फिफा विश्वकप कतार २०२२ मा राउन्ड अफ १६ को खेलमा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलले हराउँदै अन्तिम आठमा स्थान बनायो।
अन्तिम आठमा नेदरल्यान्ड्ससँग भिड्नुअघि नै कतिपय फ्यानले सेमिफाइनलमा ब्राजिल र अर्जेन्टिनाबीच सेमिफाइनलमा हुने सम्भावित प्रतिस्पर्धा बारे कुरा गरिरहेका छन्।
विश्व फुटबलका पुराना चिरपरिचित प्रतिद्वन्द्वीबीच ३२ वर्षअघि भएको खेलको रिम्याच अहिले २०२२ मा हुन सके फ्यानहरू पक्कै पनि रोमाञ्चित हुनेछन्।
त्यसो हुनको लागि, अर्जेन्टिनाले क्वार्टरफाइनलमा नेदरल्यान्ड्सलाई हराउनुपर्छ। ब्राजिलले अन्तिम १६ मा पहिला दक्षिण कोरियालाई हराएपछि क्वार्टरफाइनलमा पनि जित निकाल्न पर्छ। अन्तिम १६ मा दक्षिण कोरियालाई हराए ब्राजिलले क्वार्टरफाइनलमा जापान वा क्रोएसिया मध्ये एक टिमसँग भिड्नेछ।
यी सबै खेलमा जित निकाले मात्र सेमिफाइनलमा दक्षिण अमेरिकाका महारथी राष्ट्रबीच फिफा विश्वकप २०२२ को सेमिफाइनलमा भेट हुनेछ।
ब्राजिल र अर्जेन्टिना सन् १९९० यता विश्वकपमा भिडेका छैनन्। विश्वकपबाहेक क्षेत्रीय प्रतिस्पर्धामा भने दुई टिमबीच पछिल्ला वर्षमा थुप्रै खेल भएका छन्।
दुवै टिमले क्वार्टरफाइनल पार गर्न सके भने विश्वकपको इतिहासको सबैभन्दा ठूलो तथा ब्राजिल-अर्जेन्टिनाबीचको सबैभन्दा ठूलो खेल हुन सक्छ।
३२ वर्षपछि ‘रिम्याच’ होला?
विश्वकपको इतिहासमा ब्राजिल र अर्जेन्टिना चार पटक भिडेका छन्। ब्राजिलले दुई खेल जित्दा एक खेल अर्जेन्टिनाले जितेको छ। एक खेल बराबरीमा सकिएको थियो।
दुई देशबीच सन् १९७४ देखि १९९० को बीचमा पाँचवटा विश्वकपको अवधिमा चार खेलहरू भएका थिए।
सन् १९७४ र १९७८ मा दुई टिमबीच समूहमा प्रतिस्पर्धा भएको थियो। पहिलो खेलमा ब्राजिलले अर्जेन्टिनालाई हराएको थियो, तर समूहमा दोस्रो स्थानमा रहदा नेदरल्याण्ड्स पहिलो भएको थियो। चार वर्षपछि दुई टिमले गोलरहित बराबरी खेलेका थिए।
१९८२ मा ब्राजिल र अर्जेन्टिना समूह ‘सी’ को खेलमा भेटेका थिए। जसमा ब्राजिलले ३-१ गोलको जित निकालेको थियो। तर इटालीसँगको हारले ब्राजिल प्रतियोगिताबाट बाहिरियो।
पछिल्लो प्रतिस्पर्धा १९९० मा भएको थियो। राउन्ड अफ १६ मा ब्राजिलले उत्कृष्ट खेले पनि गोल गर्ने मौका गुमायो। म्याराडोनाको साथ पाएको अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले हराउँदै अन्तिम आठमा स्थान बनायो। फाइनलसम्म स्थान बनाएको अर्जेन्टिना उपाधि भिडन्तमा भने जर्मनीसँग हार्यो।
विश्वकपमा अर्जेन्टिना-ब्राजिलबीच प्रतिस्पर्धा नभएको ३२ वर्ष भइसक्यो। त्यो पर्खाइ कतारमा केही दिनमा अन्त्य हुन सक्छ।
विश्वकपको ३२ वर्षसम्म नभिडे पनि ब्राजिल र अर्जेन्टिनाबीच अघिल्लो वर्ष मात्र कोपा अमेरिकाको फाइनलमा प्रतिस्पर्धा भएको थियो।
अर्जेन्टिनाले १९९३ पछि आधिकारिक उपाधि जित्न सकेको थिएन। गत वर्ष अर्जेन्टिनाको २८ वर्षको उपाधिको खडेरी अन्त्य सन् २०२१ मा भयो। माराकानामा ब्राजिल विरुद्ध उत्कृष्ट शैलीमा अर्जेन्टिना र कप्तान लिओनल मेसीको उपाधि धोको पूरा भयो।
एन्जल डि मारियाको गोलले अर्जेन्टिनालाई सम्झिरहने जित र गौरव दिलायो। माराकाना भित्रको विजय प्रशंसकहरूद्वारा संगीत, झण्डा र सबै प्रकारका उत्सवहरूको विषय बन्यो।
कतारमा जारी प्रतियोगिताअघि मेसी र नेइमारले यो विश्वकप आफ्ना लागि अन्तिम हुनसक्ने केही पटक भनेका थिए। फ्रेञ्च क्लब पेरिस सेन्ट-जर्मेन जोडीमा आ-आफ्ना देशको विश्वास र भरोसा छ।
अर्जेन्टिनाले विश्वकप नजितेको ३६ वर्ष भइसक्यो। दुई पटकको च्याम्पियन अर्जेन्टिना पछिल्लो पटक १९८६ मा विजेता बनेको थियो। पाँच पटकको च्याम्पियन ब्राजिललाई पनि पछिल्ला संस्करणमा फाइनलमा स्थान बनाउन कठिन भइसकेको छ। ब्राजिलले पछिल्लो पटक २० वर्ष अघि सन् २००२ मा उपाधि जितेको थियो।