नेपालको प्रतिष्ठाको रुपमा रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग)को तयारी सुस्त गतिमा अघि बढिरहेको छ। आगामी मंसिर १५ देखि २५ सम्म काठमाडौं र पोखरा हुने सागका अधिकांश पूर्वाधार निर्माणाधीन चरणमा छन्। उद्घाटन र समापन समारोह हुने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा कात्तिक १५ सम्म पुनर्निर्माण सकिने राष्ट्रिय खेलकुद परिषद् (राखेप)को भनाइ छ।
राखेप निर्माण शाखाका प्रमुख ईन्जिनियर अरुण उपाध्यायका अनुसार दशरथ रंगशालासँगै अधिकांश खेलस्थल कात्तिक १५ गतेभित्र सक्ने लक्ष्य छ। ‘हामीलाई दिइएको अन्तिम म्याद कात्तिक १५ गते हो। त्यतिबेलासम्म हामी पूर्वाधार निर्माण सक्न कोसिस गरिरहेका छौं,’ उपाध्यायले भने।
उनले गत वर्ष समयमै बजेट नआउदा पूर्वाधार निर्माण ढिलाइ भएको उल्लेख गर्दै यसपटक बजेटले समस्या नपर्ने आशा गरे। ‘गत वर्ष समयमै बजेट नआउदा धेरै काम प्रभावित भए। यसपटक पनि बजेटको समस्या भए साग गेम्स नै प्रभावित हुन सक्छ,’ उनले भने।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना पनि पूर्वाधार निर्माण सागको मुख्य चुनौती भएको बताउँछन्। ‘हामी र ठेकेदार सँगसँगै हिँडेर काम गर्नुपर्ने अवस्थामा छ। त्यसो भए मात्र पूर्वाधार निर्माण सकिन्छ,’ उनले भने।
सागका लागि बन्ने पूर्वाधार अन्तर्राष्ट्रिय स्तरको हुने अपेक्षा नगर्न निर्माण शाखाका प्रमुख उपाध्यायले आग्रह गरे। ‘हामी सकेसम्म राम्रो बनाउने कोसिस गर्छौं, तर चिटिक्क परेको, रंगरोगन गरिएको अनि अन्तर्राष्ट्रिय स्तरको हुन्छ भनेर अपेक्षा नगरिदिनुहोला,’ उनले भने।
(साग) तयारी तथा व्यवस्थापन समितिको सचिवालले प्रतिस्पर्धा हुने २७ खेलको भेन्यूको टुंगो लगाएको छ। तीन खेलको भेन्यू भने अझै पक्का भइसकेको छैन। ‘नेपालमा उपलब्ध राम्रा पूर्वाधारमा खेल खेलाउने गरी हामीले खेलस्थलको टुंगो लगाएका हौं,’ सचिवालयका प्रमुख कमल खनालले सेतोपाटीसँग भने।
सागका पूर्वाधार कस्तो अवस्थामा छन्?
