फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘ए’ मा नेदरल्यान्ड्स समूह विजेता तथा सेनेगल उपविजेता बन्दै अन्तिम १६ मा पुगेका छन्।
मंगलबार राति भएको समूहको खेलमा दुवै टिम आ-आफ्ना खेल जित्दै अन्तिम १६ मा पुगेका हुन्।
जितसँगै नेदरल्यान्ड्सले समूहमा ७ अंक जोड्दा सेनेगलले ६ अंक जोड्यो। इक्वेइडर ४ अंक जोडे पनि बाहिरियो भने आयोजक कतार तीन वटै खेल हार्दै बाहिरिन बाध्य भयो।
मंगलबार नेदरल्यान्ड्सले कतारलाई २-० गोल र सेनेगलले इक्वेइडरलाई २-१ ले हराए।
नेदरल्यान्ड्सका लागि कोडी गाप्कोले २६ मिनेट र डे जोङले ४९ मिनेटमा गोल गरेका थिए।
यता सेनेगलले भने ४४ मिनेटमा सारको पेनाल्टी गोलबाट अग्रता लिएको थियो।
तर ६७ मिनेटमा इक्वेइडरका काइसेडले बराबरी गोल फर्काए। तीन मिनेटपछि सेनेगलका लागि काउलबालीले गोल गर्दै सेनेगललाई दोस्रो पटक अग्रता दिलाएका थिए।