि सवा ५ अर्ब बजेट प्रस्ताव