दशरथ रंगशाला (एथ्लेटिक्स र पुरुष फुटबल)
दशरथ रंगशालामा सागका दुई खेल गराउने तय भएको छ। रंगशालाको ट्र्याकमा एथ्लेटिक्सका सबै विधाका प्रतिस्पर्धा हुनेछ। ट्र्याक निर्माण भइसकेको छ। अब यो ट्र्याकलाई अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघले मान्यता दिएपछि यहाँ खेलाउन उपयुक्त हुनेछ। ट्र्याकको अवलोकन गर्न महासंघका प्रतिनिधि यसै साता नेपाल आउने राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तिम्सिनाले बताए।
यस्तै मैदानको घाँस काटेर दुबो रोप्ने काम आगामी साता सुरू गर्ने तिम्सिनाले बताए। चिनियाँ रेलवेले रंगशालामा काम गर्न दिने सहमति जनाएपछि मैदानमा घाँस काट्न लागिएको हो।
तर, दशरथ रंगशालाका लागि भिआइपी प्याराफिटमा छानो हाल्ने काम अझै सुरु भएको छैन। प्याराफिट हाल्नलाई बेस निर्माण गरिएपछि छाना हाल्न चाहिने पिल्लर लिनका लागि उपाध्यक्ष तिम्सिना आगामी साता भारत जानेछन्। पिल्लर हालेपछि मात्र प्याराफिटमा छाना हाल्ने काम सुरू हुनेछ। तिम्सिना भारतबाट आएपछि सदस्यसचिव रमेशकुमार सिलवाल छाना लिन चीन जानेछन्। सिलवाल चीन जानुअघि जापान जाने कार्यक्रम छ।
दशरथ रंगशालाको दुवै प्याराफिटमा कुर्सी हाल्नका लागि बल्ल टेन्डर गरिएको छ। एक सातामा टेन्डरको टुंगो लागेपछि कुर्सी हाल्ने काम सुरु हुनेछ।
त्योबाहेक चिनियाँ कम्पनीले साउन्ड सिस्टम, स्कोरबोर्ड र फ्लाडलाइन बनाउने काम गरिरहेको छ। यस्तै चेन्जिङ रुम, मिटिङ रुम, मिडिया रुम लगायतका काम फिनिसिङ हुन बाँकी छ।
राष्ट्रिय खेलकुद परिषद्का निर्माण शाखाका प्रमुख ईन्जिनियर अरुण उपाध्यायका अनुसार दशरथ रंगशाला कात्तिक १५ भित्र पूरा हुने बताउँछन्। ‘चिनियाँ कम्पनीले कात्तिक १५ भित्र हामीलाई निर्माण सकेर हस्तान्तरण गर्नेछ। उनीहरुले रंगशाला दिएपछि बाँकी काम हामी पूरा गर्नेछौं,’ उनले सेतोपाटीसँग भने।
त्रिवि क्रिकेट मैदान (पुरुष क्रिकेट)
त्रिवि क्रिकेट मैदानमा क्रिकेट (पुरुष) को प्रतिस्पर्धा हुनेछ। पछिल्लो समय कीर्तिपुर मैदान बेवारिसे अवस्थामा छ। मैदानको घाँस काटिएको छैन भने पीच बिग्रिएको अवस्था छ। मैदानमा सामान्य मर्मतपछि खेल हुने निर्माण शाखाका प्रमुख उपाध्यायले बताए।
मुलपानी मैदान (महिला क्रिकेट)
मुलपानी मैदानमा अहिलेकै अवस्थामा महिला क्रिकेट हुन असम्भव छ। पिचको अवस्था दयानीय छ भने मैदानमा खाल्डाखुल्डी छन्। यसअघि मुलपानी गत जेठमा प्राधनमन्त्री कप क्रिकेट प्रतियोगिता म्याट राखेर खेलाइएको थियो।
मुलपानी मैदान मर्मतका लागि कुनै प्रस्ताव नआएको निर्माण शाखाले जनाएको छ। मुलपानीमा क्रिकेट हुन नसकेको अवस्थामा पोखरामा खेल सार्ने सार्क सचिवालयका प्रमुख कमल खनालले बताए। ‘मुलपानीमा हुन खेल हुन नसकेको अवस्थामा पोखरामा खेल गर्ने हामीसँग विकल्प छ,’ उनले भने।
त्रिपुरेश्वर कबर्ड हल (ब्याडमिन्टन)
त्रिपुरेश्रस्थित कबर्ड हल अहिले पुनर्निर्माण भइरहेको छ। अहिले साउन्ड सिस्टम राख्ने, सिलिङ मर्मत गर्ने लगायतका काम भइरहेको कबर्ड हल कात्तिक १५ गतेभित्र पूर्णरुपमा तयार हुने निर्माण शाखाले जनाएको छ।
सातदोबाटो कराँते भवन (कराते र बक्सिङ)
सातदोबाटोस्थित कराँते भवनमा कराँते र बक्सिङका खेल हुनेछ। यो हल पूर्णरुपमा तयार भएको निर्माण शाखाका प्रमुख उपाध्यायले बताए।
सातदोबाटो तेक्वान्दो भवन (तेक्वान्दो र कुस्ती)
दुई महिनाअघि निर्माण सकिएको तेक्वान्दो भवन तयारी अवस्थामा छ। यहाँ तेक्वान्दो र कुस्तीका खेल हुनेछन्।
गोकर्ण गल्फ क्लब (गल्फ)
गोकर्ण गल्फ क्लबमा अहिले पनि अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा भइरहेकाले यहाँ खेल गराउन कुनै समस्या छैन।
आर्मी कबर्ड हल, लगनखेल (जुडो, उसु)
लगनखेलस्थित आर्मीको कबर्ड हल पनि दुई खेल सञ्चालन तयारी अवस्थामा छ।
टेनिस कोर्ट सातदोबाटो (टेनिस)
टेनिस कोर्टको निर्माण गत साता सकिएको थियो। तर यहाँ चेन्जिङ रुम र प्याराफिट व्यवस्थित नभएको गुनासो नेपाल टेनिस संघले गरेको छ। तर कोर्टमा थप काम गर्न पर्ने विषयमा कुनै जानकारी नआएको निर्माण शाखाले जनाएको छ।
टेबल टेनिस कबर्ड हल, लैनचौर (टेबल टेनिस)
लैनचौरस्थित टेबल टेनिस कबर्ड हलको अहिले मर्मत गर्ने काम भइरहेको छ। झ्याल, ढोका बनाउने काम भइरहेको निर्माण शाखाको भनाइ छ। हल कात्तिक १५ सम्म निर्माण सकिने बताइएको छ।
जगडोल सहिद पार्क (साइक्लिङ)
साइक्लिङको प्रतिस्पर्धा जगडोलस्थित सहिद पार्कमा हुनेछ। जहाँ साइक्लिङ गर्न चाहिने माटोका थुप्रा हाल्न साइक्लिङ संघले अनुरोध गरेको छ। साथै चेन्जिङ रुम लगायत खेलाडीका लागि चाहिने पूर्वाधार कात्तिक १५ सम्म पूरा गर्ने राखेपको योजना छ।
सातदोबाटो पौडी पोखरी (पौडी)
सागका लागि चुनौतीको रुपमा रहेको पूर्वाधारमा सातदोबाटोस्थित पौडी पोखरी हो। ५० मिटरको पौडी पोखरी निर्माण सकिए पनि प्याराफिटको छाना र हिटिङ सिस्टमको काम सकिएको छैन। प्याराफिट कात्तिक १५ भित्र सक्ने राखेपको भनाइ छ।
हिटिङ सिस्टम ल्याउनका लागि अहिलेसम्म राखेपले एलसी खोलेको छैन। एलसी नखोल्दा हिटिङ सिस्टम खरिद प्रक्रियामा ढिलाइ भइरहेको छ। ‘हामी अहिले एलसी खोल्ने प्रक्रियामा छौं। त्यसपछि मात्र खरिद प्रक्रियामा जान्छौ। अबको २ महिनामा सम्पन्न गर्न चुनौती देखिएको छ,’ निर्माण प्रमुख उपाध्यायले भने।
सुटिङ रेन्ज, सातदोबाटो (सुटिङ)
अन्तर्राष्ट्रिय खेलकुद परिषर सातदोबाटोमा रहेको सुटिङ रेन्जको साग खेलका लागि तयारी अवस्थामा छ।
स्क्वास हल, सातदोबाटो (स्वाक्स)
अन्तर्राष्ट्रिय खेलकुद परिषर, सातदोबाटोस्थित स्क्वास हलको निर्माण अझै सकिएको छैन। ९५ प्रतिशत काम सकिए पनि सेन्ट्रल कोटको सिसा अझै आइपुगेको छैन।
सिसा मगाइएको जर्मन कम्पनीमा समस्या आएपछि सरकारले उक्त कम्पनीमाथि हस्तक्षेप गरेको थियो। अहिले जर्मन सरकारको स्वामित्वमा रहेको सो कम्पनीमार्फत सिसा आउने प्रक्रियामा रहेको छ। स्क्वास हल असोज मसान्तसम्म सकिने निर्माण शाखाको भनाइ छ।
आर्चरी ट्रेनिङ सेन्टर, पोखरा (आर्चरी)
पोखराको आर्चरी ट्रेनिङ सेन्टर अहिले मर्मत गरिरहेको अवस्थामा छ। मैदानमा घाँस रोप्ने तयारी भइरहेको राखेपले जनाएको छ।
साराङकोट, कास्की (प्याराग्लाइडिङ)
साराङकोटबाट दैनिक सयौं प्याराग्लाइडिङका उडान हुने भए पनि अन्तर्राष्ट्रिय खेलका लागि चाहिने चेन्जिङ रुम छैन। यस्तै ‘टेक अफ’ हुने स्थानको विषयमा अन्योलमा छ। यद्यपि, राखेपले प्याराग्लइडिङका लागि कुनै समस्या नभएको जनाएको छ।
लेकसाइड, पोखरा (ट्रायथलन)
पोखरामा ट्रायथलनको एसियन स्तरको खेल भइसकेकाले सागका लागि सहज हुनेछ।
सभागृह पोखरा (भारोत्तोलन)
पोखरा सभागृहमा भारोत्तोलनका लागि चाहिने पूर्वाधार निर्माण गर्न राखेप निर्माण शाखालाई अहिलेसम्म कुनै जानकारी छैन। यद्यपि, स्थानीय सरकार र संघको समन्वयमा चाहिने पूर्वाधान निर्माण हुने शाखाका प्रमुख उपाध्यायले विश्वास व्यक्त गरे।
पोखरा कबर्डहल (भलिबल र ह्यान्डबल )
कबर्डहलको निर्माण सकिए पनि भुइँमा म्याट बिछ्याइएको छैन। दुवै खेल खेलाउन मिल्ने म्याट बिछ्याएर खेल गराउन राखेपले तयारी गरिरहेको छ।
पोखरा रंगशाला (महिला फुटबल)
पोखरा रंगशाला अहिले लथालिंग अवस्थामा छ। यसअघि मैदानमा कृत्रिम घाँस राख्ने सम्झौता भए पनि अहिले प्राकृतिक घाँस रोप्न सदस्यसचिव सिलवालले निर्देशन दिइसकेका छन्।
प्याराफिटका लागि आधार बनाउने काम भइरहेको छ। रंगशालामा दुई महिनाभित्र प्याराफिट निर्माण सक्ने सम्झौता छ। ‘कात्तिक १५ भित्र निर्माण सक्ने सम्झौता छ। त्यतिबेलासम्म ठेकेदार कम्पनी काम सक्ने हामीलाई विश्वास छ,’ उपाध्यायले भने।
प्रस्तावित पूर्वाधार
मातातिर्थस्थित एपिएफको हल (फेन्सिङ)
फेन्सिङका लागि मातातिर्थस्थित एपिएफ हलमा गराउने राखेपले प्रस्ताव गरेको छ। तर त्यो हल साघुँरो हुने फेन्सिङ संघले जनाएको छ। त्यहाँ खेल हुन नसक्ने स्थितिमा अर्को विकल्प सोच्ने साग सचिवालयका प्रमुख कमल खनालले बताए।
भृकुटीमण्डप (कबड्डी र खोखो)
कबड्डी र खोखो भृकुटीमण्डप खेलाउने प्रस्ताव गरिएको छ। यो प्रस्ताव स्वीकृत भएको अवस्थामा त्यहाँ चेन्जिङ रुम, शौचालय लगायतका पूर्वाधार बनाउनु पर्नेछ।